थापा र शर्माको आलोचना- ‘सेलिब्रेटी बन्ने बाटोमा नलाग्नु’

काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मालाई ‘सेलिब्रेटी’ बन्न खोजेको आरोप लगाएका छन् । सोमबारदेखि जारी केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा बोल्ने नेताहरूले महामन्त्रीद्धय थापा र शर्माले धेरै मिडियाबाजी गरेर सेलिब्रेटी बन्न खोजेको आरोप लगाएका छन् । बैठकमा थापा र शर्माको चर्को आलोचना भएको छ ।

केन्द्रीय सदस्य रमेश रिजालले दुवै महामन्त्री पार्टीका काममा भन्दा मिडियो केन्द्रित भएको भन्दै आलोचना गरे । ‘सानो सानो कुरामा फेसबुक र ट्वीटरमा छाउने, घरि कता भेला गर्ने, घरि अन्तरवार्ता दिने । महामन्त्री भनेको नेता हो, यस्ता सेलिब्रेटी बन्ने बाटोमा लाग्नुभएन,’ रिजालले भने, ‘महामन्त्रीहरू प्रचारबाजीतिर मात्रै नलाग्नुहोला ।’

अर्का केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले त महामन्त्रीहरू नसच्चिए बहिष्कार गर्ने चेतावनी दिए । ‘तपाइँहरू हिजो गुटबाट जितेर आउनुभयो होला, अब पार्टीको महामन्त्री हो, महामन्त्री भनेको सबैको नेता हो,’ केन्द्रीय सदस्य बुढाथोकीले भने, ‘केटाकेटीजस्तो जतापायो त्यतै जानुभएन, कहिले गुटको भेलामा, होटलमा, पार्टी प्यालेसमा भेला गरेको छ, कहिले कता कुदेको छ, यसले पार्टीको हित गर्दैन, अब पनि त्यस्ता गतिविधि भए भने हामीले महामन्त्रीलाई बहिष्कार गर्नुपर्ने हुनसक्छ ।’

एक नेताका अनुसार बुढाथोकीको धेरै प्रहार महामन्त्री शर्मातिर केन्द्रित थियो । शर्मा र बुढाथोकी दुवै झापाका हुन् । बैठकमा नेता बुढाथोकीले स्थानीय तह निर्वाचनमा जिल्लामा महामन्त्रीका कारण समस्या भएको आरोप लगाएका थिए ।

केन्द्रीय सदस्य रामजनम चौधरीले महामन्त्रीहरूले नै पार्टी र सरकारको आलोचना गर्दै अन्तरवार्ता दिँदै हिडेको आरोप लगाए । ‘पार्टी बलियो बनाउन लाग्नुपर्ने हो, तर हाम्रो महामन्त्रीहरू टेलिभिजनमा अन्तरवार्ता दिँदै पार्टीकै धेरै आलोचना गरिरहनुभएको छ, यसरी पार्टी कसरी बलियो हुन्छ ?,’ चौधरीको प्रश्न थियो ।

केन्द्रीय सदस्य राजीब ढुंगानाले विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था गर्न माग गर्ने विषयमा महामन्त्रीद्धय थापा र शर्माले स्टण्डबाजी गर्न खोजेको आरोप लगाए । ‘उहाँहरू पार्टीको महामन्त्री हो, त्यो विषय पहिले पार्टीमा छलफल हुनुपर्ने थियो, पार्टीमा छलफल गरेर निर्णय अघि बढ्नुपर्नेमा उहाँहरू व्यक्तिगतरुपमा आयोग पुगेर स्टण्डबाजी गर्नुभएको छ,’ ढुंगानाले प्रश्न गर्दै अघि भने, ‘यसले पार्टीलाई के फाइदा पुग्छ ?’

केन्द्रीय सदस्यहरूले पार्टीभित्र महामन्त्रीहरूप्रति ठूलो आशा र भरोसा रहेको भन्दै त्यसलाई कायम राख्दै पार्टी संगठनलाई मजबुद पार्न तल्लीन हुन सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *