चीनबाट मेडिकल सामग्री ल्याइँदै, किट्स ल्हासा आइपुग्यो 

 

 

चीनबाट शनिबार कोभिड–१९ परीक्षण गर्ने किट र पिपिई लगायतका औषधिजन्य सामग्री ल्याइंदै छ । मेडिकल सामग्री लिन नेपाल वायु सेवा निगमको वाइड बडी विमान आज दिउँसो ग्वाङ्जाओका लागि उडेको छ । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले विमान काठमाडौँबाट आजै राति चीनबाट मेडिकल सामग्री लिएर फर्कने बताउनुभयो । कोभिड–१९ परीक्षण गर्ने किट र पीपीइलगायतका करिब ३० टन मेडिकल सामग्री रहने छ । निगमको यो उडानमा चालकदलसहित १० प्राविधिक रहेका छन् । सरकारले कोभिड परीक्षण तथा उपचारका लागि अत्यावश्यक सामग्री चीनबाट ल्याउने यसअघि नै निर्णय गरेको थियो । यसअघि कोभिड–१९ पहिलोपटक फेला परेको चीनको हुवेई प्रान्तको वुहान रहेका नेपालीलाई निगमकै वाइड बडी जहाजले स्वदेश ल्याएको थियो । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले यही चैत ११ देखि १८ गतेसम्म देशभर लकडाउन गरेको छ । यो अवस्थामा आपतकालीन, कार्गो, उद्धारलगायत उडान मात्र हुनेछ ।

किट्स ल्हासा आइपुग्यो
चीनले दिने भनेको कोरोना परीक्षण किट्स ल्हासा आइपुगेको छ । हिजो तातोपानी नाका हुँदैं नेपाल आउने भनिए पनि बेइजिङबाट ढिला उडान भएका कारण ती सामग्री ल्हासा आइपुगेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । दुई हजार थान कोरोना परीक्षण किट्स बेइजिङबाट ल्हासा हुँदै नेपाल आउने तातोपानी भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्रीले जानकारी दिनुभयो । नेपाललाई कोरोना परीक्षणका लागि दिने दुई हजार थान किट्स बोकेर गाडीहरु ल्हासाबाट आज राति अबेर अथवा भोलिसम्म तातोपानी आइपुग्ने प्रमुख खत्रीले बताउनुभयो ।
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनवाट मेडिकल सामग्री ल्याएपछि मात्र कोरोना भाइरस परीक्षणको दायरा बढाइने भएको छ । स्वास्थ्य मन्त्रीका स्वास्थ्य सल्लाहाकार डा. खेम कार्कीले चीनबाट मेडिकलजन्य सामग्री ल्याए पछि मात्र कोरोना परीक्षणको दायरा बढाउने बताउनुभयो । उहाँले मानव शरीरमा कोरोना भाइरस जिन रहे नरहेको पत्ता लगाउने प्रविधि आरटिपिसिआर सुरु गर्ने जानकारी दिनुभयो । आरटिपिसिआरले मानव शरीरवाट लिएको नमुनामा यो भाइरस भए नभएको हेर्ने गर्छ । जसका लागि केमिकल रि एजेन्ट र मसिनको आवश्यकता पर्छ । उक्त मेसिन र आवश्यक सामग्री चीनबाट ल्याए पछि यो प्रविधि देशैभर सुरु गराउने डा.कार्कीले बताउनुभयो । जसका लागि ल्यावमा काम गर्ने स्वास्थ्यक्रर्मीहलाई तालिम समेत दिन सुरु गरिने उहांको भनाइ छ । यता सरकारले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमण परीक्षणका लागि १ सय किट पढाएको जनाएको छ । अस्पतालले आवश्यक तयारी पूरा भएको जनाए पनि परिक्षण भने सुरु गरेको छैन । सरकारले कोरोना भाइरस परीक्षणको दायरा बढाउने भने यस्तो अबस्था देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *