देशभर करिब ९ सय स्वास्थ्यकर्मी संक्रमित, एकैदिन कोरोना संक्रमणबाट १६ जनाको मृत्यु : मन्त्रालय

नेपालमा एकैदिन कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । देशभरको विवरणअनुसार २४ घण्टाको अवधिमा १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको हो । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको छ ।

यस्तै २४ घण्टामा एन्टिजेन र पीसीआर गरी २० हजार १८७ परीक्षण हुँदा १० हजार २५४ जना संक्रमित थपिएका छन् । निको हुनेको संख्या भने ७०८ रहेको मन्त्रालयले तथ्यांकमा उल्लेख छ ।

कोरोनाको ओमिक्रोन भेरिएन्ट नेपालमा फैलिएसँगै एकै दिन मृत्यु हुनेको संख्या यो सबैभन्दा धेरै हो । शुक्रबार दिनभर कोरोनाका कारण ३ जनाको मृत्यु भएको थियो ।

कोरोना भाइरस संक्रमणको तेस्रो लहरमा देशभर ८ सय ८८ स्वास्थ्यकर्मी संक्रमित बनेका छन् । पहिलो र दोस्रो लहरभन्दा तेस्रो लहरमा छोटो समयमै यत्ति धेरै स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले बताएको छ

 

तर संक्रमित अझ बढी हुन सक्ने अनुमान गरिएको छ। धेरै स्वास्थ्यकर्मी संक्रमित भए पनि उनीहरुलाई अस्पताल भर्ना गर्नुपरेको छैन ।

पहिलो लहरको संक्रमण रोक्न आवश्यक रोकथामका उपायमा कमी थिए भने दोस्रो लहरमा स्रोत साधन भए पनि अक्सिजन तथा बेडको अभावले धेरैको ज्यान गएको थियो । पहिलो लहरमा १० जना स्वास्थ्यर्मीको मृत्यु भएको थियो भने ७ हजार ६९० जना संक्रमित बनेका थिए । त्यसैगरी दोस्रो लहरमा १ हजार ७७७ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको थियो भने ४० जनाले ज्यान गुमाएका थिए। सेवा नरोकिए पनि स्वास्थ्यकर्मीको ड्युटी मिलाउन कठिन भइरहेको सम्बन्धित अस्पतालहरुले जनाएका छन् ।

त्रिवि शिक्षण अस्पतालमै हालसम्म ५ सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । अस्पतालका निर्देशक डा दिनेश काफ्ले भन्छन्, ‘धेरै जना स्वास्थ्यकर्मी संक्रमित भइरहेका छन् । सिफ्ट ड्युटी भएको स्टाफहरुलाई ड्युटी मिलाउन एकदमै कठिन भइरहेको छ । मिर्गौला प्रत्यारोपण, घुँडा प्रत्यारोपण एकदम कम संख्यामा भइरहेको छ ।’

स्वास्थ्यकर्मी भटाभट संक्रमित हुन थालेपछि अस्पतालले स्टाफ नभएका वार्ड खाली गरेर मर्ज गरेर चलाइएको उनले बताए । उनका अनुसार स्टाफ नै नपुगेर युरो वार्डको ओपीडी एकदिनका लागि बन्द नै गर्नुपरेको थियो । उपचारका लागि अस्पतालमा आउने लक्षणविहीन बिरामीको परीक्षण गर्दा धेरैमा पोजिटिभ देखिएको अस्पताल बताउँछ । डा काफ्लेले सेवाहरु प्रभावित भए पनि आवश्यक सेवा भने सञ्चालनमै रहेको बताए । उनले भने, ‘सजिलो पाटो के छ भने अक्सिजनको डिमाण्ड कम छ । इमरजेन्सीमा एक/दुई जनाबाहेक सबै स्टाफ पोजिटिभ छन् । त्यसले गर्दा चुनौती थपिएको छ ।’ आइसोलेसन अवधि पूरा गरी कतिपय चिकित्सकहरु काममा फर्किँदैछन् । समस्या भएपछि २५ जना स्वास्थ्यकर्मी थप गरेको डा काफ्लेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *