गैरआवासीय नेपालीले ‘राजनीतिकबाहेक सबै अधिकार पाउँछन्’: प्रधानमन्‍त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसारभरका गैरआवासीय नेपालीलाई नेपालमा लगानी भित्र्याउन आह्वान गरेका छन् । नेपालमा अहिले कायम भएको शान्तिपूर्ण र अनुकुल व्यावसायिक वातावरणको सदुपयोग गर्दै वैदेशिक लगानी प्रोत्साहित गर्न र आफैंलेसमेत नेपालमै लगानी गर्न उनले आग्रह गरेका हुन् ।

नयाँ वर्ष २०७८ का अवसरमा जुममार्फत विभिन्‍न देशमा रहेका नेपालीहरुलाई  जुममार्फत सम्बोधन गर्दै यस्तो आह्वान गरेका हुन् । नेपालबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला विज्ञ राजन भट्टराई, अध्यक्ष प्रवासी नेपाली एकता मञ्‍च अध्यक्ष भक्त गुरुङ, नेपालका लागि विभिन्न देशमा कार्यरत राजदुत, गैर आविसीय नेपाल संघका पदाधिकारीहरु सहभागी थिए । बैठकलाई प्रधानमन्त्रीले बालुवाटारबाटै सम्बोधन गरे ।

नेपाली दुतावासका प्रमुखहरू गैर आवासीय नेपाल संघका पदाधिकारहरु र ती देशका नेपाली सँघसस्थाहरुलाइ नयाँ वर्ष २०७८ का अवसरमा नेपाल सरकार र नेपाली जनताका तर्फबाट शुभकामना दिँदै प्रधानमन्त्री ओलीले ठूला आयोजनाका लागि संयुक्त लगानी नेपालमा मै गर्नु उपयोगी हुने सन्देश विदेशीसम्म पुर्‍याउन आग्रह गरे । ‘नेपालमा मजदुर र रोजगारदाता मिलेर समस्या सम्बोधन गरिन्छ र हड्ताल हुने अवस्था छैन भन्ने सन्देश आफूरहेको देशका लगानीकर्ताहरुलाई पुर्‍याइदिनुहोस्’, उनले भने ।

प्रधानमन्त्रीले गैर आवासीय नेपालीले राजनीतिक अधिकारबाहेक सबै हक अधिकार समान ढंगले पाउनेसमेत बताए । ‘तपाईंहरुले विदेशको नागरिकता लिनुभएको छैन भने स्वदेशमा राजनीतिक अधिकारसमेत पाइन्छ‘,’ प्रधानमन्त्रीको भनाइ थियो ।

आफू बसेको देश वा जन्मभूमि नेपालमध्ये कहाँको नागरिकता लिने भन्नेमा छनोट गर्ने अधिकार सम्बन्धित व्यक्तिकै रहेको धारणा पनि उनको थियो । अमेरिकी उपराष्ट्रपति जस्तै आफू पुगेको देशको उच्च ओहोदामा पुग्नसक्ने कुरासम्बन्धी प्रशंगमा प्रधानमन्त्रीले भने, ‘यसतर्फ जाने हो भने पनि शुभकामना छ, त्यसका लागि नेपालीहरुले अवश्य सहयोग पुर्‍याउने छन् ।’

नेपाली जनता देश भित्र वा बाहिर जहाँ भए पनि सरकारले फरक भावनाले नहेर्नसमेत प्रधानमन्त्रीले बताए । ‘वर्तमान सरकार नेपाली डायस्पोराप्रति अत्यन्त प्रेम भाव र सहयोगी भाव राख्छ  र नेपाली हुनुको गौरव कायम रहोस् भन्ने चाहन्छ’, प्रधानमन्त्रीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *