चीन र भारतसँग लिपुलेकबारे उच्चस्तरीय संवाद गर : कांग्रेस

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका नेपाली भूमि उच्च स्तरीय कुटनैतिक पहलमार्फत रक्षा गर्न सरकारसँग माग गरेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गर्दै दुबै छिमेकी मुलुक भारत र चीनसंग संवाद गर्न पनि आग्रह गरेका छन्।

‘दुबै छिमेकी मित्र राष्ट्रसंग ‘प्रष्ट धारणा र ऐतिहासिक तथ्यका आधारमा दीर्घकालीन समाधान’ नेपालको अहिलेको परिपक्व रणनीति हुनुपर्दछ,’ कांग्रेसले भनेको छ,‘ सामान्य वक्तव्य वा सामान्य नोट जारी गरेर नेपाल सरकारको दायित्व पूरा हुन्न। अतः दीर्घकालीन समाधानका लागि सुस्पष्ट ढंगले उच्च स्तरीय कुटनैतिक पहल गर्न नेपाल सरकारलाई फेरि पनि आग्रह गर्दछ।’ सन् १८१६ को सुगौली सन्धीले नेपालको पश्चिमी सिमाना महाकाली नदी किटान गरेको ऐतिहासिक तथ्यनै विद्यमान प्रकरण समाधानको मुल आधार भएको कांग्रेसले जनाएको छ। ‘महाकाली नदी पूर्वको भू–भाग कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने र लिपुलेक एवं लिम्पियाधुरासम्मको नेपाली भूमिमा नेपालको अविच्छिन्न अधिकार निर्वाध रहनु पर्ने धारणा आजको मितिमा पुनः दोहोर्‍याउन चाहन्छौं,’ कांग्रेसले भनेको छ,‘नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण, नेपालको स्वाधीनता माथिको ठाडो हस्तक्षेप हामीलाई अस्वीकार्य छ।’

भारतको पिथौरागढ हुँदै नेपालको लिपुलेक भएर चीनको मानसरोवर जोड्ने सडकको पृष्ठभूमिमा सन् २०१५ मे महिनाको भारत–चीन सहमति र कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वको सरकारले त्यो सहमतिप्रति कडा विरोध जनाएको कांग्रेसले स्मरण गराएको छ। ‘दुबै देशलाई पठाएको ‘प्रोटेस्ट नोट’ स्मरण गर्दै यो बिषयमा दुबै राष्ट्रसंग नेपालले गहन संवाद गर्न अत्यावश्यक रहेको औंल्याउन चाहन्छौं,’ कांग्रेसले भनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *