बिटक्वाइन आफ्नो बजारमूल्यको करिब ३५ प्रतिशत जलवायु क्षतिका लागि जिम्मेवार छ । एक बिटक्वाइनको जति मूल्य पर्छ, त्योभन्दा बढी क्षति प्रत्येक बिटक्वाइनको माइनिङले जलवायुलाई पुर्याउँछ । बिटक्वाइन एक्सचेन्ज एफटिएक्स टाट पल्टिएसँगै क्रिप्टो बजार खस्किँदै गइरहेको छ । आम क्रिप्टो लगानीकर्ताको ६०–७० प्रतिशत पुँजी चौपट भएको छ । बजार यो अवस्थाबाट गुज्रिरहँदा लगानीकर्तामा क्रिप्टोकरेन्सीप्रति भयको वातावरण सिर्जना भएको छ ।
क्रिप्टोकरेन्सीबारे पछिल्लो समय भएको एउटा अध्ययनअनुसार एकातिर बिटक्वाइन सस्तो मूल्यमा पाइएको छ भने अर्कातिर जलवायुका लागि यो महँगो साबितसमेत भइरहेको छ । नेचर नामक पत्रिकामा प्रकाशित रिसर्चलाई आधार मान्ने हो भने बिटक्वाइनको माइनिङ प्रक्रिया चल्दा प्रतिबिटक्वाइनको मूल्यभन्दा बढी क्षति भइरहेको छ ।
दिनप्रतिदिनको बिटक्वाइन माइनिङ हाम्रो जलवायुका लागि घातक बन्दै गइरहेको छ । खासमा बिटक्वाइन मानइनिङमा प्रुफ अफ वर्कको सिद्धान्तको मुख्य भूमिका छ । अझै स्पष्ट रूपमा भन्नुपर्दा यो सिद्धान्तअन्तर्गत डिजिटल लक्ड या एनक्रिप्टेड प्रमाणमार्फत एउटा पक्षले दोस्रो पक्षलाई आफ्नो विश्वसनीयता साबित गर्छ । डिजिटल एनक्रिप्सन–डिक्रिप्सन र लकिङ वा अनलकिङ प्रक्रियामा र माइनिङको विश्वसनीयता सिद्ध गर्न राम्रैसँग विद्युत् प्रयोग हुन्छ । विद्युत् अर्थात् उत्सर्जन । न्यु मेक्सिको विश्वविद्यालयका शोधकर्ताद्वारा लेखिएको रिपोर्टअनुसार उत्पादनका रूपमा कुरा गर्दा बिटक्वाइनको जलवायु प्रभाव तेल उत्पादनभन्दा बढी हुन्छ ।
‘इकोनोमिक इस्टिमेसन अफ बिटक्वाइन माइनिंग्स क्लाइमेट ड्यामेजेज डेमोन्स्ट्रेट्स क्लोजर रिजेम्ब्लेन्स टु डिजिटल क्रुड देन डिजिटल गोल्ड’को रिपोर्टमा भनिएको छ, ‘बिटक्वाइन माइनिङ समयसँगै दीर्घकालीन पनि छ भनेर सिद्ध गर्ने अहिलेसम्म कुनै पनि प्रमाण हात लागेको छैन । हाम्रो शोधको नतिजाले ठीक उल्टो संकेत दिइरहेको छ । वास्तविकतामा बिटक्वाइन माइनिङ समयसँगै जलवायुका लागि बढी हानिकार हुँदै छ । सीधा भाषामा भन्दा बिटक्वाइनको वातावरणीय पदचिह्न गलत दिशामा अगाडि बढिरहेको छ ।’
बिटक्वाइन माइनिङ समयसँगै दीर्घकालीन पनि छ भनेर सिद्ध गर्ने अहिलेसम्म कुनै पनि प्रमाण हात लागेको छैन । हाम्रो शोधको नतिजाले ठीक उल्टो संकेत दिइरहेको छ । वास्तविकतामा बिटक्वाइन माइनिङ समयसँगै जलवायुका लागि बढी हानिकारक हुँदै छ ।
जोन्स तथा उनका सहयोगी रोबर्ट बेरेन्स र एन्ड्र्यु गुडकाइन्डले सन् २०१६ जनवरी र डिसेम्बर २०२१ बीच बिटक्वाइन माइनिङबाट जलवायु क्षतिको आर्थिक अनुमानमा नजर लगाउँदा सन् २०२० मा बिटक्वाइनका लागि ७५.४ टेरावाट प्रतिघन्टा विद्युत् प्रयोग गरेको पाए । यो तथ्यांकलाई गम्भीर रूपमा बुझ्न वैज्ञानिकहरू अस्ट्रिया र पोर्चुगलको कुल विद्युत् खपतको उदाहरण दिन्छन्, जहाँ पूरै अस्ट्रियामा सोही वर्ष ६९.९ टेरावाट विद्युत् खपत भयो । यस्तै, पोर्चुगलमा भने ४८.४ टेरावाट खपत भयो ।
जोन्स भन्छन्, ‘वैश्विक रूपमा बिटक्वाइनले माइनिङ होस् वा उत्पादन, विद्युत्को भरपूर प्रयोग गरेको छ । धेरैजसो फोसिल फ्युल (जीवाश्म इन्धन) कोइला र प्राकृतिक ग्यासबाट उत्पन्न भएको विद्युत् हो । यसले ठूलो मात्रामा वायु प्रदूषण र कार्बन उत्सर्जन गरिरहेको छ भने हाम्रो वैश्विक जलवायु र हाम्रो स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पारिरहेको छ ।’
जोन्सका अनुसार सन् २०१६–०२१ बीच बिटक्वाइन माइनिङ बिटक्वाइनको मूल्यको तुलनामा जलवायुका लागि मौद्रिक रूपमा अधिक हानिकारक छ । उनले दीर्घकालीन नीतिका तीन मापदण्ड रहेको औँल्याउँदै बिटक्वाइनको जलवायु क्षति आकलन गरे । उक्त तीन मापदण्ड, अनुमानित जलवायु क्षति समयक्रमसँगै अगाडि बढिरहेको, यसको क्षति बजारमूल्यभन्दा बढी रहेको र वस्तुको तुलनामा बजारमूल्यको हिस्साका रूपमा जलवायुलाई कसरी हानि पुर्याउँछ भन्ने हुन् ।
वैज्ञानिकहरूले बिटक्वाइन माइनिङका लागि प्रयोग भएको विद्युत्मार्फत हुने उत्सर्जन सन् २०१६ देखि २०२१ बीच आश्चर्यजनक वृद्धि भएको पाए । सन् २०१६ मा प्रतिबिटक्वाइन ०.९ टन कार्बन उत्सर्जन थियो । तर, सन् २०२१ मा बढेर प्रतिबिटक्वाइन ११३ टन पुग्यो । जलवायुमा यसको मूल्यको कुा गर्दा सन् २०२१ मा एक बिटक्वाइनको खोजमा जलवायुलाई औसत ११ हजार डलर क्षति पुगेको वैज्ञानिकले पाए ।
वैश्विक रूपमा यो क्षति १२ अर्ब डलरको थियो । यो क्षतिको मूल्य सन् २०२० मा बिटक्वाइन मूल्यको १५६ प्रतिशत पुगेको थियो । यसको अर्थ बिटक्वाइनको मूल्यको प्रत्येक डलरमा जलवायुलाई १.५६ डलरको क्षति भइरहेको थियो । यो डरलाग्दो तथ्यांक पाएपछि शोधकर्ताले बिटक्वाइनको प्रुफ अफ वर्क माइनिङमा नियामकीय लगाम लगाउन जरुरी रहेको सुझाव दिए ।
बिटक्वाइनबाट भएको जलवायु क्षति सन् २०१६–२०२१ बीच त्यसको बजारमूल्यको औसत ३५ प्रतिशत थियो । त्यतिवेला यस्तो क्षति प्राकृतिक ग्यास ४६ प्रतिशत र कच्चा तेलद्वारा उत्पादित ग्यासोलिनको विषयमा ४१ प्रतिशत थियो । तर, बिफ उत्पादनमा यो क्षति बिटक्वाइनद्वारा भएको क्षतिभन्दा कम ३३ प्रतिशत थियो । प्रायः बिटक्वाइनलाई डिजिटल गोल्ड भनिन्छ । तर, स्मरण गर्नुपर्ने विषय, सुन उत्पादनमा सन् २०१६ देखि २०२१ बीच जलवायु क्षति त्यसको बजारमूल्यको चार प्रतिशत मात्र थियो । डिसेम्बर २०२१ मा बिटक्वाइनको मार्केट क्यापिटलाइजेसन लगभग नौ खर्ब ६० अर्ब अमेरिकी डलर थियो । यो पूरै क्रिप्टोकरेन्सी बजारमा यसको करिब ४१ प्रतिशत हिस्सेदारी थियो ।