नेपालका लागि नयाँ अमेरिकी राजदूतमा डिन टम्पसनको नियुक्ती अमेरिकी सिनेटबाट ध्वनीमतले अनुमोदन भएको छ । बिहिबारको सिनेटको बैठकले टम्पसनको नियुक्ती अनुमोदान गरेपछि अब उनी राजदूतका रुपमा नेपाल आउने पक्का भएको हो ।
जुलाईको तेश्रो साता नियुक्ती प्रस्ताव अमेरिकी सिनेटको वैदेशिक सम्बन्ध समितिबाट पारित भएको भएपछि टम्पसनको नियुक्ती प्रस्ताव सिनेटको कार्यकारी क्यालेण्डरमा राखिएको थियो । सिनेटको वैदेशिक सम्बन्ध समितिले नियुक्तीका पक्षमा रिपोर्ट गर्न आदेश दिएकोपछि सिनेटर बब मेनेन्डेजले यसबारे रिपोर्ट गरेका थिए ।
टम्पसनको नियुक्ती सिनेटको क्यालेण्डर नम्बर १०६१ मा राखिएको थियो । टम्पसनको नियुक्तीको प्रस्ताव ह्वाइट हाउसले अप्रिलको पहिलो साता सिनेटमा पठाएकोमा गतमहिना सिनेटको वैदेशिक सम्बन्ध समितिमा नियुक्तीबारे सुनुवाई भएको थियो ।
मार्च २९ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालका लागि नयाँ राजदूतमा डिन टम्पसनलाई नियुक्तीको प्रस्ताव गरेका थिए । सिनेटको समितिमा भएको सुनुवाईपछि नियुक्तीको प्रस्ताव पारित गर्ने प्रावधान रहेको छ । टम्पसनले अब छिट्टै नेपालका लागि अमेरिकी राजदूतका रुपमा कार्यभार सुरु गर्ने अपेक्षा गरिएको छ ।
२५ वर्ष अमेरिकी परराष्ट्र सेवामा बिताएका टम्पसनले यस अगाडि अमेरिकी विदेश मन्त्रालयमा दक्षिण तथा मध्य एसियाली मामिलामा प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरीका रूपमा काम गरेका छन् । सन् २०२० देखि सन् २०२१ सम्म उनले यो क्षेत्रका लागि कार्यवाहक असिस्टेन्ट सेक्रेटरीका रुमा काम गरेका थिए ।
त्यसअघि टम्पसन मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावासमा नियोग उपप्रमुख रहेका थिए । रोमानियास्थित अमेरिकी दूतावासमा पनि काम गरेका उनले कलकत्तामा अमेरिकी महावाणिज्यदूतका रूपमा काम गरेका थिए। उनले अमेरिकी विदेश मन्त्रालयको सचिवालय, अपरेसन सेन्टरलगायत विभिन्न ठाउँमा काम गरेका छन्।
मेरिल्यान्ड स्कुल अफ पब्लिक अफेयर्सबाट सार्वजनिक व्यवस्थापनमा एमए गरेका थम्पसनले नेसनल वार कलेजबाट राष्ट्रिय सुरक्षा रणनीतिमा एमएस गरेका छन्। उनले स्प्रींगफिल्ड ओहायोको विटेनबर्ग युनिभर्सिटीबाट बीए गरेका थिए ।