देशभर बाढीपहिरोबाट ठूलो जनधन क्षति, बाढीबाट ४० भन्दा बढीको मृत्यू

 

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घास्थित खहरेमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षिय इमान सिंह राना, वर्ष ६० का गिमानसिंह राना र ५० वर्षिय टिका थापा छन् । पहिरोमा प्रेमचन्द्र पाण्डे बेपत्ता छन् । दुई जना घाइते भएका छन् । बेपत्ताको खोजी भइरहेको र घाइतेहरुको स्थानीय बिर्घा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । गाउँमा खानेपानीको धारामा पानी नआएपछि पानीको मुल मर्मतका लागि पुगेका उनीहरूलाई माथिबाट झरेको पहिरोले पुरेको हो ।

तनहुँमा आईतबार राति गएको पहिरोमा परी बेपत्ता भएका थप एक जनाको शव भेटिएको छ । व्यास नगरपालिका–११ ओडारेका ५२ वर्षीय पदम बहादुर भुजेलको शव फेला परेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । योसगै तनहुँमा पहिरोमा परी ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । अर्का हराइरहेका व्यास–९ माझफाँटका २० वर्षीय राजेश थापाको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

संखुवासभामा पहिरोमा परि हराइ रहेका ११ जना अझै बेपत्ता छन् । सिलिचोङ गाँउपालिका– १ सिसुवा खोलामा गएको पहिरोमा हराइ रहेका ११ जनाको अझै उद्धार हुन सकेको छैन । खराब मौसमका कारण हेलिकप्टर उक्त स्थानमा जान नसकेको इमेज संवादाता इन्द्र गिरीले जानकारी दिनुभएको छ । विराटनगर र तुम्लिङटारबाट लगिएको राहत सामाग्रीसहितको हेलिकप्टर सिलिचोङ गाँउपालिका– २ को बुधबारेमा राहत सामाग्रीसहित पुगेको बताइएको छ । यो स्थान प्रभावितस्थलबाट ५ घण्टाको पैदल दुरीमा रहेको छ । पहिरो जाने जोखिम अझै कायम भएकाले ७३ घरका ३ सय २८ जनालाई सुरक्षित स्थानमा सारिएको छ । लगातारको वर्षाका कारण संखुवासभाकै खाँदवारी नगरपालिका–११ का विभिन्न बस्ती पहिरोको उच्च जोखिममा परेका छन् । माथिबाट खसेको पहिरोले पिप्ले गाउँ जोखिममा परेको छ । जिल्लाप्रहरी कार्यालय, जिल्ला कारगारसमेत जोखिममा परेका छन् । त्यस्तै सिसुवा– १ को चेप्जे गाउँका १४ घरपरिवार पनि जोखिममा परेका छन् ।

म्याग्दीको धौलागिरी र मालिका गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएका मध्ये ४ जनाको अबस्था अझै अज्ञात छ । गत शुक्रबार गएको पहिरोमा परि ३२ जना बेपत्ता भएकामा २८ जना मृत अबस्थामा भेटिएका थिए । पहिरोका कारण विस्थापित भएका १ सय ५० भन्दा बढी परिवारका करिब ८ सय जनालाई विद्यालय र सामुदायिक भवनहरुमा राखिएको छ । घटनाको पाँच दिन वितिसक्दा पनि पहिरो प्रभावितहरुले अझै राहत सामाग्री पाउन सकेका छैनन् । खराव मौसम र सडक अवरुद्ध हुंदा राहत सामग्री पु¥याउन नसकेको स्थानीय प्रशासनले जनाएको छ । यता, स्थानीय युवा व्यवसायी र ओमकुमारी शान्ति कोषको पहलमा पहिरो प्रभावित क्षेत्रमा हेलिकप्टरबाट गर्भवती महिला, विपद्मा परेका वृद्धवृद्धाकोउद्धार गरिएको छ ।

केही दिनयता भीषण वर्षासँगै आएको बाढीपहिरोले लमजुङमा डेढसय घरपरिवार विस्थापित भएका छन् । बाढीपहिरोबाट सबैभन्दा बढी मध्यनेपाल नगरपालिकाका एकसय नौ घरपरिवार विस्थापित भएका छन् । उनीहरुलाई मध्यनेपाल–६ भोर्लेटारको इशानेश्वर माध्यमिक विद्यालयमा राखिएको छ । मध्यनेपाल नगरपालिका– ६ का ७८ घरपरिवारलाई सुरक्षित स्थानान्तरण गरिएको नगरप्रमुख रमेशकुमार पाण्डेले जानकारी दिनुभयो । यस्तै बेसीसहर नगरपालिका, मस्र्याङदी, दोर्दी र क्होलासोँथार गाउँपालिकाका ३७ घरका १ सय ७५ जनालाई पनि सुरक्षित स्थानमा राखिएको छ । बिहीबार राती बेसीशहर नगरपालिका–७ सातबिसेमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *