नयाँ सरकार बनेपछि बाक्लियो पश्चिमा अधिकारीहरुको भ्रमण

नेपालमा नयाँ सरकार बनेको महिना दिनपछि नै अमेरिका र पश्चिमा मुलुकका अधिकारीको भ्रमण बाक्लिँदो छ।

यही साता मात्रै अमेरिकी विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपाल भ्रमण गरी प्रचण्ड सरकारको अमेरिका नीतिबारे चासो राखेकी थिइन्। नुल्यान्ड फर्केको एक सातापछि नै अमेरिकाबाट अर्को एक मन्त्रिस्तरीय भ्रमण हुँदैछ। अमेरिकी सहयोग नियोग यूएसएआईडीकी प्रमुख समान्था पावर आगामी मंगलबार नेपाल भ्रमणमा आउने भएकी हुन्।

पुस दोश्रो साता वाम वर्चस्वको नयाँ सरकार बनेपछि नेपाल आउने पावर नै उच्च अमेरिकी अधिकारी हुनेछिन्। दुई दिने नेपाल बसाइमा पावरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेट्नेछिन्।

परराष्ट्र र अर्थ मन्त्रालयले अमेरिकी दूतावाससँगको समन्वयमा भ्रमणको तयारी गरिरहेका छन्। अधिकारीहरुका अनुसार पावरको भ्रमणमा यूएसएआईडीमार्फत् खर्च हुने ८० अर्ब रुपैयाँको अनुदान सहायता परिचालनबारे कुराकानी हुने भएको छ। यूएसएआइडी र अर्थ मन्त्रालयबीच उक्त अनुदान सहायतासम्बन्धी सम्झौतामा गत वैशाख २१ गते हस्ताक्षर भएको थियो। उक्त रकम पाँच वर्षभित्र खर्च गर्ने योजना छ।

भ्रमणमा यूएसएआईडीले सञ्चालन गरिरहेका परियोजनाको प्रगति र भावी दिनमा सञ्चालन गर्ने परियोजनाबारे पनि छलफल हुनेछ। पावरले यूएसएआईडीका केही परियोजना पनि उद्घाटन गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयका एक अधिकारीले बताए।

त्यसैगरी भ्रमणमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट सम्झौता अन्तर्गत बन्ने विकास पूर्वाधारका परियोजना अघि बढाउनेबारे पनि छलफल हुनेछ।

सरकारी अधिकारीहरुका अनुसार समान्था पावर फर्केलगत्तै अमेरिकी विदेश मन्त्रालयमा एसिया मामिला हेर्ने अर्का एक उपसहायक विदेशमन्त्री पनि नेपाल आउनेछन्।

पश्चिमा अधिकारीको बाक्लिँदो भ्रमणले छिमेकी भारत र चीन संशकित बन्नसक्ने कतिपय सरकारी अधिकारीको भनाइ छ। भारतसँग पश्चिमा मुलुकको रणनीतिक सानिध्य रहे पनि युक्रेन—रुस द्वन्द्व लगायत जल्दाबल्दा भूराजनीतिक मुद्दामा भारतसँग मतभिन्नता छ।

चीनसँग विश्वव्यापी मुद्दामा सबैजसो पश्चिमा मुलुकको प्रतिद्वन्द्विता छ, भलै उनीहरुबीचको आर्थिक सहकार्य फस्टाएपनि। यसरी विश्व राजनीति पश्चिमा मुलुक भर्सेस चीन बनिरहेका बेला त्यसको प्रत्यक्ष र परोक्ष असर नेपालमा पनि देखिएको हो। नेपालमा वामपन्थी र दक्षिणपन्थी शक्तिको बोलवाला रहेको सरकार बनेकाले फेरी कतै चीन हावी हुन्छ कि भन्नेमा अमेरिका र युरोपेली मुलुक चिन्तित देखिन्छन्।

को हुन् समान्था पावर? 
उनी अमेरिकामा मन्त्रीस्तरीय दर्जाकी उच्च अधिकारी हुन्। उनी अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदकी सदस्य पनि हुन्।

अमेरिकाले अन्य मुलुकलाई यूएसएआईडीमार्फत् दिने विकास सहायतामा अमेरिकी भूराजनीतिक र सुरक्षा स्वार्थ सुनिश्चितता गर्नु पावरको मुख्य भूमिका हो। अमेरिकाले आर्थिक, मानवीय र भूराजनीतिक सवालमा अन्य मुलुकसँग गर्ने सहकार्यको एक हिस्सा विकास सहायता हो। त्यसलाई यूएसएआईडीले कार्यान्वयन गर्छ।

पावर तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यकालमा सन् २०१३ देखि सन् २०१७ सम्म संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि थिइन्। त्यसअघि उनी हावर्ड विश्वविद्यालयमा प्राध्यापक थिइन्।

बेलायती वरिष्ठ कूटनीतिज्ञ र सैन्य अधिकारी पनि आउँदै 
अमेरिकी अधिकारीसँगै बेलायती विदेश मन्त्रालयका वरिष्ठ अधिकारी तथा सैनिक अधिकारीको नेपाल भ्रमण पनि हुँदैछ। यही साता एक बेलायती सैनिक अधिकारी काठमाडौं आउँदैछन्। त्यसैगरी बेलायतका एक रक्षा अधिकारी पनि फेब्रुअरी महिनामा नै यहाँ आउनेछन्।

कूटनीतिक स्रोतका अनुसार बेलायती विदेश राज्यमन्त्री आन म्यारी ट्रिभिलिअन मार्च पहिलो साता नेपाल आउने तयारीमा छिन्। उनको कार्यक्षेत्रभित्र हिन्द प्रशान्त क्षेत्र पर्छ। पश्चिमा शक्ति र चीनबीच हिन्द प्रशान्त क्षेत्रमा भूराजनीतिक प्रतिस्पर्धा बढ्दो छ।

अमेरिकापछि क्यानडा, बेलायत, फ्रान्स, रुस लगायतले पनि हिन्द प्रशान्त क्षेत्रमा आफ्नो सक्रियता बढाइरहेका छन्। जसका कारण हिन्द प्रशान्त क्षेत्र भूराजनीतिको केन्द्र बनिरहेको छ। त्यसको सिधा असर नेपालमा पर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *