गत बर्ष रुस पुगेका १७ सय ९५ नेपालीमध्ये कति छन सेनामा ?

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा एक हजार ७९५ नेपाली रुस गएको पाइएको तथ्यांक छ । यो संख्या काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुस जानेहरूको मात्रै हो, यसोत अवैध बाटोबाट रुस जानेहरु कति छ न तथ्यांक छैन ।

अध्यागमन विभागले सोमबार सार्वजनिक गरेको विवरणमा सन् २०२३ जनवरी १ देखि डिसेम्बर ३१ सम्मको अवधिमा उक्त संख्यामा नेपाली रुस गएको पाइएको हो ।

पछिल्लो समय विभिन्न वहानामा रुस पुगी त्यहाँको सेनामा भर्ती हुने नेपालीको संख्या बढ्दो छ । केही महिनायता रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा १० नेपालीले ज्यान गुमाइसकेका छन् । रुसी सेनामा पुगेर नेपाल फर्केका एक व्यक्तिका अनुसार रुसी सेनामा ३ सय भन्दा बढी भर्ना भएको अनुमान छ । अबैध बाटोबाट गएकोले त्यसको तथ्यांक निकाल्न कठिन छ । जव युक्रेनमा नेपालीहरु मारिन थालेपछि सरकारी संयन्त्रलाई उद्दारका लागि आग्रह गर्ने रुसी सेनामा रहेका नेपालीको सख्या पनि एक सयको हाराहारीमा रहेको श्रोतको दावी छ । यस्तै, चार नेपालीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिई युद्धबन्दी बनाएको छ ।

रुसी सेनामा भर्ती भएका नेपाली युक्रेनसँगको युद्धमा मारिएपछि नेपालले रुससँग भर्ती भएका नेपालीको विवरण माग्दै आएको छ । यतिमात्र होइन नेपालले थप नेपालीलाई भर्ती नलिन र भर्ती भएकालाई फिर्ता बोलाउन समेत रुससँग आग्रह गरेको छ ।

रुसले पनि नेपालको आग्रहलाई बेवास्ता गर्दै आएको छ । उल्टै गतसाता रुसी राष्ट्रपतिले नेपालीलगायत विदेशीलाई आफ्नो सेनामा आकर्षित गर्न नयाँ आदेश जारी गरेका छन् । नयाँ आदेशमा रुसी सेनामा एक वर्षको लागि भर्ती हुन सम्झौता गर्ने विदेशी नागरिक र उसको परिवारलाई रुसी नागरिकता दिने व्यवस्था छ ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार वर्ष २०२३ मा मात्र ९५ जना नेपाली युक्रेन गएका छन् ।

पुटिनको आदेशले नेपालमाथि थपियो चुनौती

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशले नेपालमाथि चुनौती थपिएको छ । गएको बिहीबार अर्थात् पुस १९ गते पुटिनले नयाँ आदेश जारी गरी रुसका निम्ति लड्ने विदेशी नागरिक र उसको परिवारलाई त्यहाँको नागरिकता तथा पासपोर्ट प्रदान गर्ने घोषणा गरेका थिए ।

पुटिनले युक्रेनमा ‘विशेष सैन्य अपरेसन’ जारी रहेको समयमा रुसी सेनामा भर्ती हुने विदेशी नागरिक, उसको श्रीमती, छोराछोरी र बाबुआमालाई त्यहाँको नागरिकता प्रदान गर्न अनुमति दिएका हुन् । रुसी सेनामा भर्ती हुनेले कम्तीमा एक वर्षका निम्ति सेनामा रहने सम्झौता गरेको खण्डमा ऊ र उसको परिवारका सदस्यलाई सुरुमै त्यहाँको नागरिकता प्रदान गरिने र रुस आउन दिने नयाँ घोषणामा उल्लेख गरिएको अन्तर्राष्ट्रिय न्युज एजेन्सीले जनाएका छन् । लुकीछिपी रुसी सेनामा भर्ती हुन जाने नेपालीलाई रोक्न सरकारलाई हम्मेहम्मे परिरहेको छ । पुटिनको नयाँ आदेशले नेपाल सरकार थप अप्ठेरोमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *