गृहको विवादास्पद निर्णयः गृह मन्त्रालय, बच्चा जन्माउने आमाले हो कि मावलीले?

गृह मन्त्रालयको राष्ट्रिय पञ्जीकरण विभागले वडा तहसम्म लागू हुने गरी बुधबार एउटा परिपत्र जारी गर्‍यो।

सो परिपत्रमा तीन वटा कुरा भनिएको छ:

पहिलो, विवाहअघि जन्म भएको तर ‘पितृत्वको ठेगान नभएको’ बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानामा सँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको ठेगानामा जन्मदर्ता गरिदिने।

दोस्रो, विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्मदर्ता गरिदिने।

तेस्रो, प्रकरण नम्बर १ र २ अनुसार जन्मदर्ता भइसकेपछि बाबुको ठेगाना पत्ता लागेको अवस्थामा उक्त जन्मदर्ता नियमानुसार रद्द गरी बाबुको ठेगानाबाट नयाँ जन्मदर्ता दर्ता गरिदिने।

यो परिपत्रले बच्चा जन्मिँदाको बखतको आमाको थर लेख्ने भन्नुको सट्टा मावलीको थर लेख्ने भन्छ। यो प्रसंगमा मावलीको थर भन्नु र आमाको थर भन्नु यहाँ एउटै कुरा हो। तर गृहले परिपत्रमा आमाको थर भनेर लेखेको छैन, मावलीको थर भनेर लेखेको छ। जबकि गृह मन्त्रालयको परिपत्रमा उल्लेख गरिएका माथिका तीन वटै अवस्थामा बच्चा जन्मिँदाको बखत आमाको थर जे थियो त्यही लेख्ने भनियो भने सबै विषयको सम्बोधन हुन्छ।

यो परिपत्रमा आमा शब्दको ठाउँमा दुरासयपूर्वक मावली लेखिएको, बच्चाको जीवनमा आमाको पहिचान र अस्तित्व नै इन्कार गरिएको भन्दै चर्को विरोध भइरहेको छ।

यस्तो दुरासायपूर्ण र समस्याग्रस्त परिपत्र गृह मन्त्रालय अन्तर्गतको विभागले कसरी जारी गर्‍यो?

विभागका निर्देशक नवराज जैसीलाई हामीले सोध्यौं— आमाको थर हुँदाहुँदै त्यसको सट्टा बच्चाको थरमा मावलीको लेख्ने भन्ने सोच तपाईंहरूलाई कसरी आयो? के कारणले आयो?

उनले भने,  ‘हामीले एकल आमाका सन्तानले धेरै दु:ख पाएकाले यो परिपत्र जारी गरेका हौं।’

तपाईंले जारी गरेको परिपत्रमा आमाको थरलाई किन मान्यता नदिएको नि? मावलीको थर लेख्न मिल्ने तर जन्मदिने आमाको थर भनेर लेख्न नमिल्ने, जबकि यी दुवै कुरा एउटै हुन्?

आमाको मात्र पहिचान भएका बच्चाहरूले ठेगाना र थरको अभावमा जन्मदर्ता नपाएर दु:ख पाएकाले यस्तो व्यवस्था ल्याएको उनले बताए।

‘हामीले आमाको थर राख्न नचाहेको होइन। हामीकहाँ बिहेपछि पतिको थर राख्ने चलन छ। पतिकै ठेगानामा बस्ने चलन छ। कुनै महिलाले विवाह नहुँदै बच्चा पाएकी भए बिहेपछि राखेको पतिको थर र ठेगानाले बच्चालाई पहिचान दिन सक्दैनन्। पतिको थर लिएकी आमाले बच्चालाई पहिचान दिलाउन नसकेका समस्या हामीकहाँ आए। त्यसपछि आमाको थर खोज्न त मावलीको थर हेर्न पर्ने हुन्छ। आमा र मावलीको थर एउटै हुने हो भनेर सहजताका लागि यस्तो व्यवस्था ल्याएका हौं,’ उनले भने।

हामीले उनलाई अझै सोध्यौं-  बच्चाको जन्म हुँदाका बखत निजकी आमाको नामथर र ठेगाना जे थियो त्यही लेख्ने भन्नासाथ तपाईंले भनेको विषयको सम्बोधन हुन्न र? आमाको थर भनेर लेख्न तपाईंहरूलाई किन गाह्रो?

निर्देशक जैसीले परिपत्र त सच्याउन सकिने भएकाले आलोचनालाई पनि सुझावको रूपमा लिने बताए।

‘हाम्रो नियत कसैलाई होच्याउने होइन। महिला भनेका केही होइनन् भन्ने मनसाय पनि होइन। खाली बच्चालाई पहिचान दिलाउनुपर्छ भन्ने हाम्रो ध्येय थियो। परिपत्र जारी भएपछि धेरै कमेन्ट आएका छन्। परिपत्रमा भएका भाषा सच्याउने माग आयो र पर्यो भने छलफल गरेर हामीले सच्याउँछौं।’

गएको कात्तिक ७ मा गृहले जारी गरेको परिपत्रमा भने आमाकै थर दिने भनेर प्रष्टसँग लेखिएको थियो।

कात्तिक ७ गते विभागले जारी गरेको सूचनामा भनिएको थियो- एकल महिलाको स्थायी ठेगाना राख्दा बाबुको ठेगाना पत्ता नलागेको यकिन गरी आमाको थर र स्थायी ठेगाना राखी घटना दर्ता गर्ने/गराउने।

तर स्थानीय तह र कर्मचारीहरूले यो परिपत्र स्पष्ट नभएको भनेपछि अहिले अर्को परिपत्र जारी गर्नुपरेको उक्त परिपत्रमै उल्लेख छ।

त्यसपछि गृहले यसपालि यो परिपत्र जारी गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *