ट्याक्सी चलाएर छोरालाई हार्वर्ड पठाउन सफल आप्रवासी पितालाई लग्यो कोरोनाले

न्यूयोर्क/

सन् १९९१ मा बंगलादेशबाट अमेरिका बसाइँ सरेपछि मोहम्मद जाफोरले बसोबासका लागि रोजेको ठाउँ थियो न्यूयोर्कको ज्याक्सन हाइट्स। ज्याक्सन् हाइट्स जससँग लाखौँ आप्रवासीहरूको अमेरिका कथा जोडिन्छ । कैयन् आए कैयन् छोडेर हिँडे तर ज्याक्सन हाइट्सले आप्रवासीलाई कहिल्यै भो भनेको छैन । बरु कैयन् पटक ह्वाइट हाउस र क्यापिटोललाई प्रतिवाद गरेको छ ज्याक्सन हाइट्सले मौन रुपमा संसारभरका आप्रवासीलाई स्वागत गरेर ।

जाफोरले पनि सपनाको देशमा आफ्ना दिनहरु त्यसै गरि सुरु गरे जुन आम आप्रवासी अमेरिका उत्रिएपछि गर्ने गर्छन् । उनको अमेरिकामा पहिलो काम थियो म्याकडोनाल्ड्समा । बिस्तारै श्रीमती र जेठो छोरालाई अमेरिका भित्र्याउन सफल भए उनी । सन् २००० मा कान्छा महताव जन्मिए । महतावले पिताको स्मरणमा मेडियमसँग भनेका छन्- ‘बुवा साँच्चिकै प्रतिबद्ध ब्यक्ति हुनुहुन्थ्यो र न्यूयोर्कको बंगाली समुदायको गतिविधीमा पनि उहाँ गहिरो लगाव थियो ।’ जब बंगलादेशबाट कोही नयाँ आप्रवासी आउँथ्यो उसले बसोबासको टुङ्गो नगरुन्जेल जाफोरकहाँ बास पाउँथ्यो । आफुकहाँ ठाउँ उपलब्ध नभए साथीभाइकहाँ खोजिदिन्थे ।

परिवारको रासोबासो मिलाएपछि सन् २००० ताका जाफोरले न्यूयोर्कमा ट्याक्सी कुदाउन थाले । साताको छ दिन दैनिक १२ घण्टाको सिफ्टमा ड्राइभिङ गर्थे उनी । सपना थियो ‘परिवारलाई सकेसम्मको उत्तम जीवनशैली दिनु ।’

दुर्भाग्यवश केही बर्ष अघि आन्द्राको क्यान्सरबाट उनकी श्रीमतीको निधन भयो । तीन सन्तानको एक्लो जिम्मेवारी जाफोरको काँधनमा आइलाग्यो । उनले हिम्मत हारेनन् । छोरा छोरीलाई सकेसम्मको उत्तम शिक्षा दिक्षाका लागि खटि रहे । ‘बुबाका लागि सदैव परिवार पहिलो दायित्व थियो, उहाँ यहाँ रहने हामी मात्र होइन बंगलादेशका आफन्तका लागि पनि मरिमेट्नु हुन्थ्यो’ छोरा महतावको भनाइ छ ।

उनलाई शिक्षाको महत्व राम्रोसँग थाहा थियो । त्यसैले छोरा छोरीलाई सानै देखि पढाइमा प्रेरित गरे । अन्ततः महताव हार्वर्ड विश्वविद्यालय भर्ना हुन सफल भए । उनी त्यहाँ इतिहार र अर्थशास्त्र अध्ययन गरि रहेका छन् । सानी वहिनी पनि न्यूयोर्ककै ट्रिनिटी स्कुलकी विद्यार्थी हुन् ।

श्रीमतीको वियोग छोराछोरीको सफलताले भुल्न कोशिष गरि रहेका जाफोरको खुसी धेरै टिक्न पाएन । उनी कोरोना भाइसर (कोभिड १९) को शिकार भए । उनले सकेजति पुर्वतयारी पनि नअपनाएका होइनन् । ट्याक्सीमा पनि मास्क लगाएर मात्र यात्रुलाई सेवा दिन्थे । गत मार्च १४ मा छोरा महताव कलेजबाट घर आए । उनी ड्राइभिङ छोडेर घरमै ‘सेल्फ आइसोलेसन’मा बसे ।

एक साता पछि उनमा ज्वरो, रुघा खोकी देखिन थाल्यो । कोभिन १९ ले सताएको आन्तरिक ठम्याइ गरेपनि स्वास्थ्य अवस्था ठीकै रहको कारण घरकै आइसोलेसन जारी राखे । तर, विस्तारै उनलाई सास फेर्न गाह्रो हुन थाल्यो । गम्भिर भएपछि छोराछोरीले मार्च २६ मा ९११ मा फोन गरि एम्बुलेन्स बोलाए ।

उनलाई मोन्टेफिओर मेडिकल सेन्टर पुर्याउने वित्तिकै भेन्टिलेटरमा राखियो । हाइड्रोक्सिक्लारोक्वाइन लगायत केही औषधी पनि चलाइयो । तर, उनको अवस्था सुधार भएन । अस्पताल पुर्याएपछि परिवारले कुरा गर्न पिन पाएको थिएन । अन्ततः अप्रिल एकमा डाक्टरहरुले उनलाई मृत घोषित गरे । छोराछोरीलाई उन्नत अमेरिकी जीवन दिन जाफोरले गरेको अनवरत संघर्ष ५६ बर्षको उमेरमा सधैंका लागि बिट मर्यो ।

‘सबै क्षण एक सपना जसरी बित्यो, छोरा महताव सम्झन्छन् – बुबाले साँच्चिकै ठूलो संघर्ष गर्नु भएको थियो, जब त्यो मेहनतको प्रतिफल दाजु, म र बहिनीको भविश्यले दिन लागेको थियो उहाँले त्यो नै देख्न पाउनु भएन ।’

महताव र बहिनी सविहाको पढाइ र बाँकी जीवनमा यापनमा सहायताका लागि गोफन्डमीबाट सहयोग संकलन गरिएको छ । शुक्रबार रातीसम्ममा उक्त खातामा तीन लाख ६६ हजार डलर जम्मा भइ सकेको छ । यो रकमले महतावले हार्वर्ड उच्च शिक्षाको खुड्किलो चढ्नेछन् भने सविहा हाइस्कुल सकेर कुनै राम्रो कलेजमा भर्ना हुनेछिन् । तर, दुर्भाग्य उनीहरुले यो खुड्किलो चढेको हेर्न जाफोर भने कहिल्य उपस्थित हुन पाउनेछैनन् ।

तश्वीर- स्वर्गीय बुबा आमाको साथमा महताव (बायाँ) र बहिनी 

(मेडियन र सिएनएनको सहयोगमा) from vishwonews 

Leave a Reply

Your email address will not be published.