डा. विष्णुमायालाई एसियन अमेरिकी र प्यासिफिक आइल्यान्डर (एएपीआई) आयोगमा मनोनयन

ठमाडौं : अमेरिकाको न्युजर्सी राज्यका गभर्नर फिल मर्फीले सामाजिक अभियन्ता डा. विष्णुमाया परियारलाई एसियन अमेरिकी र प्यासिफिक आइल्यान्डर (एएपीआई) आयोगमा मनोनयन गरेका छन्। परियारसहित २८ जनालाई गभर्नर फिलले मनोनयन गरेका हुन्। यसरी आयोगमा मनोनीत हुने डा. परियार एक मात्र नेपाली रहेको बताइएको छ। मर्फीले सन् २०२१ को नोभेम्बरमा एएपीआई आयोगको स्थापना गरेका थिए। मे महिनालाई एएपीआई सम्पदा महिनाको रूपमा मनाइने र यसै अवसरमा विभिन्न व्यक्तिलाई मनोनयन गरिएको हो। यो आयोगले उक्त राज्यमा एसियन अमेरिकी र प्यासिफिक आइल्यान्डर समुदायको सामाजिक र आर्थिक हक हितको निम्ति नीति निर्माण गर्ने जिम्मेवारी पाएको परियारले बताइन्। उनका अनुसार गभर्नर र राज्य सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने जिम्मेवारी पनि यसलाई दिइएको छ।

विभिन्न व्यक्तिलाई मनोनयन गर्दै गभर्नर मर्फीले एसियन अमेरिकी र प्यासिफिक आइल्यान्डरहरूको जनसंख्या न्युजर्सी राज्यमा अमेरिका भरमा तेस्रो ठूलो संख्या रहेको बताए। यसैकारण राज्यको विविधतामा एएपीआई समुदायको मुख्य भूमिका रहेको उनको भनाइ थियो। जर्सी सिटी सहरको नगर प्रमुख स्टिभन फुलपको विविधता र समावेशी समितिकी पूर्वसल्लाहकारसमेत भइसकेकी डा. परियार हाल जर्सी सिटी सहरको महिला सल्लाहकार तथा रोजगारी र तालिम समितिको सदस्य छिन्। जर्सी सिटी सहरको महिला आयोगको गठन गत जनवरी २६ मा परिषद् सभापति जोयस वाटरम्यानको नेतृत्व र डा. परियारको पहलमा भएको थियो। डा. परियार हाल अमेरिकाको न्युजर्सी राज्यको जर्सी सिटीस्थित केयरपोइन्ट हेल्थअन्तर्गत हड्सन स्पिककी वरिष्ठ कार्यक्रम संयोजकको रूपमा कार्यरत छिन्। हड्सन स्पिक न्युजर्सी राज्यको हड्सन काउन्टीमा यौन हिंसाविरुद्ध गैरसरकारी र सरकारी सहकार्यमा आकस्मिक सहायता प्रदान गर्ने मुख्य संस्था हो।

जर्सी सिटी सहरको नेपालका लागि भगिनी सम्बन्धका लागि इमिसरी (विशेषदूत) डा. परियारको पहलमा सन् २०१९ मा जर्सी सिटी सहर र नेपालको इन्द्रावती गाउँपालिका बीच भगिनी सम्बन्ध कायमसमेत गरिएको थियो। सन् २०१७ मा उनकै नेतृत्वमा जर्सी सिटीको सिटी भवनमा नेपालको झन्डा फहराइएको थियो। डा. परियारको जीवन कहानी विश्वव्यापी कलेज पाठ्यपुस्तकमा प्रकाशित छ। विश्वमै अग्रणी मानिने अमेरिकी प्रकाशक म्याकग्रो हिलले डा. लिसा राइट होफ्नरद्वारा लिखित ‘दि राइटर्स माइन्डसेट’ पुस्तकमा डा. परियारको जीवन संघर्षको कहानी प्रकाशित छ। उनको यो पाठ्यपुस्तकमा समावेश भएको कहानी यसअघि अमेरिकी संघीय सरकारको पिस कोरले आफ्नो वेबसाइटमा पनि प्रकाशन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *