गैंडा मरेपछि बन्छ समिति, तर सुधार न संरक्षण, गैडा मर्ने की मार्ने निकुन्ज कै कर्मचारीको संलग्नता ?

 

कात्तिक मसान्तमा चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा तस्करहरूले खाल्डो खनेर दुई गैंडालाई पासोमा पारेर मारे । तस्करले गैंडाको खाग लगेको उक्त घटनामा सरकारले यसअघिझैं मंसिर १ मा छानबिन समिति गठन गरेको छ ।

कालगतिले होस् वा तस्करले मारेका बेला होस्, सरकारले गैंडा मरेको घटनामा छानबिन समिति बनाइरहेको छ । तर समितिका प्रतिवेदन न कार्यान्वयन हुन्छन्, न त गैंडाको चोरी सिकारीमा नै कमी आएको छ ।

संरक्षणकर्मीका अनुसार प्रत्येक छानबिन समितिले सुझावहरू दिए पनि कार्यान्वयनमा चुक्दा गैंडा प्राकृतिक रूपमा मर्ने र खागको चोरी सिकारी हुने क्रम निरन्तर छ । पछिल्लो घटनामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा छानबिन समिति बनेको छ । जसलाई १० दिनभित्र प्रतिवेदन तयार पार्ने जिम्मा दिइएको छ । संयोजक ढकाल प्रतिवेदन तयार पार्न स्थलगत अध्ययनमा छन् । सरकारले यसअघि उनै ढकालको नेतृत्वमा २०७९ साउन २ मा पनि एउटा समिति बनाएको थियो । त्यतिबेला गैंडाको प्राकृतिक मृत्युका साथै चोरी सिकारी पनि सक्रिय भएको अवस्थाबारे समिति बनाइएको थियो । ‘त्यो बेला बनेको समितिले दिएका सुझाव र सिफारिसहरू के के हुन्, हेर्नका लागि प्रतिवेदन नै फेरि पल्टाउनुपर्ला । अहिले त हामी यही नयाँ घटनाको सत्यतथ्य बुझ्दै छौं,’ ढकालले भने ।

गत वर्ष ढकाल नेतृृत्वको समितिले अध्ययन गरी चितवनबाट फर्केको ६ महिना पुग्दा नपुग्दै माघ ६ मा चितवन निकुञ्जको पश्चिम क्षेत्रमा पर्ने नवलपरासीको मध्यबिन्दु नगरपालिका–२ को नारायणी नदी किनारमा तस्करहरूले करेन्ट लगाएर दुईवटा गैंडा मारी खाग लिएर गए ।

करेन्ट लगाएर गैंडा मार्ने नौलो तरिका सुरु भएपछि संरक्षण क्षेत्रमा चुनौती थपिएको भन्दै सरकारले यसबारे अध्ययन गर्न माघ ११ मा निकुञ्ज विभागका तत्कालीन उपमहानिर्देशक अजय कार्कीको नेतृत्वमा अध्ययन समिति बनाएको थियो । हाल विभागको प्रवक्ता पनि रहेका कार्कीले भने, ‘त्यो बेला घटना हुँदा पूर्वानुमान नगरेको अवस्था थियो । हामीले सुराकी संयन्त्रको प्रयोग बढाउने, समुदायलाई साथ लिएर चोरी सिकार नियन्त्रणमा लाग्ने जस्ता सुझाव दिएका थियौं ।’

उनले तस्करहरूले नयाँ पुराना सबै खाले विधि अपनाएर सिकार गर्न तम्सने कुरा गत वर्षकै घटनाले देखाएको भन्दै चनाखो भएर निकुञ्ज कार्यालयले निगरानी राख्नुपर्ने सुझाव दिएको बताए । प्रायःजसो घटनामा खाग तस्करहरूले सिकारी परिचालन गरेर गैंडा मार्न लगाउने भन्दै उनले गत वर्षको घटनामा सिकारीले गैंडा मारेर खाग बेच्न तस्कर खोज्दै गरेको सुनाए । उनले भने, ‘गैंडा सिकारको तौरतरिका फरक हुँदै गएको घटनाक्रमहरूले देखाएको हुँदा त्यही अनुसारको सजगता बढ्नुपर्ने हुन्छ ।’

यो पटक सिकारीले गैंडा मार्न निकै वर्ष पहिला प्रयोग हुँदै आएको खाल्डोको पासोको सहारा लिएको देखियो । गत वर्ष जस्तै यो पटक पनि गैंडा मरेपछि मात्रै निकुञ्ज प्रशासनले चाल पायो । गत वर्ष चार महिनापछि आरोपित समातिएका थिए । यो पटक पनि मृत गैंडा मात्रै भेटिए, अरू केही फेला परेन ।

चोरी सिकार सक्रिय हुँदा मात्रै हैन, अन्य कारणले गैंडाको मृत्यु अस्वाभाविक रूपमा बढ्दा पनि सरकारले अध्ययन समिति बनाएको विगत छ । आर्थिक वर्ष ०७५/७६ मा चोरी सिकार शून्य भए पनि कालगति र अन्य कारणले वार्षिक रूपमा हालसम्मकै सबैभन्दा धेरै ४३ गैंडा मरे । त्यो घटनापछि सरकारले निकुञ्ज विभागका तत्कालीन उपमहानिर्देशक रामचन्द्र कँडेलको नेतृत्वमा ०७६ सालको फागुनमा अध्ययन समिति बनायो ।

कँडेलको नेतृत्वमा त्योभन्दा अघि ०७५ माघमा पनि समिति बनेको थियो । त्यसपछि स्थानीयस्तरमा ०७७ सालको कात्तिकमा पनि चितवन निकुञ्जले विज्ञ टोली बनाएको थियो । हाल वन मन्त्रालयका सहसचिव कँडेलले भने, ‘हाम्रो समितिले कालगतिले मरेका गैंडाको अध्ययन गर्दै त्यस्ता मृत्यु रोक्न मात्रै हैन, सम्भावित चोरी सिकारीबारे पनि सुझावहरू दिएको थियो ।’

कँडेल नेतृत्वको समितिले बासस्थान सुधार र व्यवस्थापनका साथै सुरक्षा प्रबन्ध र चोरी सिकारीबारे विभिन्न सुझाव दिएको थियो । ‘सुझावहरू केही कार्यान्वयनमा आएका हुन् । अरू के कति आए आएनन्, यसबारे गम्भीर समीक्षा गरौं,’ उनले भने ।

उक्त समितिले निकुञ्जको पश्चिम क्षेत्रमा गैंडाको चाप धेरै बढेको हुँदा पूर्वी क्षेत्रमा आन्तरिक स्थानान्तरण गर्न सुझाव दिएको थियो । समितिले पश्चिमी इलाकाहरू नारायणी नदीको बाढी प्रभावित क्षेत्रमा पर्ने भएकाले ठाउँठाउँमा उच्च स्थान बनाउन पनि सुझाव दिएको थियो । बाढी आए गैंडाहरू अग्लो ठाउँमा गएर बस्ने र नबग्ने भएका कारण समितिले उच्च ढिकहरू बनाउन भनेको थियो । तर निकुञ्जभित्र न अहिलेसम्म यस्ता ढिक नै बनेका छन् न आन्तरिक स्थानान्तरण नै भयो । विभागका प्रवक्ता कार्की भने केही सुझावहरू कार्यान्वयन भएको दाबी गर्छन् । ‘तर शतप्रतिशत कार्यान्वयन हुन सकेका छैनन्,’ उनले भने ।

कार्कीले पूर्वी क्षेत्रमा गैंडा स्थानान्तरण अपरिहार्य रहेको र यसै वर्ष कार्यान्वयन हुने बताए । तर निकुञ्जकै पूर्वी क्षेत्रमा यो पटक चोरी सिकारी पनि सुरु भएको छ । गैंडा गणनाको पछिल्लो नतिजाअनुसार देशभरका राष्ट्रिय वन र निकुञ्ज आरक्षमा ७ सय ५२ गैंडा रहेकोमा चितवन निकुञ्ज र यस आसपासमा मात्रै ६ सय ९४ गैंडा छन् । आर्थिक वर्ष ०७२/७३ मा चितवन निकुञ्जमा विविध कारणले जम्मा १४ गैंडा मरेका थिए । यो संख्या बढ्दै गएर ४३ सम्म पुग्यो । त्यसपछि घट्दै गए पनि गत वर्षसम्म २० भन्दा तल झरेको छैन । यो वर्ष हालसम्म कुल आठ गैंडा मरिसकेका छन् ।

त्यसै गरी आर्थिक वर्ष ०७२/७३ देखि ०७६/७७ अर्थात् पाँच वर्षसम्म चोरी सिकारीले जम्मा एउटा गैंडा मरेको निकुञ्जको तथ्यांक छ । तर आर्थिक वर्ष ०७७/७८ पछि सलबलाएका चोरी सिकारीले त्यसयता साढे तीन वर्ष पुग्दा नपुग्दै ११ वटा गैंडा मरिसकेको निकुञ्जको तथ्यांक छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले गैंडा मारेमा वा यसको अंगको कारोबार या ओसारपसार गरेमा १० लाख रुपैयाँसम्म जरिवाना र १५ वर्षसम्म कैद हुने व्यवस्था गरेको छ ।

गैडा मर्ने क्रम बढी रहँदा निकुन्ज कै कर्मचारीको संलग्नता पटक पटक देखिएको समाचार श्रोतको भनाई छ । त्यसैले बन्ने छानवीन समितिले खासै कुनै काम आधार पैल्याउन सकेको छैन । from ekantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *