नेकपा एस विवाद: समाजवादीका मन्त्रीसहित १० नेताले दर्ता गराए ८ बुँदे असन्तुष्टि पत्र

काठमाडौँ- मन्त्रिपरिषद्‌ हेरफेरविरुद्ध नेकपा एकिकृत समाजवादीका १० नेताले पार्टी कार्यालयमा ८ बुँदे असन्तुष्टि पत्र दर्ता गराएका छन् । आज बिहान १० बजे स्वास्थ्य मन्त्री विरोध खतिवडाको नेतृत्व १० जना नेता विभिन्‍न मागसहित असन्तुष्टि पत्र दर्ता गराएका हुन् ।

बजेटको बीचमा मन्त्री फेर्ने निर्णय पार्टीको अपरिपक्‍व भएको उक्त पत्रमा लेखिएको छ । ‘बजेटको बीचमा मन्त्री फेर्ने निर्णय पार्टीको अपरिपक्‍व छ’ समाजवादीका एक नेताले इकागजसँग भने ‘बजेट पारित भएपछि मन्त्री फेर्ने आन्तरिक समझदारी हुँदाहुँदै क्षणक्षणमा प्रधानमन्त्रीलाई दबाब दिएर हुर्मत लिने काम गरेको ठिक भएन ।’

 

त्यस्तै अहिले मन्त्री बनाउन प्रस्ताव गरेको पाँच जनाको नाम कुनै हालतमा परिवर्तन हुनुपर्ने उनीहरूले अडान राखेका छन् । ‘ती नाम समावेशी छैन । महिला छैन’ ती नेताले इकागजसँग भने ‘एउटै जिल्लाबाट २ जना सिफारिस गरिएको छ । सिनियर-जुनियर हेरिएको छैन । ६ महिनाको नियम सबैमा लागू हुनुपर्छ ।’

उक्त असन्तुष्टि पत्र १७ नम्बरमा दर्ता भएको ती नेताले बताए । विरोध खतिवडामा नेतृत्वमा सांसदहरू रामकुमारी झाँक्री, प्रेम आले, कृष्ण कुमार श्रेष्ठ, कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरुले असन्तुष्टि पत्र दर्ता गराएका हुन् ।

 

नेकपा एकीकृत समाजवादीका नेता तथा श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्री फेरबदलको प्रकरणमा पार्टीले गलत शैली अपनाएको उल्लेख गर्दै गल्ती महसुस नगरेर आफूहरु जुनसुकै निर्णयमा पुग्न बाध्य हुने चेतावनी दिएका छन् । उनले अहिले नै पार्टीभित्र आफूहरुले विग्रह र विभाजनको कल्पना नगरेको तर ‘डिलमा पुर्‍याएर लात्तिले हान्न खोजे जे पनि हुने’ बताए ।

‘पार्टीमा विभाजन, बिग्रह आउने कुरा हामीले सोचेका छैनौं तर डिलमा पुर्‍याएर लात्ताले हिर्कायो भने त जे पनि गर्न सक्छौं नि’ मन्त्री श्रेष्ठले ईकान्तिपुरसँग भने,’ हामीले पार्टी छोड्ने कल्पना अहिलेसम्म गरेका छैनौं । तर परिस्थिति त्यस्तो बनाइदियो भने जे पनि हुन सक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *