देशव्यापी भिआईपी आक्रमण हुन सक्ने प्रहरी प्रतिवेदन

 

नेपाल प्रहरीको एक आन्तरिक प्रतिवेदनमा देशव्यापी भिआईपी आक्रमण हुन सक्ने अनुमान गर्दै सर्तकता अपनाउन सजक गराएको छ । उता नेपाली सेनाको श्रोतले पनि सरकारी भिआईपीहरुको सुरक्षामा थप बलियो बनाउन भन्दै आन्तरिक सर्कुलर गरिएको बताईन्छ । कुनै पनि बेला अराजक भिडले आत्रमण गर्ने वा लुटपाट हुन सक्ने सुरक्षा निकायको निक्योल छ । त्यसैलाई आधारमानेर अमेरिकी सरकारले आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्दा सचेतना अपनाउन भन्दै एडभाईजरी जारी पाि गरिसकेको छ ।

फाइल तस्बिरफाइल तस्बिर

 

ललितपुर प्रहरीले उपल्ला निकायलाई दिएको प्रतिवेदनअनुसार, बल प्रयोग गरी परिस्थिति नियन्त्रणमा नलिएको भए बालाजु काण्ड दोहोरिने सम्भावना देखिएको थियो।

बालकुमारीमा बल प्रयोग गर्नुपर्ने कारणबारे उल्लेख गर्दै प्रहरीले अझै ठूलो क्षति हुन सक्ने अवस्था बनेको भए पनि बल प्रयोग गरेर रोकेको भनेको छ।

प्रतिवेदनमा लेखिएको छ– ‘भिडले घटनालाई अराजक बनाई कसरी सरकारको ध्यानाकर्षण गर्न सकिन्छ भन्ने मानसिकतामा बिस्तारै उग्र हुँदै गएको, भिडले प्रहरीमाथि ढुंगामुढा गरी होहल्ला गरेको, ड्युटीमा खटिएका प्रहरीमाथि एक्कासि ढुंगामुढा प्रहार गर्दा नेपाल प्रहरीतर्फका प्रहरी नायब उपरीक्षक उमेश लम्साल, प्रहरी सहायक हवल्दार सशील सुवेदी, प्रहरी जवान निर्माणबाबु सेजुवाल तथा सशस्त्र प्रहरीतर्फका ४ जना सुरक्षाकर्मी घाइते भएपश्चात् आक्रोशित भिड तितरबितर गर्न अश्रुग्याँस प्रहार गरिएको हो।’

प्रतिवेदनमा अगाडि लेखिएको छ, ‘सोही समयमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाको सवारी साधन भिडले नियन्त्रणमा लिएर आगजनी गर्न लागेकोले तत्काल प्रहरी पुगेर उद्धार गर्नू भन्ने आदेश आएपछि ईपीएसको कार्यालयको गेटमा खटिएको प्रहरी टोली त्यस स्थानतर्फ जानको लागि सामान्य बल प्रयोग गरी भिडलाई तितरबितर पार्ने प्रयास गर्दा भिड झन् अराजक भई प्रहरी टोलीमाथि नै ढुंगामुढा गरी आक्रमण गरेकोले प्रहरीले सिलसिलेवार बल प्रयोग गर्न बाध्य भएको हो।’

मन्त्रीको ज्यान जोगाउन पनि बल प्रयोग गरिएको प्रहरीको तर्क छ।

‘सोही समयमा भिडबाट कसैले मन्त्रीको गाडी रहेछ, मन्त्रीलाई गाडीमै राखेर जलाउनुपर्छ भन्दै होहल्ला गरेकोले खटिएका प्रहरी टोली मन्त्रीज्यूको ज्यानको सुरक्षा कसरी गर्न सकिन्छ भन्नेतर्फ सचेत रही मन्त्रीको गाडीलाई घेराबन्दीमा पारेको स्थानसम्म जानका लागि ठूलो संख्यामा रहेका भिडलाई छिचोल्नुपर्ने बाध्यता भएकोले बल प्रयोग गरिएको हो,’ प्रतिवेदनमा लेखिएको छ, ‘ठूलो संख्यामा रहेका भिडलाई छिचोल्ने क्रममा सामान्य बल प्रयोग गर्दा भिड झनै उत्तेजित हुन पुगेको र मन्त्रीको ज्यान जोखिममा पर्ने सम्भावित खतराबाट बचाउनकै लागि बाध्य भएर प्रहरीले हवाई फायर गर्नुपरेको। मन्त्रीको जिउज्यानमा खतरा भइसकेको, सार्वजनिक र व्यक्तिगत सम्पत्तिमाथि तोडफोड र आगजनी भइरहेको, समयमै प्रहरीले बल प्रयोग नगरेको भए अत्यन्त ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आएकोले बल प्रयोग गरेको।’

भिडको उमेर, घटनाको प्रकृति, नेतृत्वविहीन भिडले गर्दा समयमै बल प्रयोग नगरेको भए कैलाली र बालाजुमा भएको घटनाको पुनरावृत्ति हुन सक्ने सम्भावनाको कारणले गर्दा प्रहरीले बल प्रयोग गर्न बाध्य भएको प्रस्टीकरण पनि ललितपुर प्रहरीले उपल्ला निकायलाई दिएको छ।

गत वर्ष फागुन १ गते यातायात मजदुरको प्रदर्शनका क्रममा प्रहरीका २ वटा गाडी जलाइएका थिए भने वरपरका पसल तोडफोड र लुटपाट भएका थिए। त्यस क्रममा दुईजना डीएसपी कारबाहीमा परेका थिए।

‘बालाजुमा प्रहरीले कुनै कारबाही नगर्दा ठूलो क्षति भयो र प्रहरी अधिकृत नै कारबाहीमा परे,’ उपत्यकाका एक प्रहरी अधिकृत भन्छन्, ‘बालाजु घटनाबाट डराएको प्रहरी बालकुमारीमा अलि बढी आक्रामक कारबाहीमा उत्रियो। यहाँ कारबाहीमा उत्रिएवापत् कारबाही भोग्नुपर्ने अवस्था आयो।’

भीआईपी आक्रमणको देशव्यापी जोखिम

‘राज्यमा शान्ति सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारीलाई आफ्नो ज्यानको परवाह नगरी तदारुकताकासाथ गरेको कामबाट सृजित घटनाक्रमको परिणामलाई विश्लेषण गर्नका लागि घटना हुनुभन्दा तत्काल अघिको परिस्थिति के थियो भनी हेर्नुपर्ने हुन्छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘यदि प्रहरीले बल प्रयोग नगरेको भए त्यसबाट सृजित परिणाम अत्यन्तै भयावह हुने निश्चित भएकोले प्रहरीले बल प्रयोग गरेको हो।’

राजधानीमै भीआईपीमाथि गरिने यस्ता प्रकारका सांघातिक आक्रमणमा पनि प्रहरीले बल प्रयोग नगरेमा आगामी दिनहरूमा भीआईपीहरूको जिउज्यानको खतरा अझ बढ्ने नजिर कायम हुन सक्ने भएकोले पनि प्रहरीले बल प्रयोग गरेको नेपालखबरले प्राप्त गरेको दस्तावेजमा उल्लेख छ।

राज्यविहीनताजस्तो परिस्थिति आउन नदिनका लागि शान्ति सुव्यवस्था कायम गर्ने क्रममा कसैप्रति आग्रह पूर्वाग्रह नराखी नागरिकको जिउधनको सुरक्षाको लागि बल प्रयोग गर्नैपर्ने बाध्यता आइलागेको व्यहोरा पनि ललितपुर प्रहरीको प्रस्टीकरणमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *