काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले वैशाख १३ मा विज्ञप्ति निकालेर कोरोना रोकथाम र उपचारमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका थिए । देउवाले परिस्थितिलाई थप जटिल हुन नदिन हरसम्भव उपाय अवलम्बन गर्न र संक्रमितहरूको उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीहरूको उपलब्धता र स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न आवश्यक व्यवस्था मिलाउन पनि सरकारसँग माग गरेका थिए ।
यसबाहेक देउवाले सरकार खोपको समुचित व्यवस्थापनमा असफल भएको भन्दै मित्रराष्ट्रहरूलाई नेपाललाई खोप उपलब्ध गराउन समेत अनुरोध गरेका थिए ।
कोरोना रोकथाम, नियन्त्रण र उपचारबारे विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराएका देउवाले त्यसको चार दिनपछि यही विषयमा पत्रकार विशेष सम्मेलन गरे । पत्रकार सम्मेलनमा देउवाले सुरुमा लिखित सम्बोधन गरे, जहाँ कोभिड–१९ सँग जोडिएको विषयवस्तुमात्रै थियो । तर, सुरुमै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले पत्रकार सम्मेलन कोभिड–१९ सँग सम्बन्धित रहेको र त्यही विषयमा प्रश्न गर्न संचारकर्मीसँग आग्रह गरे । यद्यपि देउवालाई कांग्रेसको आन्तरिक राजनीति र सत्ता समीकरणबारे समेत प्रश्न सोधियो । देउवा प्रश्नबाट भागेनन्, आफ्नै शैलीमा जवाफ दिए ।
पूर्वप्रधानमन्त्री र विपक्षी दलको नेताको हैसियतमा देउवाले लगातार संकट बनिरहेको कोभिड–१९ को विषयमा पत्रकार सम्मेलन गर्नु जिम्मेवारीपूर्ण कदम थियो । तर, ठूला राजनीतिक घटनाक्रम र जनसरोकारका विषयमा विरलै मात्र पत्रकारहरुको प्रश्न सामना गर्ने देउवाले अचानक पत्रकार सम्मेलन आयोजना गरेर राजनीतिक वृत्तमा केही सन्देश दिन खोजेको देखिन्छ ।
देउवाले पत्रकार सम्मेलन गर्नुका तीन कारण देखिन्छन् । पहिलो कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेको छ र उसले ‘परिस्थिति परिपक्क (सरकारविरुद्ध बहुमत सांसद)’ खोजिरहेको छ । यसका लागि उसको दौडधूप जारी छ । दोस्रो, गण्डकी प्रदेशमा अविश्वासको प्रस्तावमा मतदान अगाडि भएका राजनीति घटनाले कांग्रेस झस्किएको छ । र, तेस्रो देउवाले पत्रकार सम्मेलन गर्नुपूर्व जसपाका बहमुत सांसदहरु अविश्वासको प्रस्ताव लैजान तयार भएको निर्णय सार्वजनिक भएको छ । भावी सत्ता समीकरणलाई जसपा विभाजन उन्मुख छ । जसपाको बहमुत पक्षले साथ दिँदा अविश्वास प्रस्ताव पास हुने सम्भावना हुन्छ ।
यद्यपि देउवाले पत्रकार सम्मेलनमा यस्तो संकेत चाहिँ गरेनन् । उनले भने, ‘बहुमत चाहिन्छ कि चाहिँदैन ? बहुमत त चाहिन्छ नि !’ अहिलेको अवस्थामा वैकल्पिक सरकार बन्न सक्ने अवस्था छैन । यद्यपि पहल जारी छ । तत्काल जसपाले निर्णय गरेर आउँछ आउँदैन हेर्नुपर्छ ।’ तत्काल अविश्वासको प्रस्ताव नआउने सम्भावनालाई हेरेर देउवा आफै पत्रकार सम्मेलनमा आएका पनि हुन सक्छन् ।
यिनै घटनासँग जोडेर विश्लेषकहरुले देउवाको पत्रकार सम्मेलनलाई कोभिडसँगै मात्रै लिएनन् । तीन कारणले विश्लेषकहरूले देउवाको पत्रकार सम्मेलनलाई ‘राजनीति सन्देश प्रवाह’का रुपमा लिए । राजनीतिक विश्लेषक पुरञ्जन आचार्य प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन देउवाले आधार तयार पारेको बताउँछन् । ‘पत्रकार सम्मेलनमाफर्त सरकारसँग राखेका माग आफ्नो ठाउँमा छँदैछन् । तर, एक हप्तायताका सबै घटनाक्रमले पहिलो पटक कांग्रेस गम्भीर भएको देख्छु, खासगरी सरकारको नेतृत्वको विषयमा’, विश्लेषक आचार्यले भने, ‘केही न केही पाक्दै छ । भोलि अविश्वास प्रस्ताव लिएर जाँदा पृष्ठभूमि पनि चाहियो । पत्रकार सम्मेलन त्यसकै प्रयत्न हुन सक्छ, उहाँले जनमत बनाउने र प्रेसलाई पनि चित्त बुझाउने कोसिस गरेको हुनुपर्छ ।’
विश्लेषक एवं प्राध्यापक कृष्ण पोखरेल पत्रकार सम्मेलनमार्फत देउवाले दुई सन्देश दिन खोजेको बताउँछन् । ‘पहिलो–कहीं न कहीं अब मैले नेतृत्व लिने बेला आउन थाल्यो भनेको होला । त्यसैले अहिलेका जल्दाबल्दा विषयमा धेरै चासो प्रदर्शित गर्नुपर्छ । ताकि अविश्वासको प्रस्ताव ल्याउँदा मैले पहिला नै भनेको हुँ, सरकारले गंभीरतापूर्वक लिएन भन्ने रेकर्ड हुन्छ’, उनले भने, दोस्रो, ‘सरकार परिवर्तन अहिले संभव छैन भनेर ओलीलाई ‘डिस्ट्रयाक’ गर्न खोजेको पनि हुन सक्छ । यही हो भनेर प्रस्ट भन्ने अवस्था छैन ।’
देउवा निकट मानिने कांग्रेसका एक नेता भन्छन्, ‘आज (शुक्रबार) को पत्रकार सम्मेलन राजनीति रुपमा अर्थपूर्ण देखिन्छ । उहाँले पत्रकार सम्मेलनमार्फत अब देशको नेतृत्व मैले लिन सक्छु भन्ने सन्देश दिनुभएको पनि हुन सक्छ । यसको अर्थ अब अविश्वासको प्रस्ताव अगाडि बढ्न सक्छ भन्ने पनि हुन्छ होला ।’ देउवाले पत्रकार सम्मेलनमा सरकारमाथि प्रश्नैप्रश्न उठाएका छन् ।
विश्लेषक आचार्य सबै घटनाक्रम जोडेर हेर्नुपर्ने बताउँछन् । ‘आजै जसपाको निर्णय सार्वजनिक हुने, माओवादी केन्द्रको प्रयास कायमै रहने र प्रदेश सरकारमा एमालेभित्र फ्लोर क्रस हुने अवस्था देखियो । यी सबैले ओली नेतृत्वको सरकार संकटमा छ भन्ने बुझिन्छ । देउवाले थप दवाव बनाएका हुन सक्छन्’, विश्लेषक आचार्यले भने ।
अर्का विश्लेषक पोखरेल चाहिँ देउवा सबै सुनिश्चत नभई ‘कार्ड ओपन’ नगर्ने मनस्थितिमा रहेको बताउँछन् । ‘सरकार फेर्ने विषयमा लामो खिचातानी हुँदा कोरोना समयमा नकारात्मक सन्देश जान सक्छ । त्यसैले सबै सुनिश्चित नभइकन देउवा ‘कार्ड ओपन’मा तयार छैनन्,’ पोखरेलले भने ।
पोखरेलले भनेजस्तै कांग्रेसले नयाँ सरकार गठनको सुनिश्चता भएपछि मात्रै अविश्वास प्रस्ताव लैजाने बताउँदै आएको छ । तर, देउवाको शुक्रबारको पत्रकार सम्मेलन परिस्थिति केही अगाडि बढेको हो कि भन्ने अनुमानलाई बल मिलेको छ ।