टिकट वितरणमा सम्मानजनक ढंगले व्यवहार नगरे प्रतिकार गर्ने: शेखर कोइराला

काठमाडौँ — नेपाली कांग्रेसमा संस्थापन पक्षले टिकट वितरणमा एकलौटी गर्ने प्रयास गरेको भन्दै नेता शेखर कोइराला पक्षका नेताले खबरदारी गरेका छन् । कोइराला समूहले दबाबस्वरुप शनिबार काठमाडौंको एक होटेलमा खबरदारी सभा गरेको हो । सभापति देउवाले प्रतिस्पर्धी समूहलाई टिकट वितरणमा सम्मानजनक ढंगले व्यवहार नगरे प्रतिकार गर्ने भन्दै नेताले चुनौती दिएका छन् ।

खबरदारी गर्ने कार्यक्रममा नेता कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे लगायत नेताहरू भने देखिएनन् ।

केन्द्रीय सदस्यहरू प्रकाश स्नेही, अजयबाबु सिवाकोटी र प्रतिमा गौतम लगायत टिकटका दाबेदार नेताहरूमात्रै सभामा थिए ।

खबरदारी सभामा प्रदेश १ सभापतिका प्रत्यासी नेता गुरुराज घिमिरे, वाग्मती प्रदेश सभापतिका प्रत्यासी नेता जगदीश्वरनरसिंह केसी, कर्णाली प्रदेश सभापतिका प्रत्यासी भुपेन्द्रजंग शाही, वाग्मती प्रदेशका उपसभापति मोहनबहादुर बस्नेत, नेता मनोजमणि आचार्यलगायत नेताहरूले सम्बोधन गरेका छन् ।

खबरदारी सभामा बोल्ने नेताहरूले समानुपातिक सूचीमा उम्मेदवार छनोट गर्दा सभापति देउवाले एकलौटी गरेको भन्दै अब प्रत्यक्षतर्फ उम्मेदवार छनोटमा समेत त्यस्तै प्रवृत्ति दोहोर्‍याए विद्रोह गर्ने चेतावनी दिएका छन् ।

उनीहरूले न्यायोचितरुपमा टिकट वितरण हुनुपर्ने, नभए कांग्रेसभित्रको सिट बाँडफाँटमा ४० प्रतिशत भाग दिनुपर्ने, पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनुपर्ने जस्ता मागहरू अघि सारेका छन् ।

नेता जगदीश्वरनरसिंह केसीले सभापति देउवाले आफैंले गरेको प्रतिवद्धताविपरीत पार्टीभित्रका प्रतिस्पर्धीलाई पाखा लगाएर अघि बढ्न चाहेको देखिएको आरोप लगाए ।

‘सभापतिजीले महाधिवेशनपछि अघिल्लो कार्यकालमा जे भयो, यो कार्यकालमा म दोहोर्‍याउने छैन, म सबैलाई समेटेर अघि बढ्छु भनेर प्रतिबद्धता जनाउनुभएकै हो, तर अहिले पार्टीभित्र व्यवहारमा त्यो देखिएन,’ सभामा बोल्दै केसीले भने, ‘त्यहीकारण हामीले यो खबरदारी सभा गरेका हौँ, हामीले न्याय मागेका हौँ ।’

नेताहरूले पार्टीमा लामो समयसम्म क्रियाशील भएर संगठन गरेका नेता कार्यकर्ताहरूलाई समेत फरक गुट भएकै कारण टिकट नदिने गरी व्यवहार गरिरहेको आरोप लगाएका छन् ।

नेता केसीले सभापति देउवाले पार्टीभित्रको व्यवस्थापन भन्दा गठबन्धनको व्यवस्थापनमा जोड दिएको बताए । ‘अहिले पार्टीले एक्लै चुनाव लडेपनि संगठन थप बलियो हुन अवस्था छ । तर, सभापतिजी अन्य दलसँग तालमेल गर्न तयार हुनुहुन्छ । अन्य दललाई सम्मान गर्न, भागबण्डा गर्न दिनहुँ छलफल चलिरहेको छ, तर पार्टीभित्रैको व्यवस्थापनमा उहाँको चासो देखिएको छैन,’ उनले भनेका छन्, ‘गठबन्धन गर्ने नाउँमा पार्टीभित्रैको प्रतिस्पर्धीलाई पाखा लगाउने गरी सिट बाँडफाँट भइरहेको छ ।’ उनले सभापतिले आफूहरूको कुरा सून्ने समयसमेत नदिएको गुनासो गरे ।

नेताहरूले पार्टीभित्र सबै पक्षलाई सम्मानजनक ढंगले टिकट वितरण नगरे पार्टीभित्रै विद्रोह हुने र त्यसले चुनावी परिणामलाई असर गर्नेतर्फ ध्यान पुर्‍याउन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *