नेकपा मिलाउन चिनियाँ राजदूतको सक्रियता

 

नेपालको पछिल्लो राजनीतिक अवस्थावारे चिनियाँ चासो बढेको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद चुलिएका बेला छिमेक राष्ट्र चीनकी नेपालस्थित राजदूतको सक्रियता बढेको हो ।
नेपालको आन्तरिक राजनीतिक मामलामा चीनको हस्तक्षेप बढेको चर्चा भइरहेका बेला चिनियाँ राजदूत होउ यान्छीले नेकपा नेता झलनाथ खनालसँग भेटवार्ता गर्नुभएको छ । पार्टीभित्रको सत्ता संघर्षमा पद त्यागको चरम दबाब खेपिरहनुभएका प्रधानमन्त्री केपी ओलीको विपक्षमा रहेका नेताहरुसँग राजदूत होउले लगातार भेट गर्नुभएको हो ।

यसअघि हिजो उहाँले प्रधानमन्त्री ओलीकै विपक्षमा रहेका नेकपाका अर्का नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालसँग पनि भेटवार्ता गर्नुभएको थियो । खनालसँग भेटवार्ता गर्न राजदूत होउ बिहान खनाल निवास डल्लु पुग्नुभएको थियो । खनाल र राजदूत होउबीच करिब ४५ मिनेट कुराकानी भएको जनाइएको छ । दुबै पक्षले भेटमा भएको विषयवस्तुबारे सार्वजनिक नगरे पनि राजदूत होउले नेकपाभित्रको शक्ति संघर्षमा चासो राखेको दाबी गरिएको छ । नेकपाभित्र विवाद बढेको बेला चिनियाँ राजदूत होउको बढ्दो सक्रियतालाई विश्लेषकहरुले नेपालको आन्तरिक राजनीतिमा चीनको दबदबाका रुपमा अथ्र्याएका छन् ।

यसअघि दल विभाजनका लागि सजिलो हुने अध्यादेश ल्याएका समयमा पनि नेकपाका बाँकी नेताहरू प्रधानमन्त्री ओलीका विपक्षमा उभिँदा चिनियाँ राजदूतको हस्तक्षेपकै कारण ओली पद त्याग्नुपर्ने अवस्थाबाट जोगिनुभएको चर्चा छ । अहिले पनि आफूलाई भारतले हटाउने खेल खेलेको र त्यसमा पार्टीभित्रैका नेताहरु संलग्न रहेको आरोप लगाएपछि ओलीविरुद्ध एकजुट भएका नेताहरुलाई राजदूत होउले एकएक गरेर भेट्दै सल्लाह दिइरहनु भएको हो । नेकपामा ओली एकातिर हुँदा अर्का अध्यक्ष दाहाल, नेताहरु माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम पक्षका नेताहरु उहाँविरुद्ध एकजुट हुनुभएको छ । प्रधानमन्त्री ओलीको कार्यशैली र रवैयाले पार्टी र सरकार दुबै अलोकप्रिय भएको भन्दै दुबै पदबाट हटाउन उहाँहरु सक्रिय भएकै बेला राजदूत होउको दौडधूप बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *