
अमेरिका फर्कन चाहने नेपालमा रहेका अमेरिकी नागरिकलाई देशका विभिन्न क्षेत्रबाट काठमाडौं ल्याउनमा अमेरिकी दूतावास काठमाडौंले सकृयता बढाएको छ । धेरै अमेरिकी नागरिकहरु काठमाडौंबाहिर रहेको र नेपालमा लकडाउनको अवस्था रहेकाले उनीहरुलाई काठमाडौं ल्याउनमा चुनौती रहेको दूतावासले जनाएको छ ।
काठमाडौं ल्याउनका लागि नेपाल सरकारसँग प्रयाप्तमात्रामा समन्वय र स्वीकृतिको जरुरी रहेको तथा पोखरा, लुक्ला, जोमसोम लगायत झापा, मोरङ, सुनसरी, बर्दिया लगायतका क्षेत्रबाट काठमाडौं ल्याउनका लागि यातायातका विकल्प खोजिरहेको दूतावासले जनाएको छ । अहिलेसम्म लुक्लाबाट दुईवटा उडानमा अमेरिकी नागरिकलाई काठमाडौं ल्याउनका लागि अनुमति पाएको दूतावासले जनाएको छ ।
पोखराबाट फर्कन चाहेको अमेरिकी नागरिकको समुहलाई काठमाडौं ल्याउनका लागि अनुमति पाएको र जोमसोम तथा अन्य क्षेत्रबाट काठमाडौं ल्याउनका लागि आफूहरुले काम गरिरहेको दूतावासले जनाएको छ । ट्रेकिङमा रहेका अमेरिकी नागरिकहरुबारे पनि आफूहरु सचेत रहेको र उनीहरुलाई काठमाडौं ल्याउनका लागि उचित विकल्पको तयारीमा रहेको दूतावासको भनाई छ ।
दूतावासले अमेरिका फर्कन चाहेका नेपालमा रहेका अमेरिकी नागरिकलाई फर्म भर्न समेत आब्हान गरेको छ । नेपालबाट अहिले फर्कन नचाहेकाहरुले फर्म भर्न आवश्यक नरहेको दूतावासले जनाएको छ । फर्कन चाहेकाहरुका सन्दर्भमा नेपालबाट अमेरिकाको उडान सन्दर्भमा वासिंटन डिसीसँग पनि समन्वय गरिरहेको दूतावासको भनाई छ ।