गलत समाचार प्रसारण गरेकोमा फक्स न्युजले ७८७.५ मिलियन डलर जरिवाना तिर्ने

काठमाडौँ — अमेरिकी टेलिभिजन कम्पनी फक्स न्युजले  भोटिङ मेसिन कम्पनी डोमिनियनलाई ७८७.५ मिलियन डलर (करिब एक खर्ब नेपाली रुपैयाँ) तिर्नुपर्ने भएको छ । सन् २०२० मा अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनको समयमा उक्त टेलिभिजनले डोमिनियनको भोटिङ मेसिनले गलत सूचना प्रवाह गरेको भन्दै मुद्दा दर्ता गरेको थियो ।

फक्स न्युजले निर्वाचनको समयमा प्रकाशित गरेको गलत समाचारले आफ्नो कम्पनीलाई ठूलो क्षति पुगेको भन्दै डोमिनियनले १.६ बिलियन डलर मागदाबी गरेकोमा अदालतको आदेश आउनुअघि नै दुवै कम्पनीबीच मागदाबी गरेको करिब आधा रकम फक्स न्युजले तिर्ने सहमति भएको हो ।

मुद्दाको सुनुवाइ हुनुभन्दा केही समयअघि दुवै कम्पनीबीच फक्स न्युजले डोमिनियनलाई ७८७.५ मिलियन डलर तिर्नुपर्ने सहमति भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।

फक्स न्युजले यसअघिको राष्ट्रपतीय निर्वाचनमा तत्कालीन राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पको विरुद्ध डोमिनियनको भोटिङ मेसिन प्रयोग गरिएको आरोप लगाएको थियो । फक्स न्युजले उक्त सूचना प्रत्यक्ष प्रसारणको क्रममा उल्लेख गरेको थियो ।

सहमतिपछि फक्स न्युजले एक वक्तव्य जारी गर्दै यसलाई अमेरिकी पत्रकारिताको इतिहासकै ठूलो पूर्वनिर्धारित मानहानीको मुद्दा भएको जनाएको छ । यस सहमति भएको केही घण्टापछि फक्स न्युजको सेयर १ प्रतिशतले घटेको छ ।

त्यस्तै डोमिनियनका प्रमुख जोन पौलसले फक्स न्युजले प्रकाशित गरेको उक्त सूचनालाई झुटो सूचनाको संज्ञा दिँदै त्यो सूचनाले आफ्नो कम्पनीलाई ठूलो क्षति पुगेको बताएका छन् । त्यस्तै उनले सत्यतामा आधारित पत्रकारिता प्रजातन्त्रको पक्ष भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *