-हरिविनोद अधिकारी
विश्व नै अघोषित कफ्र्युभित्र जकडिएको बेला छ । कस्तो महाव्याधि आयो, महामारी बढ्यो । हुन त विश्वमा ७ अर्बभन्दा बढी जनसंख्या छ, त्यो अनुपातमा करिब १३ हजार जनसंख्या कुनै अङ्क होइन तर अदृश्य तर ज्यामितीय गुणनमा बढ्दै जाने कोरोना भाइरस-१९ बाट कसरी जोगिने ? अहिलेको संसारमा यही सबैको जपना बनेको छ । परामाणविक युद्धसँग लड्न सक्षम पहिलो विश्व अहिले निरीह बनेको छ । आकाशबाट आकाशमा क्षेप्यास्त्र युद्ध गर्न सक्ने विश्वका देशहरु अहिले नदेखिने तर महाव्याधिको रुप लिएको भाइरससँग जुध्न सकिरहेका छैनन् । जुध्ने मेसो पत्ता लगाउन सकिरहेका छैनन् । कतिपय देशका माथिल्लो तहका पदाधिकारीहरु नै संक्रमित हुनुले संक्रमणको त्यो सीमारेखालाई कसरी भाइरसले नाघेको छ भन्ने अनुमान गर्न सकिन्छ । महामारी त हुँदै हो तर कसरी नियन्त्रण गर्ने भन्ने कुरा अहिलेको विश्वका लागि चुनौती बनेको स्पष्ट देखिन्छ ।
चीनको वुहानबाट सुरु भएको मानिएको कोरोना भाइरसको यो सँस्करण जसलाई कोभिड-१९ भनिन्छ, त्यसको संक्रमणबाट विश्वका केही देशहरुबाहेक अरुमा फैलिएको छ र शक्तिशाली देशहरुले अझै ओखतीसमेत पत्ता लगाउन सकेका छैनन् । भन्न त चीनले पनि पत्ता लगाउन थालेको बताएको हो, अमेरिकाले पनि खोप पत्ता लागेको बताएको हो तर जबसम्म त्यसको परीक्षणबाट मानवोचित हो भन्ने र भाइरसलाई तह लगाउने खालको ओखती भनेर विश्व स्वास्थ्य संगठनले भन्दैन, तबसम्म त्यसलाई मानवमा प्रयोग गर्न पाइँदैन । प्रयोग गर्नु पनि हुँदैन ।
विश्व आफैँ आफ्नो बन्धनमा बाँधिएको छ । हवाई सेवा अवरुद्ध गरिएका छन् । सीमा सिलबन्दी गरिएका छन् । कतै घोषित कफ्र्यु त कतै अघोषित बन्द हुँदा पनि कोभिड-१९ झन झन विस्तारित भएको छ र अनियन्त्रित महामारीको रुप ग्रहण गरिरहेको देखिन्छ । चीनले नियन्त्रणमा आएको जनाएको भए पनि पहिलेका संक्रमितहरुको अवस्थालाई ध्यानमा राख्नु उसको पनि चुनौती छँदैछ ।
नेपालमा ढिलै भए पनि विद्यालय, विश्वविद्यालयहरुका कक्षाहरु र परीक्षाहरु स्थगित गरेर नेपाल सरकारले आवश्यक तयारी गरेको छ । दुई हप्तालाई अतिआवश्यक सेवावाहेकका कार्यालयहरु विदा गरेर र जनतालाई जनस्वास्थ्यका वारेमा सचेत बनाउँदै व्यापक प्रचार प्रसारमा लाग्नुले सचेतनामा व्यापकता देखिएको छ । अस्पतालहरु सचेत छन् । डाक्टरहरु तम्तयार छन् । तर सबैभन्दा बढी संवेदशील हुनुपर्ने चिकित्सकहरुको सुरक्षा पनि हाम्रालागि चुनौती नै बनेको अवस्था छ । संक्रमण भएकाहरुको सेवाका लागि खटिरहने चिकित्सक तथा स्वास्थ्य सेवकहरुको सुरक्षा, सुरक्षामा खटिएका प्रहरीहरुको सुरक्षा र सदैव जनताको नजिक गएर सेवा गरिरहेका दूर सञ्चार, खानेपानी, सडक तथा दूध तथा इन्धन सेवाका सेवकहरुको पनि सुरक्षाको प्रश्न गौण देखिन्छ ।
पत्रकारहरुको पहिलो कर्तव्य भनेको समाजको सेवा हो । सही जानकारी दिने हो जसको लागि सम्बन्धित ठाउँ र पात्रहरुको खबर नै आधिकारिक मानिन्छ, ती पत्रकारहरुको सुरक्षा झन संवेदशील बनेको छ । पत्रकारहरु दोहोरो मारमा पर्दैछन्, एकातिर समाचार र विचार पाउँदैनन्, दिँदैनन् अधिकारीहरु अर्कोतिर आएका समाचारहरु कति आधिकारिक हुन् भनेर कानुनी दायरामा परिने अनि ती ठाउँमा जाँदा भाइरसको संक्रमणमा पर्ने ज्यादा सम्भावना देखिने । नजाउँ समाचारको विश्वसनीयताको प्रश्न, जाउँ ती भीडभाड र सम्भावित संक्रमितसँगको नजिक भइने खतरा ।
जनस्वास्थ्यको कुरा गर्दा पत्रकार, चिकित्सक, नर्स, स्वास्थ्य सहायकहरु, स्वास्थ्यका अन्य सेवकहरु, प्रहरी, सेना, खानेपानीमा काम गर्ने कामदारहरु, फोहोर सफा गर्ने मजदुर, विजुली मरम्मत गर्ने प्राविधिक, सडक सफा गर्ने मजदुर, बसका काम गर्ने खलाँसी वा सहचालक, अत्यावश्यक सेवा प्रदायक सँस्थाका कामदारहरु चालक, प्रेसमा काम गर्नेहरु, चिया पसलमा काम गर्नेहरु आदिको स्वास्थ्यको एकातिर ध्यान दिनैपर्छ भने अर्कोतिर कसरी उनीहरुको सामाजिक न्यायको जगेडा गर्ने भन्ने चुनौती संसारभर नै देखिएको छ । झन नेपालमा पहिलेदेखि नै यसमा ध्यान दिनैपर्ने देखिन्छ ।
सरकारले एउटा उपाय सुरु गरेको हो सकेसम्म सामाजिकरुपमा घुलन कम होस् र सुरक्षित रहनका लागि एकअर्कासँग सम्पर्क कम गराएको हो । फेरि यो समयपछि पनि विश्वभर महामारी बढिरहे के गर्ने भन्ने पनि विकल्प हामीले सोचिरहनु पर्छ । नेपालमा त एउटा भनाइ छ-अरुले के पो गर्न सके र ? अब श्रीपशुपति नाथले नै हामी सबैको रक्षा गर्नेछन् । यो त दैवी शक्तिप्रतिको अन्तिम शरणागती भावना भयो तर हात धुने, भीडभाडमा नजाने, सम्भावित संक्रमणप्रति सचेत हुने बाहेक हामीसँग अरु के पो बाँकी रह्यो र ?
र पनि सचेत होऔँ र सचेतना बाँडौँ । विश्वभरि देखिएको यो महामारीको अन्त्य छिटै होस् भनेर कामना गरौँ । यो महामारीको अन्त्यसँगै सहज तरिकाले पाउने ओखतीको अनुसन्धान होस् र सस्तोमा पाउने गरी उत्पादन पनि होस् भन्ने कामना गरौँ । त्यो बाहेक हामीसँग त के पो बाँकी रह्यो र ?