चीन, रुस र उत्तर कोरियाका गुप्तचरको निसाना बन्दैछ बाइडेनको यो बैठक

सामूहिक बैठकमा सहभागी भएका विभिन्न मुलुकका राष्ट्रपति र प्रधानमन्त्रीहरुले आपसमा के कुरा गर्छन्, भित्तामा बस्ने झिँगाबाहेक कसैलाई थाहा हुँदैन। आगामी क्वाड शिखर बैठकको छलफलको विषय भने सम्भवतः ह्याकरहरुले थाहा पाउनेछन्।

शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनले जापानी प्रधानमन्त्री योसिहिदे सुगा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनसँग भर्चुअल बैठक गर्दैछन्। यी चार मुलुकको समूहलाई केहीले चीनविरुद्धको सुरक्षा गठबन्धन मान्छन्। त्यसैले सो बैठक चिनियाँ, उत्तर कोरियाली र रुसी साइबर गुप्तचरीको निसाना बन्ने निश्चित छ।

बाइडेनकी प्रेस सेक्रेटरी जेन सकीले क्वाड शीर्ष बैठकमा नेताहरुले कोभिडको खतरा, आर्थिक सहकार्य र जलवायु संकटबारे छलफल गर्ने बताएकी छन्। तर, क्वाडका नेताहरुले यी तीन विषयमा मात्रै छलफल गर्ने हो भने जासुसहरु टाढै बस्न सक्छन्। किनभने त्यसको गुप्तचरी महत्व निकै कम हुनेछ।

कोभिड–१९ महामारी, व्यापार र जलवायु परिवर्तन सबै महत्वपूर्ण मुद्दा हुन्। तर, यी इन्डो–प्यासिफिकसम्बन्धी मुद्दा होइनन्। यी मुद्दालाई अघि बढाउन उच्चस्तरीय सहकार्य आवश्यक पर्दैन। इन्डो–प्यासिफिक क्षेत्रलाई असर गर्ने एक मात्र मुद्दा समुद्री सुरक्षा हो। इन्डो–प्यासिफिकको एकीकरणलाई चीन, उत्तर कोरिया र रुसबाट खतरा छ। त्यसैले क्वाडलाई क्वाड बनाउने एक मात्र मुद्दा भनेकै इन्डो–प्यासिफिक समुद्री सुरक्षा हो।

सन् २००७ मा अस्ट्रेलिया, जापान, भारत र अमेरिकाबीच चौपक्षीय पहल सुरु भएको थियो। त्यसैको पुनर्जीवित रुप हो चौपक्षीय सुरक्षा संवाद अर्थात् क्वाड। तत्कालीन जापानी प्रधानमन्त्री सिन्जो आबेको ‘ब्रेनचाइल्ड’ मानिने क्वाडको अवधारणा त्यसबेला ६ महिनाभन्दा बढी टिकेन। किनभने स्वास्थ्यका कारणले आबेले पदबाट राजीनामा दिए। अर्कातिर, अस्ट्रेलियाका तत्कालीन प्रधानमन्त्री जोन हावर्ड चुनावमा पराजित भएपछि क्वाडको अन्त्येष्टि भयो। अर्को वर्ष अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसको कार्यकाल समाप्त भएपछि त क्वाड ब्युँतिने सम्भावना पनि सकियो।

पहिलो क्वाडमा सहभागीहरुले अस्पष्ट रुपमा क्षेत्रीय सुरक्षाको कुरा उठाएका थिए। उनीहरुले एक पटक संयुक्त नौसैनिक अभ्यास पनि गरेका थिए। तर, चार मुलुकको यो समूहले के गर्ने भन्ने स्पष्ट दृष्टिकोण उनीहरुले अघि सारेनन्।

सन् २०१७ मा क्वाडलाई पुनः ब्युँताउँदा भने यसका उदेश्यहरु पहिलेभन्दा धेरै स्पष्ट थिए। ‘इन्डो–प्यासिफिकमा नियममा आधारित व्यवस्था कायम गर्दै अन्तर्राष्ट्रिय कानुनको पालन गर्ने, जलयात्रा र उडानको स्वातन्त्रता, कनेक्टिभिटी वृद्धि, आतंकवाद र इन्डो–प्यासिफिकको समुद्री सुरक्षा कायम राख्ने सवालमा उत्पन्न हुने चुनौती सम्बोधन गर्न सहकार्य गर्ने’ उदेश्य राखिएको थियो। एजेन्डामा उत्तर कोरिया पनि थियो।

बारम्बार ‘स्वतन्त्र र खुला इन्डो–प्यासिफिक’को कुरा गरे पनि ट्रम्प प्रशासनले क्वाड सहकार्यलाई कहिल्यै संस्थागत गरेन। डोनाल्ड ट्रम्पले २०२० को चुनाव नहारुन्जेल सो प्रशासनले क्वाडलाई स्थायी मिसन बनाउन पहल गरेन। नोभेम्बरमा मात्रै अन्ततः क्वाडको नौसैनिक अभ्यास भयो। डिसेम्बरमा अमेरिकाले सो क्षेत्रमा नयाँ बेडा कमान्ड बनाउने प्रस्ताव राख्यो। सन् २०१८ को सुरुमै ट्रम्प प्रशासनले यी प्रस्ताव ल्याएको भए उसले बाइडेन प्रशासनलाई इन्डो–प्यासिफिकमा बलियो बहुपक्षीय संस्थागत संयन्त्र हस्तान्तरण गर्ने थियो। तर, ट्रम्पले बाइडेनलाई ब्रान्डको नाम मात्र दिए।

कोरोना, व्यापार र जलवायुका विषयमा क्वाडमा सहकार्य गर्नु गलत होइन। तर, बाइडेनले क्वाड सहकार्यको मुख्य ध्यान समुद्री सुरक्षाबाट हटाएर गैरसैनिक क्षेत्रमा केन्द्रित गरे भने उनले यसलाई नेताहरुको अर्को मञ्चमा मात्र सिमित तुल्याउने छन्। यसले भविष्यका लागि क्वाड सहकार्यको दरिलो जग बसाउने छैन। महामारी विश्वव्यापी मुद्दा हो, यसलाई रोक्न विश्वव्यापी पहल आवश्यक छ। क्वाडका चार मुलुकबीच व्यापारसम्बन्धी साझा मुद्दा एकदमै कम छन्। अर्कोतिर जलवायु बाइडेनको प्रमुख मुद्दा भए पनि सुगा, मोदी र मोरिसनका लागि यो मुख्य मुद्दा होइन।

तर, इन्डो–प्यासिफिकको समुद्री सुरक्षा चारै नेताहरुको प्रमुख नीतिगत एजेन्डामा पर्छ। चीनले आफ्ना तटरक्षक जहाजलाई विदेशी जहाजमा गोली हान्ने अनुमति दिएको छ। त्यसपछि यस्ता चिनियाँ जहाज बारम्बार जापानी जलक्षेत्रमा प्रवेश गर्ने गरेका छन्। हिन्द महासागरमा चिनियाँ सेनाले सर्वेक्षण गरिरहेको पाइएको छ। अस्ट्रेलिया पनि आफ्नो तटबाट मात्र १२० माइल टाढा पपुवा न्यु गिनीमा विशाल चिनियाँ अखडा बन्ने खबरबाट सन्त्रस्त छ।

यी चुनौतीबाट पनि थाहा हुन्छ– चीन युद्धको हदसम्म सैन्य गतिविधि बढाउन इच्छुक छ। स्पष्ट कारण नदिई पनि उसले विपक्षीलाई सताउने गर्छ। ताइवान जलसन्धि वा दक्षिण चीन सागरजस्ता चिनियाँ जलक्षेत्रको नजिकबाट गुज्रिँदा अमेरिकी नौसेनाले पनि यस्तै गतिविधिको सामना गरिरहेको छ। क्वाड मुलुकका नौसेनाले चीनविरुद्ध सहकार्य गर्नुमा उनीहरुको साझा हित छ।

क्वाड चीनसँग युद्धमा कहिल्यै जाने छैन। बरु, गठबन्धन र सैन्य साझेदारीहरु युद्ध रोक्नमा बढी प्रभावकारी हुन्छन्। क्वाडले पनि चीनलाई रोक्न इन्डो–प्यासिफिक समुद्री सुरक्षा सहकार्यका लागि मेरुदण्डको काम गर्न सक्छ। उडान तथा जहाजको व्यवस्थित ट्रयाकिङ, माछा मार्ने व्यवसायको व्यवस्थापन, तस्करी नियन्त्रणजस्ता कामले उत्तर कोरियाको अवैध समुद्री गतिविधिलाई रोक्न पनि सघाउ पुर्‍याउँछ।

इतिहासमा बहुपक्षीय साझेदारी असफल भएका अनेकौँ उदाहरण छन्। किनभने साझेदारीपछि ती मुलुकसँग गर्ने कुनै काम हुँदैन। पहिलो क्वाड त्यसैगरी अन्त्य भएको हो। दोस्रो क्वाड पनि त्यसैगरी अन्त्य हुनु निकै ठूलो लज्जाको विषय हुनेछ। तर, जीवित रहनका लागि क्वाडसँग अर्थपूर्ण काम हुनुपर्छ। जुन अरुभन्दा अलग र सहभागी चारै मुलुकका लागि उपयोगी हुन आवश्यक छ।

(फरेन पोलिसी डटकमबाट। साल्भातोर बबोन्स सिड्नीस्थित सेन्टर फर इन्डिपेन्डेन्ट स्टडिजका अध्येता हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *