नेपाल सरकारले नेपालको आगमन विन्दुमा विदेशीहरुलाई दिइदै आएको अन अराइभल भिसा मार्च १४ को राती १२ बजेबाट लागु हुनेगरी अप्रिल ३० सम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ ।
यसअगाडि नै भिसा लिइसकेका विदेशीहरुले नेपालको आगमन विन्दुमा आइपुग्ने मितिभन्दा बढीमा ७ दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्र आगमन विन्दुको अध्यागमन कार्यालयमा पेश गर्ने व्यवस्था लागु गरिने भएकोछ ।
अति जरुरी कामबाट नेवालमा यात्रा गर्नुपर्ने अवस्थाका विदेशीले सम्बन्धित मुलुक वा नजिकमा रहेका नेपाली नियोगहरुबाट नेपाल आइपुग्ने मितिभन्दा बढीमा ७ दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्र सहित भिसा आवेदन दिनुपर्ने भएको छ ।
गैर आवासीय नेपालीहरुलाई गैर आवासीय नेपाली परिचयपत्रको आधारमा आगमन विन्दुमा दिइदै आएको अन अराइभल भिसा पनि १४ मार्चको राती १२ बजेबाट लागु हुनेगरी ३० अप्रिलसम्मका लागि स्थगित गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।
अत्यावश्यक कारणले नेपाल आउनुपर्ने अवस्थामा नेपाल आइपुग्ने मितिभन्दा बढीमा ७ दिनभित्रबो स्वास्थ्यजाँच प्रमाणपत्र संलग्न गरी सम्बन्धित मुलुक वा नजिकमा रहेका नेपाली नियोगहरुबाट भिसा लिनुपर्ने व्यवस्था लागु गर्ने सरकारले निर्णय गरेको छ ।
मार्च १४ पछि नेपाल प्रवेश गर्ने विदेशीहरुले सेल्फ क्वारेन्टाइनमा र नेपाली नागरिक तथा गैरआवासीय नेपालीले होम क्वारेन्टाइनमा १४ दिनसम्म बस्नुपर्ने व्यवस्था लागु गर्ने सरकारले निर्णय गरेको छ । कुटनीतिक र अफिसियल भिसा प्राप्त गरेका विदेशीहरु विदेशयात्राबाट नेपाल फर्केपछि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।
त्यस्तै विदेशमा रहेका नेपाली नागरिकहरुलाई अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता र सावधानी अपनाउन अनुरोध गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।