नेपालमा तत्काल शान्ति सम्भव छैन, बन्दुक उठ्छ : मोहन वैद्य

काठमाडौँ  :  नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेपालमा शान्तिको सम्भावना नरहेको बताएका छन् ।  आइतबार नेकपा(क्रान्तिकारी माओवादी) सम्बद्ध मोर्चाहरुले काठमाडौँको शान्तिबाटिकामा आयोजना गरेको विरोध सभामा बोल्दै वैद्यले नेपालमा क्रान्ति पुरा नभएकाले शान्तिको सम्भावना नरहेको बताएका हुन् । क्रान्तिपछि मात्रै शान्ति आउने भन्दै उनल नेपालमा बन्दुक उठ्ने दाबीसमेत गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अघि सबै पार्टीहरु संसदवादी मुलधारमा आएको अभिव्यक्ति दिएको प्रति टिप्पणी गर्दै महासचिव वैद्यले क्रान्तिकारीहरु संसदवादी मुलधारमा नभएको र आफुहरुले वर्तमान व्यवस्था नमान्ने पनि बताए ।

‘प्रधानमन्त्रीजीले दुई वटा कुरा भन्नुभयो । एउटा कुरा अब सबै संसदवादी मुलधारमा आए भन्नु भो । यो झुट हो । सरासर झुट हो । संसदवादी मुलधारमा छैनन् । हामी क्रान्तिकारीहरु छैनौँ । यो व्यवस्थालाई मान्दैनौँ,’ उनले भने, ‘त्यसकारण संसदीय मुलधारमा जाने कुरा आउँदैन । क्रान्ति गर्नुपर्छ । दोस्रो कुरा, अब शान्तिको नयाँ युग सुरु भो भन्नुभयो । यो पनि झुट हो । विप्लवजीहरुले सम्झौता गर्ने बित्तिकै शान्तिको युग सुरु भएको छैन ।’

उनले सत्तामा रहेको कम्युनिष्ट पार्टीले जनतालाई शोषण गरिरहेको आरोप पनि लगाए । ‘सत्ताधारी वर्गले जनतालाई शोषण, उत्पीडन, दमन गर्ने यी कम्युनिष्ट नामधारीहरु शहिदको रगतको आहालमा डुबेर सत्तामा जाने, अनि शान्ति कसरी हुन्छ ?’ सरकारलाई प्रश्न गर्दै उनले भने, ‘शान्तिको संविधान छैन । शान्तिको युग क्रान्ति गरेपछि आउँछ । बन्दुक उठाएपछि के हुन्छ ? बन्दुक उठ्छ ।’  उनले मजदुर, किसान, महिला, दलित, आदिबासी जनजाति, मधेसी, लगायतको समस्या समाधान नभएको भन्दै समस्या समाधानको निम्ति क्रान्तिको तयारी गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *