काठमाडौँ — कांग्रेस सभापतिका प्रत्याशी शेरबहादुर देउवाले विजय सुनिश्चित गर्न तेस्रो धारका नेता कृष्णप्रसाद सिटौलासँग समीकरणको बाटो लिएका छन् । प्रतिस्पर्धी समूह भने साझा उम्मेदवार तय गर्न संघर्षरत छ । महामन्त्रीमा युवा नेता प्रदीप पौडेललाई उठाउने गरी देउवासँग सहमति भएको जानकारी सिटौलाले आफ्ना नेताहरूलाई दिएका छन् ।

शुक्रबार महाधिवेशन उद्घाटनपछि साँझ बन्दसत्र चलिरहेकै बेला एउटा कुनामा आफ्नो समूहका नेताहरूलाई बोलाएर उनले खानेपानीमन्त्रीसमेत रहेका उमाकान्त चौधरीलाई पनि थारू कोटाबाट सहमहामन्त्रीको उम्मेदवार बनाउन देउवा तयार भएको जानकारी दिएका थिए ।
‘शेरबहादुरजीसँग बिहान (शुक्रबार) भएको छलफलमा प्रदीपलाई महामन्त्री र उमाकान्तलाई सहमहामन्त्रीको उम्मेदवार बनाउने सहमति भएको छ, सदस्यको विषयमा छलफल चलिरहेको छ’ सिटौलाको भनाइ उद्धृत गर्दै नेविसंघ महामन्त्री बलदेव तिमिल्सिनाले भने । सिटौलाको दाबीमा देउवा अडिग रहे महामन्त्रीमा गगन थापा र प्रदीप पौडेलबीच पनि प्रतिस्पर्धा हुनेछ, यद्यपि कांग्रेसमा दुई महामन्त्रीको व्यवस्था छ । महामन्त्रीमा संस्थापनबाट प्रकाशशरण महत, बालकृष्ण खाँणको दाबी छ भने इतरसमूहबाट मीनेन्द्र रिजालको सम्भावना छ । त्यस्तै देउवानिकट एनपी साउदले पनि उपसभापति वा महामन्त्रीमध्ये एकमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
सिटौलासँग संवाद गरेर आफ्नो उम्मेदवारीलाई बलियो बनाए पनि देउवाले आफ्नै समूहका आकांक्षीहरूलाई कहाँ/कहाँ राख्ने भन्नेबारे मुख खोलेका छैनन् । उनले महाधिवेशनको उद्घाटन मञ्चबाटै आफ्ना पक्षमा भोट माग्दा उनकै टिमबाट पदाधिकारी उठ्न खोज्ने नेताहरू भने प्रतिनिधिहरूमाझ अलमलमा परेका थिए । ‘को–को उपसभापति हुने, को–को महामन्त्री र सहमहामन्त्री हुने भन्ने निर्णय देउवाले आफ्नो समूहका कसैलाई पनि सुनाएका छैनन् । आकांक्षीहरूलाई अन्तिमसम्म बाँधेर राख्ने र असन्तुष्ट भए पनि अर्को समूहमा जान समय नै नदिने रणनीति उनले लिएका छन् ।
देउवा र सिटौलाको समीकरणले चुनौती बढाएपछि प्रतिस्पर्धी समूहले साझा उम्मेदवार बनाउन शुक्रबार मध्यरातसम्म छलफल गरेको थियो । बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको बैठकमा रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाएर अन्य आकांक्षीलाई पदाधिकारीमा राख्ने गरी समझदारी जुटाउने प्रयत्न पनि भएको थियो । ‘पौडेललाई राष्ट्रपति वा प्रधानमन्त्रीमा व्यवस्थापन गर्ने गरी अन्य आकांक्षीलाई आफ्नो टिममा आउन प्रकाशमानजीको आग्रह थियो, मेरो टिममा बस्न कसैलाई आपत्ति हुन्न, मेरो नाममा सहमति हुन्छ भने ठीक छ । हुन्न भने म उम्मेदवारी दिन्छु भन्दै उहाँ हिँड्नुभयो,’ बैठकका सहभागी एक नेताले बताए । उता शेखरले भने ‘प्रकाशमानजी तयार भएको भए मलाई आपत्ति छैन । तर प्रकाशमानजीले मान्नुभएन भने तपाईं (पौडेल) ले मलाई समर्थन गर्नुपर्छ भन्ने शेखरजीको भनाइ थियो,’ ती नेताले भने ।
प्रकाशमानले भने अडान बदलेनन् । ‘पौडेलको नेतृत्वमा टिम बनाएर जाँदा सबै अटाउन सक्ने प्रस्ताव आएको थियो, त्यसमा सहमत गराउन शशांकले पनि प्रयास गर्नुभयो । शेखर सकारात्मक भए पनि प्रकाशमान आफ्ना कुरा राखेर बाहिरिएपछि बैठक अघि बढ्न सकेन,’ सहभागी अर्का नेताले भने । अब भने यो समूहबाट एक मात्र उम्मेदवार हुने सम्भावना कम रहेको नेता बलबहादुर केसीले बताए । ‘तर शनिबार बिहान पनि हामी प्रयास गर्छौं,’ उनले भने । शनिबार बिहान १० देखि अपराह्न ५ बजेसम्म नामांकन दर्ता गर्ने समय छ । त्यस्तै नाम फिर्ता लिन आइतबार दिनभरको समय हुनेछ । मतदान भने सोमबार मात्र हुने हो ।