जर्जियाका दुई सिनेटर डेमोक्र्याटिक पार्टीको पोल्टामा, सिनेटमा ह्यारिसको भोट निर्णायक

अमेरिकाको माथिल्लो सदन सिनेटमा पनि डेमोक्र्याटिक पार्टीले बहुमत बनाएको छ।

मंगलबार भएको जर्जिया राज्यका दुई सिनेटको पुन: निर्वाचन डेमोक्र्याटिकका उम्मेदवार विजयी भएपछि सिनेटमा डेमोक्र्याटिक सिनेटरको संख्या ५० पुगेको हो। मंगलबारको चुनावमा डेमोक्र्याटिक उम्मेदवारहरू राफायल वार्नक र जोन ओसफले रिपब्लिकन पार्टीका बहालवाला सिनेटरलाई हराएका हुन्।  जर्जियाबाट सिनेटर निर्वाचित हुने वार्नक काला जातिका पहिलो व्यक्ति हुन्।

जर्जियाको जितसँगै डेमोक्र्याटिक राष्ट्रपति जो बाइडेनले आफ्ना नीति र कार्यक्रम रिपब्लिकनको सहायताबिनै लागू गर्न सक्ने भएका छन्।

सिनेटमा दुबै पक्षको ५०-५० संख्या भएमा उपराष्ट्रपतिले निर्णायक मतदान गर्न पाउने व्यवस्था छ। उपराष्ट्रपति सिनेटको सभापतिको भूमिका हुन्छन्।

कुनै प्रस्तावमा बराबर मत आएको अवस्थामा उपराष्ट्रपति कमला ह्यारिसले बाइडेन प्रशासनको प्रस्तावका पक्षमा मतदान गरेर सदनबाट पास गराउन सक्छन्।

गत नोभेम्बरमा भएको चुनावमा कुनै पनि पार्टीका उम्मेद्वार ५० प्रतिशत मत ल्याउन नसकेपछि जर्जियामा मंगलबार फेरि चुनाव भएको हो। जर्जियाको कानुनअनुसार सिनेटर निर्वाचित हुन खसेको मतको ५० प्रतिशत कटाउनै पर्छ।

दक्षिणी राज्य जर्जियामा सन् १९९२ पछि पहिलो पटक डेमोक्र्याटिक पार्टीका राष्ट्रपति उम्मेदवारले जितेका हुन्।

बाइडेनले जनवरी २० मा राष्ट्रपतिको पद सम्हाल्दै छन्। जलवायू परिवर्तन, आप्रवासी आगमन र पूर्वाधार निर्माणमा बाइडेनले ट्रम्प प्रशासनभन्दा फरक तरिकाले काम गर्ने बताएका छन्।

उनले जलवायू परिवर्तनको असर वास्तविक भएको र अमेरिकी आप्रवासीका लागि खुला हुनुपर्ने आवाज उठाउँदै आएका छन्।

तल्लो सदनमा डेमोक्र्याटिक पार्टीले नोभेम्बरको चुनावबाट यसअघिको बहुमतलाई कायम राखेको थियो। यद्यपी उसको सिट भने अघिल्लो पटकभन्दा यसपालि घटेको छ।

 

राजधानी वासिगंटन डिसीस्थित क्यापिटल हिलमा गत ३ नोभेम्वरमा सम्पन्न राष्ट्रपतीय निर्वाचनको मतपरिणामलाई लिएर ट्रम्प समर्थकहरूले उग्र प्रदर्शन गरेका हुन ।
संसद भवन कब्जामा लिनेखालका प्रयासका साथै डिसी क्षेत्रको सुरक्षास्थिति खलबल्याउने कार्य भएको भन्दै स्थानीय प्रशासनले अहिले सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ भने संसदहरूलाई सुरक्षित स्थानमा राखिएको छ ।
प्रदर्शनकारीहरूले संसद भवनभित्र तेस्रो तलासम्म पुगेर सांसदहरूले प्रयोग गर्ने मेचकुर्सी लगायतका सामाग्री यत्रतत्र गरेको दृश्य स्थानीय संचारमाध्यमहरूले सार्वजनिक गरेका छन् ।
नयॉ राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई अमेरिकी संसदको दुवै सदनले आज संयुक्त रूपमा संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिको रूपमा घोषणा गर्ने नियमित कार्यतालिका थियो ।
तीन दिनअघि नव निर्वाचित सांसदहरूले कार्यभार ग्रहण गरेपछि सुरू भएको संसदको संयुक्त बैठकले बाइडेनलाई राष्ट्रपतिमा निर्वाचित भएको आधिकारिक घोषणा गर्ने तयारी गरिरहेको अवस्थामा ठूलो संख्यामा प्रदर्शनकारीहरूको समूह सुरक्षाघेरा तोडेर एक्कासी संसद भवनभित्र प्रवेश गरेपछि परिस्थिति स्थानीय प्रहरीको कावुवाहिर पुगेको विभिन्न संचार माध्यमहरूले उल्लेख गरेका छन् ।
संसद भवन परिसर र डिसी सहरको सुरक्षास्थितिलाई ध्यानमा राखेर अहिले सेनासहितको थप सुरक्षा बल परिचालन गरिएको कुरा राष्ट्रपति ट्रम्पका एक जना प्रेस सल्लाहकारले उल्लेख गरेका छन् ।
यद्यपि राष्ट्रपति ट्रम्पले अहिलेसम्म आफ्नो हारलाई स्वीकार गरेका छैनन् । उनले विभिन्न बखेडा झिकेर नव निर्वाचित राष्ट्रपति जो बाइडेनलाई आगामी जनवरी २० मा हुने सपथ ग्रहण समारोह अघि अनेकन झमेलामा पार्न गरिरहेका प्रयास स्वरूप नै संसद भवन जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमा यस किसिमको हर्कत भएको र यसले अमेरिकाको प्रजातान्त्रिक इतिहासलाई नै असर गर्ने कतिपय राजनीतिक विश्लेषकहरूले अर्थाइरहेका छन् ।
यसैबीच नव निर्वाचित राष्ट्रपति जो बाइडेनले ट्रम्प समर्थकहरूले संसद भवनभित्र गरेको उपद्रोलाई अमेरिकी संसदमाथिको हमलाको संज्ञा दिएका छन् । उता जर्जियाको आज सार्वजनिक मतपरिणाम अनुसार सिनेटका दुवै सिटमा डेमोक्रेटिक उम्मेदवार विजयी भएपछि अब संसदको दुवै सदनमा डेमोक्रेटिक पार्टीको बहुमत कायम भएको छ । अब बाइडेनलाई आफ्ना नीति र भिजन पारित गर्न संसदमा कुनै अवरोधको सामना गर्नुपर्ने छैन ।
यता जबरजस्ती संसद भवन प्रवेशगरेको अराजक भीडलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीको गोली लागेर एक जना महिला प्रदर्शनकारीको मृत्यु भएको र केही संख्यामा प्रदर्शनकारीहरू घाइते भएको एनबीसी न्युजले जनाएको छ । सुरक्षाफौजले कयौंलाई पक्राउ समेत गरेको छ भने हिंसात्मक घटना हुन नदिन देशभर सुरक्षा सतर्कता बढाइएको छ ।

Leave a Reply

Your email address will not be published.