गुट बलियो बनाउँदौ सिटौला समुह

काठमाडौं : कांग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच टकराव छ। यही बेला पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समूहले १४ औं महाधिवेशनकेन्द्रित गतिविधि सुरु गरेको छ। सिटौला समूह छिन्नभिन्न भएको चर्चा चलिरहेका बेला सोमबार उक्त समूहको भेला काठमाडौंमा सम्पन्न भएको हो।

‘हामी जे देखिँदै आएका थियौं, सँगै छौं’, भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले भने, ‘तपार्इंंहरू हाम्रो टिमलाई जे नाम दिनुस्, तेस्रो टिम भन्नुस्, वैचारिक टिम भन्नुस्। यो एकदमै विस्तारित छ। स्वतःस्फूर्त देखिने समूह हो। यहाँ केही विचार छ, केही यथार्थ छ।’

नेता सिटौलानिकट केन्द्रीय सदस्यहरू गगन थापा र प्रदीप पौडेल वरिष्ठ नेता पौडेलतिर अनि शिव हुमागाईं र उमाकान्त चौधरी संस्थापन समूहमा गएको प्रचार भएको थियो। आफूहरू एकै ठाउँमा रहेको सन्देश दिन उक्त समूहले भेला आयोजना गरेको हो।

सिटौलाले आफ्नो समूहका नेता÷कार्यकर्तालाई जिल्ला जान निर्देशन दिए। उनले महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरण महŒवपूर्ण हुने भएकाले जिल्लामा चनाखो भएर काम गर्न कार्यकर्तालाई भने। ‘काठमाडौंबाहिरका साथीहरू अत्यावश्यक छ भने मात्रै काठमाडौं बस्नुस्’, उनले भने, ‘नत्र तपाईंहरू जिल्ला जानुस्। संघीय, समावेशी र संख्या बढ्ने गरी संरचना बनेका छन्। क्रियाशील सदस्यता वितरणको काममा लाग्नुस्।’

उनले पार्टीभित्र बहुमतका नाममा एकपक्षीय निर्णय गर्ने र बैठक बहिष्कार गर्ने दुवै प्रवृत्ति खराब भएको बताए। तोकिएको समयमा महाधिवेशनको सुनिश्चितता हुने गरी सबै जिम्मेवार बन्नुपर्ने उनको धारणा थियो। उनले विभाग गठनदेखि केन्द्रीय सदस्य मनोनयनप्रति आपत्ति जनाएका थिए।

केन्द्रीय सदस्य थापाले आफू सिटौला नेतृत्वको समूहमै रहेको स्पष्टीकरण दिए। उनले आगामी दिनमा पनि सिटौलाकै नेतृत्वमा परिवर्तनका पक्षमा काम गर्ने बताए। ‘नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा हामीले जसरी पार्टीभित्र काम गर्दै आएका छौं, सही कुरामा सही र गलत कुरामा गलत भन्दै आएका छौं त्यही कुरामा हामी आजको दिनमा अरू केही पनि कुरा छैन’, उनले भने, ‘अधिवेशन समयमा गराउने, विधानको पाालना गराउने कुरामा हामी एक ठाउँमा उभिएर अगाडि बढ्छौं।’

उनले पार्टीको विवाद मिलाउन नेता सिटौलाले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको चर्चा गरे। पार्टीभित्र सबैलाई मिलाएर लैजाने दायित्व सभापतिको भएको उनको भनाइ थियो। ‘लचक हुने काम पनि उहाँको हो। कतिपय कुरामा प्रतिष्ठाको विषय नबनाईकन सच्याउने उहाँको काम हो। अधिवेशनको वातावरण बनाउने काम उहाँको हो। म पार्टी सभापतिलाई यो कुराका लागि आग्रह गर्छु’, उनले भने, ‘पार्टीका महामन्त्रीलाई पनि आग्रह गर्छु, महामन्त्री सचिवालयको प्रमुख हो। यस्तो बेला महामन्त्रीले ढुक्कै जिम्मा लिएर पार्टी कार्यालय गएर, त्यहाँ बसेर महामन्त्रीको भूमिका निर्वाह गर्नुपर्छ।’

अर्का केन्द्रीय सदस्य पौडेलले पनि आफ्नो समूहबारे सार्वजनिक टिप्पणीलाई स्पष्ट पार्न भेला आयोजना गरिएको बताए। ‘बीचमा धेरै विषय बाहिर आए। ती विषयले तरंग पनि सिर्जना गरे। अलिकति कन्फ्युज पनि बनायो’, उनले भने, ‘हामी एकै ठाउँमा होइन कि भन्ने पनि कतिले आशंका गर्ने परिस्थिति निर्माण भयो। त्यसबारे साथीहरूलाई प्रस्ट पार्ने उद्देश्यले पनि हामी यहाँ जमघट भएका हौं।’

उनले पद प्राप्तिका लागि नभई पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउन एक ठाउँमा उभिएको दाबी गरे। ‘कांग्रेसमा हामीलाई थर्ड पोल भन्ने गरिन्छ। पहिलो हामी होइनौं, दोस्रो पनि होइनौं। पद प्राप्तिका निमित्त, स्वार्थका निम्ति जोडिएको भए पहिलो र दोस्रोतिरै जान्थ्यौं’, उनले भने, ‘हामी पार्टीमा नयाँ ढंगबाट विषयहरू उठान गर्न सक्छौं कि, पार्टीलाई अलि प्रगतिशील बाटोमा अगाडि लिएर जान सक्छौं कि, पार्टीको प्राथमिकता निर्धारण गर्ने सन्दर्भमा महŒवपूर्ण योगदान गर्न सक्छौं कि भन्ने उद्देश्यले हामी फरक ढंगले उभिने कोसिस गरेका हौं।’

विभागको जिम्मेवारी पाएका केन्द्रीय सदस्य हुमागाईंले पनि आफू सिटौला समूहसँग रहेको स्पष्ट पारेका थिए। उनले विभागको जिम्मेवारी पाए पनि समूह भने नछाडेको बताए। नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमिल्सिनाले कोरोना भाइरसका कारण ठूलो भेला नगरिएको बताए। तेस्रो धार एक ठाउँमा रहेको सन्देश दिन मात्र कार्यक्रम गरिएको उनको भनाइ थियो। तेस्रो धारनिकट केन्द्रीय सदस्य, भ्रातृसंस्थाका पदाधिकारी, पूर्वजिल्ला सभापतिसहित अगुवा नेता÷कार्यकर्ता भेलामा सहभागी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *