नयाँ वर्ष २०७७ साल शुरु भएको छ । विक्रम संवत् अनुसार वर्ष २०७६ साललाई बिदा गरी वर्ष २०७७ साल आजबाट सुरु भएको हो । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय र सूर्यसँग सम्बन्धित रहेको मानिन्छ । यो पात्रो नेपाल, भारत, श्रीलंका र बंगलादेशमा पनि प्रयोगमा रहेको छ । सरकारी कामकाजमा विक्रम संवत् चलाउने नेपाल एक मात्र मुलुक हो । बंगलादेशमा पनि वैशाख १ लाई नै नयाँ वर्षको रुपमा मनाउने गरिन्छ । सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरे पूण्य प्राप्त हुने धार्मिक विश्वास छ । प्रत्येक व्यक्तिले गतवर्ष गरेका कामको सफलता÷असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न यस दिन योजना निर्माण एवं सत्संकल्प गर्ने गर्दछन् । विगतमा होटल, रेष्टुरेन्ट, पार्कलगायत विभिन्न स्थानमा भेला भएर नयाँ वर्ष मनाउने गरिए पनि यस वर्ष कोरोनाको जोखिमका कारण घरमै बसेर सावधानीपूर्वक नयाँ वर्षलाई स्वागत गर्दै शुभकामना आदान प्रदान गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७७ को अबसरमा शुभकामना सन्देश जारी गर्दै उच्च मनोबल र सकारात्मक सोचका साथ कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि एकजुट भई अगाडि बढ्न नयाँ वर्षले ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहांले कोभिड—१९ को रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी तुल्याएर अमूल्य मानव जीवन बचाउन अहिलेको सबैभन्दा उत्तम विकल्प ‘लकडाउन’र सामाजिक दूरी कायम गर्नुपर्ने बताउनुभएको छ । कोरोनाभाइरस सिर्जित यस विपत साझा प्रयास गर्दा मानवजातिको जीत सुनिश्चित रहेको विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले महामारीको संक्रमण रोक्ने उपायका रूपमा अवलम्बन गरिएको ‘लकडाउन’का कारण यसपटक नयाँ वर्ष मनाउने र हर्षोल्लास आदानप्रदान गर्ने कार्यमा सावधानी अपनाउन ध्यानाकर्षण गराउँदै नयाँ वर्षले दिगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिका लागि नयाँ जोश, जाँगर र उत्साह पैदा गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
यस्तै,उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ वर्षको शुभकामना सन्देशमा कोरोनाविरुद्धको संघर्षमा अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले नयाँ वर्षको प्रारम्भिक महिनाहरूमै कोरोना महामारी नियन्त्रण हुने र देश पुनः ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न पुरानै लयमा फर्कने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा आलीले नयाँ वर्षको शुभकामना सन्देशमा कोरोना भाइरसको महामारीबाट सिङ्गो मानव जातिसहित हामी नेपाली पनि छिट्टै मुक्त हुन सकौं भन्ने कामना गर्नुभएको छ । उहांले भाइरसविरुद्धको जारी ‘युद्ध’को अगुवाइ सरकारले गरिरहेको भन्दै एक्लाएक्लै उभिंदै सामाजिक दूरी कायम राखेर अदृश्य शत्रु–कोरोना भाइरसलाई छल्नु पर्छ भन्नेमा सचेत हुनुपर्छ भन्नुभएको छ ।
प्रधानमन्त्री ओलीले स्व–अनुशासनमा रहने र कोरोना भाइरसको चक्र समाप्त हुने अवधिसम्म धैर्यताका साथ पर्खिने नीति अपनाउनु अपरिहार्य रहेकोमा जोड दिनुभयो । उहाँले सङ्कटको यस बेला सिङ्गो राष्ट्र एकताबद्ध छ भन्दै सबै राजनीतिक दलबाट प्राप्त साथ, समर्थन र रचनात्मक सुझावले सरकारलाई अझ उर्जा थपेको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले कोरोना प्रभावित सबैको जिम्मा राज्यले लिने स्पष्ट पार्नुभयो । बैशाख ३ गते लकडाउनको दोस्रो समयावधि पूरा हुने भन्दै यिनै दुई दिनको अवधिमा हुने प्रगतिको आधारमा कोरोना विरुद्धको नीति कस्तो हुने भन्ने सरकारले निर्णय गर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले कोरोनाको महामारी नसकिँदासम्म आफूले पारिश्रमिक नलिने भन्दै आफ्नो पारिश्रमिक बापतको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने घोषणा समेत गर्नुभएको छ ।
यस्तै नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले आजको चुनौती सामना गर्न ‘सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ’ भन्ने भावना र दृष्टिकोणका साथ हरसम्भव सघाइरहेको बताउनुभएको छ । उहाँले लकडाउनको पालना गर्न र समदूरी कायम गर्दै उच्च सतर्कता अपनाएर संयम र एकताका साथ कार्य गर्न सबैमा आग्रह गर्नुभएको छ ।
नयाँ वर्षको उपलक्ष्यमा विभिन्न दलका नेताहरुले पनि शुभकामना दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका निमित्त सरकारले अघि सारेका लकडाउनलगायत नीति तथा कार्यक्रमको कडाइपूर्वक पालना गर्न सबैमा अपिल गर्नभएको छ । उहांले कोरोना भाइरसविरुद्धको सङ्घर्षमा नयाँ वर्षले मानव जातिकै नयाँ अन्तर्रा्ष्ट्रिय एकता र राष्ट्रिय एकताको आधार दिने विश्वास गर्नुभएको छ ।
पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसको विश्वव्यापी महामारीबाट बच्न सबैको एकता अपरिहार्य रहेको बताउनु भएको छ । नयाँ वर्ष २०७७ को शुभकामना दिँदै उहाँले कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको धरातलीय थथार्थलाई आत्मस्वीकार गर्दै राष्ट्रिय भाव र एकता प्रवलीकरणको मार्ग स्पष्ट गर्न अब पनि सकेनौं भने इतिहासमा महाभूल हुने बताउनु भएको छ । पूर्वराजा ज्ञानेन्द्रले आफ्ना पुर्खाले अनादिकालदेखि अबलम्बन गर्दै आएको वैदिक सनातन दर्शन, धर्म, संस्कृति, परम्परा तथा जीवन पद्धति नै सर्वश्रेष्ठ र वैज्ञानिक भएको महसुस अहिले विश्व जगतले स्वीकार गर्दै आएको भन्दै यसको पुनर्जागणमा जोड दिनुभएको छ । यिनै जगमा उभिएर हाम्रो समाजको व्यवस्था, अर्थ व्यवस्था र शिक्षाको जगाधार बलियो बनाउन राष्ट्रिय प्रतिवद्धता लिनुपर्नेमा पनि पूर्व राजाले प्रेस विज्ञप्ति जारी गरी जोड दिनुभएको छ ।