अभिनेत्री निरुता सिंहले विवाह गरेकी छन् । उनले आफूले मुम्बई निवासी सञ्जीव गुलाटीसँग विवाह गरेको फेसबुकमार्फत जानकारी दिएकी छन् ।
आफूलाई विवाह कहिले गर्ने भन्ने धेरै प्रश्न आएको भन्दै उनले गत बिहीबार अर्थात ३१ अगस्टमा विवाह गरेको बताएकी छन् । ‘दक्षिणा’ नेपाली चलचित्रमा अभिनय सुरु गरेकी उनको दर्पण छाया, आफन्त, बन्धकी, दुई किनारालगायतको सफलतापछि हराएकी नायिका निरुता भर्खर विवाह बन्धनमा बाँधिएकी हुन ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले गत अगस्ट ३१ मा गुलाटीसँग बिहे गरेको जानकारी दिएकी हुन्।
‘यतिका वर्षदेखिको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तर्वार्ता पूर्ण हुँदैन थियो। त्यो हो …’निरूता जी बिहे कहिले गर्ने?’ भन्ने प्रश्न। आज त्यसै प्रश्नको जवाफ दिन गइरहेको छु।तपाईंहरूको निरूता सिंहले गत बिहीबार अगस्ट ३१, २०२३ को दिन मुम्बई निवासी श्री संजीभ गुलाटीसँग लगनगाँठो जोडेको छ। हजुरहरू सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु,’ उनले भनेकी छन्।
यसका साथै चाँडै नेपाल आउने समेत उनले वाचा गरेकी छन्।
दार्जलिङमा जन्मेकी सिंहले नेपाली सिने क्षेत्रमा सन् १९९३ मा फिल्म दक्षिणाबाट डेब्यू गरेकी थिइन्। उनले ५० भन्दा बढी नेपाली फिल्ममा अभिनय गरिसकेकी छन्। दर्पण छाया, सिउँदोको सन्दुर, ठूल्दाइ, नाइँ नभन्नू ल ५ उनका हिट फिल्म हुन्।