धादिड लाहुरे गाउँकी चेली एरिकाले जोगाएको नेपालको सान

काठमाडौँ — ‘मेरो अहिलेसम्मको खेलयात्रामा परिवार अर्थात बाआमाको ठूलो योगदान छ । मेरो खेलकै लागि भनेर नेपालमा आमाले बिहानदेखि पूजापाठ गर्नुभएको थियो ।’ कराते खेलाडी एरिका गुरुङले १९ औं एसियाली खेलकुदमा शनिबार साँझ रजत पदक चुमेपछि यस्तो भनेकी थिइन् ।

आमाको आशीर्वादले पनि आफूमा पदक जित्न सक्ने साहस थपिएको एरिकाको विश्वास थियो । पदक जितेपछि पहिलो खुसी उनै आमा रत्न गुरुङसँग फोनमा साटेकी थिइन् ।

कराते हेडक्वाटर मानिने जापान अनि हङकङका शीर्षस्थ खेलाडीलाई पछार्दै फाइनल पुगेकी एरिका सानैदेखि साहसी थिइन् । पहिलो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता भए पनि एसियाडमा उनले निडर भएर आफूलाई प्रस्तुत गरिन् । फाइनलमा काजकिस्तानकी अनुभवी सोफिया बेरुत्सेभासँग साँघुरो अन्तरले पराजित हॅँदा रजत पदकको हकदार भइन् । प्रतिद्वन्द्वी सोफिया ओलम्पिक, वर्ल्ड, एसियनसहित प्रिमियर लिग–१ का मल्टिगेम मेडलिस्ट खेलाडी थिइन् ।

महिला ६८ केजी तौल समूहकी प्रतिस्पर्धी एरिकाले एसियाडमा जुन स्तरको प्रदर्शन गरिन्, त्यो उच्च प्रशंसा गर्नुपर्ने खालको रहेको उनका प्रशिक्षक कुशल श्रेष्ठ बताउॅँछन् । दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता रहिसकेका प्रशिक्षक श्रेष्ठ भन्छन्, ‘एरिकाको पर्फमेन्सका कारण एसियाडमा कुनै न कुनै पदक जित्छौं भन्ने विश्वास थियो । त्यो विश्वास एरिकाले पूरा गरेकी छन् । उनले उच्च प्रदर्शन गरिन् । पहिलो ठूलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली खेलाडीबाट यो स्तरको प्रदर्शन पाउनु हाम्रा लागि गर्वको विषय हो ।’

७ कक्षा पढ्दै गर्दा कराते सिक्न थालेकी एरिकामा खेलबाटै केही गर्छु भन्ने अठोट र आत्मविश्वास थियो । एरिकाले त्यही अठोट चिनियाँ भूमि हाङचउमा पूरा गरिन् । आमा रत्न गुरुङले छोरीबारे सुनाइन्, ‘छोरीले हामीलाई सधैं भन्ने गर्थिन्, तपाईंहरू चिन्ता नगर्नुस् मैले यही खेल (कराते) बाट केही गरेर देखाउँछु ।’

साॅँच्चै २ सय ५३ खेलाडीको नेपाली टोलीमा रजत पदक जित्ने उनीमात्र भइन् । एक कांस्य पदक महिला कड्डडी टिमले जितेको थियो । एरिकाले जितेको पदक नेपालले २५ वर्षपछि एसियाली खेलकुदमा जितेको व्यक्तिगततर्फ पहिलो रजत थियो ।

सन् १९५१ को पहिलो संस्करणदेखि एसियाली खेलकुदमा सहभागिता जनाउॅँदै आएको नेपाललाई १९९८ बैंकक एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले रजत दिलाएकी थिइन् । त्यसपछि २०१८ को जाकार्ता एसियाडमा प्याराग्लाइडिङ टिमले रजत जितेको थियो । करातेतर्फ एसियाडमा पदक जित्ने एरिका चौथो खेलाडी भइन् । यसअघि सीता राई (१९९४), समरबहादुर गोले (१९९८) र विमला तामाङ (२०१४) ले कांस्य जितेका थिए ।

करातेमा पछिल्लोपल्ट कांस्य जित्ने विमला र एरिका एउटै जिल्लाका खेलाडी हुन् । दुवै धादिङका हुन् । तर, दुवैले काठमाडौंमै सिकेर सफलता पाएका हुन् । विमला बालाजु डोजोकी उत्पादन थिइन् भने एरिकाले आफ्नो प्रशिक्षण करिअर मनमैजु डोजोबाट सुरु गरेकी हुन् । खेलमा लाग्न एरिकालाई परिवारबाट कुनै रोकतोक थिएन, पूर्ण साथ थियो । बच्चाहरूकै शिक्षा र खुसीका लागि भनेर त एरिकाको बावुआमा काठमाडौंलाई कर्मभूमि बनाएर बसिरहेका थिए । झन्डै २० वर्षयता उनीहरू राजधानीमा रेन्टमै जीवन बिताइरहेका छन् ।

राजधानीसॅगै जोडिएको जिल्ला हो धादिङ । बत्तीमुनि अँध्यारो भनेजस्तै उपत्यकाको सामीप्यमा रहेर पनि धादिङ धेरै कुरामा पछाडि छ । उत्तरी क्षेत्रको विकटता भनिसाध्य छैन । एरिकाको घर त्यही क्षेत्रको लाहुरे गाउँ (मधुवन) मा हो । तत्कालीन साङ्‍कोस गाविस–८ को मधुवन गाउॅँ अहिले जिल्ला सदरमुकाम धादिङबेसी रहेको नीलकण्ठ नगरपालिका–१३ भित्र पर्दछ । दशकयता भने सडक यातायातले छोएको यस गाउँ पुग्न नत्र सदरमुकामबाट घन्टौं हिँडनुपर्थ्यो । विद्यालय जान पनि जंगलको बाटो घन्टौं हिँड्नुपर्ने अवस्था थियो ।

दुई दशकअघिको त्यही अवस्थाका कारण राजधानी छिरेका गुरुङ दम्पती (विनोद र रत्न) छोरीहरूको राम्रो शिक्षा दिलाउन र भविष्य उज्ज्वल पार्न राजधानीमै अल्मलिए । तर दसैंतिहार, अन्य चाडपर्वहरू र आइपरेका कामका लागि उनीहरू गाउँ पुगिरहेका हुन्छन् । विनोद ट्रेकिङ गएर कमाइ गर्छन् भने रत्न छोरीहरू हुर्काइबढाइमै लागिन् । एरिका १९ वर्षकी भइन् भने अर्की १० वर्षकी छन् । एरिका नेपालटारस्थित एनआर कलेजका बीबीएस अध्ययनरत छन् । जेठी छोरीको सफलताले गुरुङ परिवारमा यतिबेला खुसीयाली छाएको छ ।

‘बच्चाकै भविष्यका लागि भनेर काठमाडौंमा दु:खसुख गरेर बस्यौं । संघर्ष गरिरहेका छौं । कोठा भाडामै बसेर जेनचेन गुजारा गरेका छौं । आज छोरीले देशका लागि यति ठूलो सफलता पाउँदा एकदमै गौरवान्वित भयौं, हामीले आफ्ना दुःख बिर्सिएका छौं,’ बालाजु मनमैजुमा रहेकी आमा रत्नले खुसी बाँडिन्, ‘छोरीले हाम्रा लागि मात्र होइन, सिंगो देशलाई नै खुसी दिएको सुन्दा झनै गर्व महसुस भइरहेछ ।’

परिवारका उनीहरू सबै सँगै बसेर टेलिभिजनबाट एरिकाको खेल हेर्न भने पाएनन् । आमा रत्न त घरमै थिइन् भने विनोद ट्रेकिङलाई एभरेस्ट बेसक्याम्प पुगेका थिए । ‘मैले एउटा खेल टिभीमा हेरें, उसको बुवा त ट्रेकिङ जानुभएकाले हामी परिवार सँगै बसेर त हेर्न पाएनौं । छोरीले भिडियो पठाएकी थिई । त्यसमा हेर्‍यौं । उसले पनि राम्रो किक प्रहार गरेकी थिइन्,’ छोरीको खेलबारे आमाको प्रतिक्रिया थियो । बुवाले पनि छोरीको खुसी आफूसँग फोनबाट साटेको रत्नले सुनाइन् ।

गत वर्ष गण्डकीमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेपछि एरिका एसियाडको प्रारम्भिक टोलीको छनोट परेकी थिइन् । एसियाड खेल्न चीन पुग्नुअघि नेपाली टोलीले इन्डोनेसियामा एसियन सितेरियो कराते च्याम्पियनसिप खेल्नुका साथै प्रशिक्षण पनि गरेको थियो । च्याम्पियनसिपमा एरिकाले स्वर्ण जितेर आफू एसियाडको पदक दाबेदार रहेको संकेत दिएकी थिइन् । त्यहाँको प्रदर्शन आफ्ना लागि प्लस प्वाइन्ट भएको एरिकाले स्वीकारेकी छन् ।

अब एरिकासँगै उनको परिवारको परिचय फेरिने छ । एरिका हाङचउ एसियाडकी रजत विजेता खेलाडी हुनेछिन् । रत्न र मनबहादुर एसियाड रजत विजेता छोरीकी आमाबाबु बन्नेछन् ।

लाहुरे गाउँकी चेलीले ‘हर्ट टु हर्ट २ फ्युचर’ स्लोगान बोकेको हाङचाउ एसियाली खेलकुदमार्फत् दिलाएको रजत पदकले सिंगो नेपाली खेलकुद र विवादमा रुमल्लिरहेको करातेको भविष्य नै फेर्ने विश्वास गर्न सकिन्छ ।

एसियाडमा नेपालको पदक इतिहास

(३ रजत र २३ कांस्य पदक)

१९८६, सोल (दक्षिण कोरिया)

४ कांस्य– स्व. दलबहादुर रानामगर, तुलबहादुर थापा, सुशील पोखरेल, मनोजबहादुर श्रेष्ठ (बक्सिङ)

४ कांस्य– राजकुमार राई, विधान लामा, रामबहादुर घर्ती क्षेत्री, राजकुमार बुढाथोकी (तेक्वान्दो)

१९९०, बेइजिङ (चीन)

१ कांस्य– चित्रबहादुर गुरुङ (बक्सिङ)

१९९४, हिरोशिमा (जापान)

१ कांस्य– मानबहादुर शाही (तेक्वान्दो)

१ कांस्य– सीता राई (कराते)

१९९८, बैंकक (थाइल्यान्ड)

१ रजत– सविता राजभण्डारी (तेक्वान्दो)

२ कांस्य– सपना मल्ल र किशोर श्रेष्ठ (तेक्वान्दो)

१ कांस्य– समरबहादुर गोले (कराते)

२००२, बुसान (दक्षिण कोरिया)

३ कांस्य– दीपक विष्ट, रेनुका मगर र ऋतुजिमी राई ( तेक्वान्दो)

२००६, दोहा (कतार)

३ कांस्य– दीपक विष्ट, मनिता शाही र आयशा शाक्य (तेक्वान्दो)

२०१०, ग्वाङ्झाउ (चीन)

१ कांस्य– दीपक महर्जन (बक्सिङ)

२०१४, इन्चोन (दक्षिण कोरिया)

१ कांस्य– विमला तामाङ (कराते)

२०१८, जकार्ता/पालेम्बाङ (इन्डोनेसिया)

१ रजत– प्याराग्लाइडिङ टिम

२०२३, हाङचउ (चीन)

१ रजत– एरिका गुरुङ (कराते)

१ कांस्य– महिला कबड्डी टिम

from ekantipur.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *