नवनिर्वाचित राष्ट्रपति पौडेलको आज शपथग्रहण

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। पौडेलको शपथग्रहण शीतल निवासमै हुनेछ।

उनलाई सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनेछन्। शपथपछि पौडेल पाँच वर्षका लागि शीतल निवासमा बस्नेछन् ।

राष्ट्रपति निर्वाचित भएपछि रामचन्द्र पौडेलले सोमबार नेपाली कांग्रेसबाट अलग भएका थिए। उनले पार्टीसँगको संलग्नता त्याग गरेका हुन्।

कांग्रेस वरिष्ठ नेतासमेत रहेका पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए।

पौडेलले कांग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै आफू राष्ट्रपतिमा निर्वाचित भएकोले पार्टी सदस्यबाट अलग भएको जानकारी गराएका हुन्। राष्ट्रपतिमा निर्वाचित व्यक्ति पार्टी सदस्य रहन नहुने व्यवस्था छ।

पौडेल गत मंसिर ४ को चुनावमा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। पौडेल राष्ट्रपति भएपछि यो क्षेत्रमा प्रतिनिधि सभा सदस्य पनि रिक्त भएको छ। यहाँ छ महिनाभित्र उपचुनाव हुनेछ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा निर्वाचित हुँदा उनले एमाले उपाध्यक्ष सुवास नेम्वाङलाई पराजित गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *