नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर: नयाँ कोरोना

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहरको जोखिम बढेको छ। विद्यार्थीमा नयाँ कोरोना अर्थात् एस जिन नेगेटिभ देखिन थालेको छ। यो भाइरस यूके भेरियन्टसँग मिल्दोजुल्दो रहेको विज्ञ बताउँछन्।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले नेपालमा संक्रमितहरूलाई एस जिन नेगेटिभ पुष्टि हुने क्रम बढेको बताए। ‘एस जिन नेगेटिभ भेरियन्ट बढ्दो मात्रामा देखिएको छ। कम उमेरका व्यक्तिमा बढी देखिएकाले एकदमै सतर्क हुनुपर्ने भएको छ’, निर्देशक डा. पौडेलले भने।

कम उमेरका व्यक्तिमा एस जिन नेगेटिभ पुष्टि हुँदा यूके भेरियन्टको आशंका गरिएको छ। पछिल्लो २४ घण्टामा बिहीबार ३ सय ३२ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बुधबार २ सय ९८ जनामा कोभिड पुष्टि भएको थियो। संक्रमितको संख्या बढ्नुमा चाँडै सर्ने यूके भेरियन्ट भनिने सार्स–कोभ–२ को नयाँ प्रकार भएको आशंका गरिएको छ।

कोरोना भाइरसको प्रकार पत्ता लगाउन जिन सिक्वेन्सिङ गर्ने कार्य द्रुत ढंगले भइरहेको छ। काठमाडौं, पोखरामा पुष्टि भएका कोरोना संक्रमितको नमुना परीक्षण गर्दा एस जिन नेगेटिभ पुष्टि हुने क्रम बढ्दो छ। ‘जिन सिक्वेसिङ गर्दा प्रमाणित भएको भए यूके भेरियन्ट हो भनेर भन्न सकिन्थ्यो। त्यसैले सम्भावित यूके भेरियन्ट भन्न सकिन्छ’, डा. पौडेलले भने।

कतिपय जर्नलमा एस जिन नेगेटिभलाई यूके भेरियन्टका रुपमा लिने गरेको पाइन्छ। यो कलिलो उमेरका व्यक्तिमा बढी देखिन थालेको छ। ‘स्कुल जाने उमेरका १२ देखि १६ वर्ष उमेर समूहका व्यक्तिलाई पनि देखियो’, उनले भने, ‘स्कुले विद्यार्थीमा देखिएकोले जोखिम बढेको प्रस्ट हुन्छ। बेलैमा सावधानी र सतर्कता अपनाउनुपर्ने देखिएको छ।’

सरकारले हालै विश्व स्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशालामा जीन सिक्वेन्सिङको लागि १५ नमुना पठाएको छ। त्यस्तै नेपालका विभिन्न प्रयोगशालामा पनि जिन सिक्वेन्सिङको परीक्षण गर्ने तयारी भइरहेको छ। नेपालबाट ५ जनाको नमुना हङकङ पठाएकोमा पुस अन्तिम साता तीन जनाको एस जीन नेगेटिभ आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *