भारी मतान्तरले संसदीय दलको नेता निर्वाचित भएपछि देउवाका लागि छैटौँपटक प्रधानमन्त्री बन्ने बाटो खुला भएको छ, साथै फरक समूहलाई विश्वासमा लिएर पार्टी चलाउने र अन्य दलसँग समन्वयकारी भूमिका निर्वाह गरेर अहिलेको राजनीतिक कोर्स अगाडि बढाउने दायित्व पनि थपिएको छ
पार्टी महामन्त्री गगन थापालाई भारी मतान्तरले पराजित गर्दै प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका छन् । पार्टीको संसदीय दलको नेताका लागि बुधबार भएको मतदानमा देउवाले ६४ र महामन्त्री थापाले २५ मत पाएका छन् । निर्वाचनमा ८९ मतदाता थिए ।
पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएसँगै देउवा पार्टीभित्र मात्र होइन, समग्र देशको राजनीतिमा झन् शक्तिशाली नेताका रूपमा उदाएका छन् । कांग्रेस विधानमा दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने व्यवस्था भएकाले यो जितले सबैभन्दा ठूलो दलका सभापति देउवालाई छैटौँपटक प्रधानमन्त्री बन्ने बाटो खुला गरेको छ ।
दलको नेताको निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत आएपछि निर्वाचन समितिले देउवालाई नेता चयन भएको घोषणा गरेको थियो । निर्वाचन समिति संयोजक सहमहाममन्त्री भीष्मराज आङदेम्बेका अनुसार निर्वाचनमा ८९ सांसदले नै मतदान गरेका थिए । कांग्रेस विधानमा दलको नेता हुन ५० प्रतिशतभन्दा बढी मत पाउनुपर्छ । एक वर्षअघि भएको १४औँ महाधिवेशनबाट उनी दोस्रो कार्यकालका लागि पाटी सभापति बनेका थिए ।
दलको नेतामा निर्वाचित भएसँगै देउवाका अगाडि इतर समूहलाई विश्वासमा लिएर पार्टी चलाउने र अन्य दलसँग समन्वयकारी भूमिका निर्वाह गरेर अहिलेको राजनीतिक कोर्स अगाडि बढाउने दायित्व थपिएको छ । दलको नेतामा निर्वाचित भएपछि सभापति देउवाले पार्टीलाई मिलाएर राम्रोसँग अघि लैजान आफू प्रतिबद्ध रहेको प्रतिक्रिया दिए । ‘सबैलाई मिलाएर लैजानेछु । पार्टीलाई राम्रोसँग अघि बढाएर लैजाने कुरामा प्रतिबद्ध छु,’ देउवाको भनाइ थियो । देउवाले दलको नेतामा निर्वाचित गराएकोमा सांसदलाई र सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकोमा निर्वाचन समितिलाई धन्यवाद दिएर बाहिरिएका थिए ।
इतर समूहले आफ्नो पक्षमा न्यूनत ३२ सांसद रहेको दाबी गरे पनि महामन्त्री थापाले २५ मत मात्रै पाए । सोही कारण महामन्त्री थापाले परिणाम अनपेक्षित भए पनि स्वाभाविक रूपमा लिएको प्रतिक्रिया दिए । ‘लोकतान्त्रिक अभ्यासका रूपमा परिणामलाई स्वाभाविक रूपमा लिएको छु । कांग्रेस रूपान्तरको मेरोे प्रस्तावमा पार्टीका अधिकांश साथीहरू उभिनुभएको रहेनछ भन्ने परिणामले देखाएको छ,’ उनले भने, ‘मलाई समूहमा रहेको मतले पुग्दैन भन्ने थाहा थियो । अरू पनि मत थपिन्छ भन्ने विश्वास थियो, तर त्यो धेरै नै अनपेक्षित देखियो ।’
उनी संसदीय राजनीतिमा छैटौँपटक दलको नेता भएका छन् । यसअघि उनी ०५१, ०५८, ०६३, ०७२ र ०७४ मा पनि संसदीय दलको नेता निर्वाचित भएका थिए । देउवाको २६ भदौ ०५२ मा पहिलोपटक, ७ साउन ०५८ मा दोस्रोपटक, २१ जेठ ०६१ मा तेस्रोपटक, २३ जेठ ०७४ मा चौथोपटक र २९ असार ०७८ मा पाँचौँपटक प्रधानमन्त्री भएको इतिहास छ । देउवा ६ दशकदेखि निरन्तर राजनीतिमा छन् ।
सभापति देउवाको उम्मेदवारीको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का थिए भने महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावक नेता डा. शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल थिए ।
संसदीय दलमा ७१.९१ प्रतिशत सांसद आफ्नो पक्षमा उभिएको देखाएका देउवासँग केन्द्रीय कार्यसमितिमा पनि ठूलो शक्ति छ । केन्द्रीय समितिमा उनको पक्षमा ८२.२७ प्रतिशत सदस्य छन् । यसले संसदीय दल र पार्टी दुवैतिर देउवाको पकड बलियो बनेको छ । कांग्रेसको एकसय ३४ निर्वाचित र २३ मनोनीत गरी एक सय ५८ सदस्दीय केन्द्रीय कार्यसमिति छ । अझै १० जना मनोनयनको अधिकार सभापतिलाई छ ।
महामन्त्री शर्मा र पौेडेल समावेश भएसँगै केन्द्रीय समितिमा इतरको संख्या २८ पुगेको छ । यस आधारमा देउवासँग केन्द्रीय समितिमा ८२.२७ आफ्नो पक्षमा छ । महाधिवेशनमा निर्वाचित एक सय ३४ मध्ये महामन्त्री शर्मासहित एक सय नौजना संस्थापन समूहका थिए । २३ मनोनीतमध्ये पौडेलबाहेक दुईजना मात्र इतर समूहबाट मनोनीत भएका थिए । पौडेल महाधिवेशनमा सभापति देउवाको प्यानलबाट महामन्त्रीका उम्मेदवार थिए ।
इतरले पाएन आफ्नै मत, इतरका नौ मत देउवाको पोल्टामा
निर्वाचनमा इतर समूहले आफ्नै समूहको मत पनि जोगाउन सकेन । इतरले आफूप्रति प्रतिबद्ध भोट ३२ तथा महामन्त्री शर्मा र प्रदीप पौडेल थपिँदा ३४ मत पुग्ने अपेक्षा गरेको थियो । यसबाहेक संस्थापनबाट आफ्नो पक्षमा ६ भोटसम्म आउने आकलन गरेको थियो । तर, मतदानका क्रममा इतरले निश्चित मानेको नौ मत पनि सभापति देउवाको पोल्टामा पर्यो ।
महामन्त्री शर्मा र पौडेल गगनको समर्थकका रूपमा उभिएपछि उत्साहित बनेको यो समूहले संस्थापन मतसमेत प्रभावित गर्न सकिने अनुमान लगाएको थियो । तर, निर्वाचन परिणामपछि इतरमा यो विषयले शंकाको अवस्था सिर्जना गरेको छ । एक केन्द्रीय सदस्यका अनुसार इतरले यसबारे सूक्ष्म रूपमा समीक्षा गरिरहेको छ ।
संस्थापनले प्रलोभनमा पारेर आफ्नो पक्षको मत प्रभावित गरेको इतरको आशंका छ । एक सांसदका अनुसार प्रारम्भिक समीक्षामा महाधिवेशनअघि इतर समूहको नेतृत्व गरेका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग समानान्तर सम्बन्ध राख्दै आएका केही सांसद र अन्य केहीले मत नहालेको अनुमान लगाइएको छ । ‘पौडेलसँग समानान्तर सम्बन्ध राख्दै आउनुभएका नेताहरूले वरिष्ठ नेता पौडेलले सभापतिलाई समर्थन गरेपछि उतै मत दिएको अनुमान छ । साथीहरू प्रलोभनमा पर्नुभएको आशंका पनि छ । हामी सूक्ष्म रूपमा समीक्षा गरिरहेका छौँ,’ ती सांसदले नयाँ पत्रिकासँग भने ।
दलको निर्वाचन इतिहासमा देउवाको सर्वाधिक मत, गगनको सबैभन्दा कम मत
कांग्रेस संसदीय दलको नेताको निर्वाचन इतिहासमा गगनले सबैभन्दा कम मत पाए भने देउवा सबैभन्दा बढी मत पाउनेमा देखिए । कांग्रेसमा ०५६ बाट संसदीय दलको नेता चुन्ने परम्परा सुरु भएको देखिन्छ । त्यसयताका ६ निर्वाचनलाई हेर्दा ०५६ मा गिरिजाप्रसाद कोइराला र देउवा मैदानमा हुँदा कोइरालाले ६२ मत आफ्नो पक्षमा पारेर बाजी मारेका थिए ।
०५८ मा देउवा र सुशील कोइरालाबीच प्रतिस्पर्धा हुँदा देउवाले ६४ प्रतिशत मत ल्याएर जितेका थिए । ०६५ मा रामचन्द्र पौडेल र देउवा प्रतिस्पर्धामा रहँदा पौडेल ५५ प्रतिशत मत ल्याएर निर्वाचित भएका थिए । ०७० मा सुशील कोइराला र देउवा प्रतिस्पर्धामा हुँदा कोइरालाले ५४ प्रतिशत मत ल्याएर संसदीय दलको नेतृत्व गरेका थिए ।
०७४ मा देउवा र प्रकाशमान सिंह आमनेसामने भएका थिए । त्यसवेला देउवा ६९ प्रतिशत मत ल्याएर संसदीय दलको नेता चुनिएका थिए । यसपटक संसदीय दलमा देउवाको पक्षमा हालसम्मकै बढी ७१.९१ प्रतिशत मत आयो भने गगनले कम मत पाउने अवस्था आयोे ।
मोबाइलको लफडा
निर्वाचन समितिले बिहान ८ बजेदेखि १० बजेसम्म निर्वाचनको समय तोकेको थियो । तर, मतदानस्थलमा मोबाइल लान पाउने–नपाउने विषयमा निर्वाचन समितिमा विवाद देखिएको थियो । यही विषयले ८ बजे निर्धारित निर्वाचन सुरु हुन सकिरहेको थिएन । निर्वाचन समितिमा रहेका संस्थापन समूहनिकट संयोजक सहमहामन्त्री भीष्मराज आङ्देम्बे र सदस्य पुष्पा भुसाल मोबाइल प्रतिबन्ध गर्न नहुने पक्षमा थिए भने इतर समूहनिकट समिति सदस्य प्रकाश रसाइली स्नेही मोबाइल रोक्नुपर्ने अडानमा थिए । ‘सांसदहरूलाई यति साह्रो पनि अविश्वास गर्नुहुन्न’ भन्नेमा दुई सदस्य थिए भने स्नेही मोबाइल लान दिनुहुन्न भन्नेमा नै देखिए । यही कारण ४५ मिनेटसम्म मतदान सुरु हुन पाएन ।
अन्तमा मतदानमा मोबाइल लान नपाउने सहमतिपछि पौने नौ बजेबाट मतदान सुरु गरिएको थियो । मतदानको सुरुवात दुई उम्मेदवारको मतदानसँगै अगाडि बढेको थियो । तर, मतदानको बीचमा संस्थापन समूहका सांसदहरू आरजु राणा र मञ्जु खाणले मतदानस्थलमा मोबाइल लान नपाउने सहमतिविपरीत मतदान गरिरहेकाको मतपत्रको तस्बिर खिचेका थिए । यसक्रममा उनीहरूले नौजनाले मतदान गरिरहेको मतपत्रको समेत फोटो आउने गरी तस्बिर लिएको इतर समूहका सांसदको दाबी थियो । यस विषयले केही समय विवादसमेत भएको थियोे । तस्बिर लिएको जानकारीपछि इतर समूहका सहमहामन्त्री जीवन परियारले आपत्ति जनाएका थिए । महामन्त्री थापाले समेत सहमतिविपरीत मोबाइल प्रयोग भएको भन्दै सञ्चारकर्मीसँग गुनासो गरेका थिए । इतर समूहका नेताहरूले यस्ता गतिविधिबाट इतरको मत प्रभावित बनाएकोे आरोपसमेत लगाए ।
अस्पतालबाटै मायाले गरिन् मतदान
निर्वाचनका क्रममा कांग्रेसका ८९ जना सांसदले नै मतदान गरेका थिए । जसमध्ये माया राईले भने ओम अस्पतालबाटै मतदान गरिन् । उनी सुत्केरी भएर अस्पतालमा रहेका कारण निर्वाचन समिति र उम्मेदवारको प्रतिनिधिको रोहवरमा अस्पतालमै मतपत्र लगेर मतदान गरी सिलबन्दी गरेर ल्याइएको थियो । निर्वाचन समिति सदस्य प्रकाश रसाइलीका अनुसार निर्वाचन समितिका तर्फबाट सूर्य भट्टराई र दुवै उम्मेदवारका प्रतिनिधि अस्पतालमा पुगेर मतदानको व्यवस्था मिलाएका थिए । निर्वाचन सुरु भएको करिब एक घन्टामा मतदान सम्पन्न भएको थियो ।