विपक्षी एमालेविरुद्ध सत्तासीन पाँच दल गठबन्धन गरेरै स्थानीय चुनावमा गए। कतै साझा उम्मेदवार खडा गरे। कतै जो–जो मिल्न सकिन्छ त्यहीअनुसार गठबन्धन बनाए। परिणाम भने मिश्रित आयो। केहीमा गठबन्धनका कारण सत्तासीन दललाई फाइदा पुग्यो। केहीमा गठबन्धनमा गडबडीका कारण एमाले उम्मेदवारलाई चुनाव जित्न सहज भयो। यद्यपि, एमाले सिट संख्यामा खुम्चिएको छ।
निर्वाचन आयोगको शनिबार साँझको तथ्यांकअनुसार कांग्रेसले पहिलो स्थानमा ३ सय ७ स्थानीय तहमा प्रमुख÷अध्यक्ष जितेको छ। १ सय ८८ स्थानमा प्रमुख÷अध्यक्ष जितेर एमाले दोस्रो स्थानमा छ। त्यसपछि माओवादी केन्द्रले १ सय २० स्थानको नेतृत्व हात पारेको छ। एमालेले पनि कतिपय स्थानीय तहमा राप्रपासँग तालमेल गर्यो। केहीमा भने ‘स्थानीय आवश्यकता र परिस्थितिअनुसार’ अचम्मका गठबन्धन बने।
सुदूरपश्चिममा कांग्रेसलाई घाटा
उद्योगमन्त्री एवं कांग्रेस नेता दिलेन्द्र बडूको गृहजिल्ला हो, दार्चुला। यो जिल्लाका ९ वटै पालिकामा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भयो। कांग्रेसले पाँच र माओवादीले चार पालिकामा नेतृत्व लिने गरी चुनावमा गए। माओवादीले नेतृत्व पाएका सबै पालिकामा जित्यो। उसलाई गठबन्धन फलिफाप भयो। तर, कांग्रेसले पाएका सबै तहमा चुनाव हार्यो। उसलाई गठबन्धन फापेन।
कैलालीमा १३ स्थानीय तह छन्। सात कांग्रेस, चार माओवादी र दुई समाजवादीले लिने समझदारी भयो। गोदावरी नगरपालिकामा मात्रै कांग्रेसले जित्यो। धनगढीमा कांग्रेस दोस्रो स्थानमा सीमित छ। स्वतन्त्र उम्मेदवार गोपाल हमाल कांग्रेसका नृपबहादुर ओडभन्दा झन्डै १२ हजार मतले अगाडि छन्। बाँकी सबै मत ओडले पाए पनि हमाललाई जित्ने अवस्था छैन। लम्की चुहा नगरपालिकामा मतगणना जारी छ। माओवादी केन्द्रको भागमा परेको कैलारी गाउँपालिकामा कांग्रेसका बागी राजसमझ चौधरीले चुनाव जिते। कांग्रेसको भागमा परेको टीकापुर, जोशीपुर र जानकी गाउँपालिकामा रेशम चौधरीको पार्टीले जित निकालेको छ। माओवादीको भागमा परेकामध्ये मोहन्याल मात्रै जित्यो। बैतडीका १० मध्ये चार पालिकामा गठबन्धन भयो। पाटन नगरपालिकाबाहेक अन्यत्र गठबन्धन सफल हुन सकेन।
बझाङमा भने सत्ता गठबन्धनलाई फाइदा भएको छ। १२ पालिका रहेको बझाङमा ६ वटा कांग्रेस, ३ माओवादी र ३ समाजवादीको भागमा परेको थियो। ९ वटामा गठबन्धनले जित निकाल्यो। अछामका १० पालिकामध्ये पाँचवटामा मात्र गठबन्धन भएको थियो। मंगलसेन नगरपालिकामा कांग्रेस र समाजवादीको गठबन्धन थियो। त्यहाँ दुवै पद एमालेले जित्यो। रामारोसनमा कांग्रेस र समाजवादीबीच नै तालमेल थियो। उपाध्यक्षमा माओवादीले जित्यो। बान्नीगढी जयगढ गाउँपालिकाका कांग्रेस र माओवादीबीच तालमेल थियो। उपाध्यक्ष एमालेले जित्यो। कांग्रेसले डोटीमा कसैसँग गठबन्धन गरेन। सात प्रमुख र आठ उपप्रमुख एक्लै जित्यो। माओवादी र एकीकृत समाजवादीबीचको गठबन्धन डोटीमा फलदायी बनेन।
लुम्बिनीमा एमालेले जित्यो १४ पालिका
लुम्बिनीका अधिकांश पालिकामा सत्तारुढ दलको गठबन्धन थियो। केहीमा एमाले, कांग्रेसको पनि गठबन्धन थियो। एमालेले १४ पालिकाका दुवै पदमा जित निकालेको छ। अर्घाखाँचीमा ३, रूपन्देहीमा २, नवलपरासीमा १, पाल्पामा ४, गुल्मीमा १, कपिलवस्तुमा २, दाङमा १ पालिका एमालेले जित्यो। दाङको घोराही उपमहानगरपालिकामा एमालेले गठबन्धनलाई पराजित गर्यो।
रोल्पामा माओवादी–एमाले गठबन्धन र दाङमा एमालेसहितको गठबन्धन हराउँदै कांग्रेसका उम्मेदवारले जित निकाले। कांग्रेसले यी दुईसहित २७ पालिकामा प्रमुख पद र २९ पालिकामा उपप्रमुख पदमा जित निकालेको छ। माओवादी केन्द्रले ५ पालिकामा दुवै पदमा जितेको छ। यी सबै रोल्पाका हुन्। रोल्पामा माओवादी एकल र अन्य दल गठबन्धनमा थिए।
गण्डकीमा कांग्रेस, एमाले बराबर
गण्डकीमा एमाले र कांग्रेसले ३५÷३५ पालिका जितेका छन्। माओवादीले ११ पालिकामा विजय प्राप्त गरेको छ। गोरखामा मात्रै माओवादीले ९ पालिका जित्यो। त्यहाँ माओवादी एकल चुनावी मैदानमा थियो। कांग्रेसले गण्डकीका ३५ प्रमुख र ३० उपप्रमुख जितेको छ। एमालेले ३५ तह प्रमुख जित्दा ३२ वटामा उपप्रमुख जितेको छ। जनमोर्चाले २ प्रमुख र १ उपप्रमुख जितेको छ। गठबन्धनका कारण जनमोर्चालाई बागलुङमा सफलता मिलेको हो।
नवलपुरमा एमालेले ६ प्रमुख जितेको छ। कांग्रेसले नवलपुरमा २ प्रमुख र ३ उपप्रमुख पदमा जित हासिल गरेको छ। बागलुङमा कांग्रेसले ६ मा प्रमुख तथा उपप्रमुख जितेको छ। एमालेले बागलुङमा ढोरपाटन नगरपालिका प्रमुख मात्रै जित्यो।
एमाले बिस्तारै पतनको बाटोतिर गइरहेको छ। बिभिन्न ठाउँमा हामीले एमालेको बिरासतलाई मज्जाले खोसेका छौं। भीष्मराज आङ्देम्बे, सहमहामन्त्री, कांग्रेस
म्याग्दीमा एमालेले ६ मध्ये ४ प्रमुख र ३ उपप्रमुख जितेको छ। कांग्रेसले २ प्रमुखमा जित्दा माओवादीले २ वटामा उपप्रमुखमा विजय प्राप्त गर्यो। स्याङ्जाका ११ तहमध्ये ६ मा एमाले र ५ मा कांंग्रेसका प्रमुखले जिते। पर्वतमा एमालेले २ प्रमुख र कांग्रेसले ५ जितेका छन्। मुस्ताङमा एमालेले ५ मध्ये ४ प्रमुखमा विजय हुन सफल भयो। कांग्रेसले भने १ पालिकामा दुवै पद र अर्काे एउटामा उपप्रमुख जितेको छ। मनाङका ४ वटामा कांग्रेस, एमालेले २÷२ प्रमुख जितेका छन्। कास्कीको पोखरामा मत गणना जारी छ। गठबन्धनबाट नेकपा एसका धनराज आचार्यले एमालेका कृष्ण थापालाई पछि पारेका छन्। कास्कीमा एमालेले २ स्थानीय तहमा प्रमुख, उपप्रमुख जित्दा कांग्रेसले १ प्रमुख जित्यो।
तनहुँको व्यास नगरपालिकामा स्वतन्त्र उम्मेदवार दीपक जोशीले कांग्रेसका वैकुण्ठ न्यौपानेलाई पछि पारेका छन्। तनहुँमा एमालेले ४ तहमा प्रमुख जितेको छ। कांगे्रसले पनि त्यति नै प्रमुख जितेको छ। लमजुङमा एमाले, कांग्रेसले ४÷४ तह जितेका छन्।
पर्वतको कुश्मा नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन थियो। मेयरमा कांग्रेसका रामचन्द्र जोशीले जिते। तर, उपमेयरमा माओवादीका शंकर गिरी पराजित भए।
कर्णालीमा कांग्रेसलाई नाफा, एमालेलाई क्षति
कर्णालीमा यसपटक कांग्रेसलाई नाफा भएको छ। विभिन्न दलसँग गठबन्धन गरेको कांग्रेसले सबैभन्दा बढी ३२ वटा स्थानीय तहको नेतृत्व हात पारेको छ। १३ वटा त कांग्रेस एक्लैले जितेको हो। अधिकांश स्थानीय तहमा गठबन्धन गरेको माओवादी भने प्रदेशमा दोस्रो शक्तिमै यथावत् रह्यो। अघिल्लो निर्वाचनमा पहिलो शक्ति बनेको एमाले यसपालि तेस्रोमा खुम्चियो। आफू कमजोर रहेको केही तहमा एमालेले पनि तालमेल गरेको थियो। केन्द्रमा पाँच दलीय गठबन्धन भनिए पनि प्रदेशमा दलहरूले आफू बलियो भएका स्थानमा एक्लाएक्लै र कमजोर भएका स्थानमा आफूअनुकूल अन्य दलसँग चुनावी गठबन्धन बनाएर प्रतिस्पर्धा गरेका थिए। यसपटक एमालेले १५ वटा पालिकामा मात्र नेतृत्व हात पारेको छ। ११ वटामा एक्लै जितेको छ।
माओवादी केन्द्र भने दोस्रो स्थानमै रह्यो। अघिल्लो निर्वाचनको तुलनामा यसपटक माओवादीले दुईवटा स्थानीय तह गुमाएको छ। माओवादी एक्लैले ११ वटा पालिकामा जितेको छ। जनयुद्धको उद्गमस्थल भएकाले पनि माओवादीले कर्णालीलाई आफ्नो आधार इलाकाका रूपमा लिने गरेको छ। एमालेबाट विभाजन भएको एकीकृत समाजवादीले चार पालिकाको नेतृत्व हात पारेको छ। समाजवादी चार पालिका प्रमुख र ६ वटामा उपप्रमुख जितेर प्रदेशमा चौथो शक्ति बनेको छ। कर्णालीका पाँच स्थानीय तह प्रमुखमा स्वतन्त्रले जितेका छन्।
मधेसमा फापेन गठबन्धन
मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मतगणनामा सत्ता गठबन्धनका उम्मेदवार निकै पछि छन्। गठबन्धनका लालकिशोर साह स्वतन्त्र उम्मेदवार मनोज साहभन्दा निकै पछि छन्। लालकिशोर जसपाका हुन्। २०७४ को चुनावमा प्रचण्ड बहुमतका साथ लालकिशोर मेयरमा विजयी भएका थिए। सत्तारुढ गठबन्धनका उपमेयर उम्मेदवार किशोरी साह भने पहिलो स्थानमा छन्।
वीरगन्जमा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका जसपाका राजेशमान सिंह प्रतिस्पर्धीभन्दा दोब्बर मतले अघि छन्। एमालेका उम्मेदवार तथा निवर्तमान महानगर प्रमुख विजयकुमार सरावगीभन्दा राजेशमान निकै अघि छन्। जितपुर सिमरा उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार राजन पौडेल विजयी भए। गठबन्धनकै तर्फबाट उपमेयरकी उम्मेदवार बनेकी मेघा शाहीले भने चुनाव हारिन्। बाराको कलैया उपमहानगरपालिकामा एमालेका विनोदप्रसाद साह विजयी भए।
कतै बराबरी, कतै मजबुद
प्रदेश नम्बर १ का अधिकांश स्थानीय तहमा गठबन्धनले जितेको छ। गठबन्धनकै कारण एमालेले विरासत जोगाउन सकेन। दश स्थानीय तह रहेको संखुवासभामा ८ ठाउँमा गठबन्धन भएको थियो। गठबन्धनले ४ र एमालेले ४ स्थानमा जित निकालेको छ।
उदयपुरका ८ मध्ये अघिल्लो निर्वाचनमा एमालेले ६ स्थानीय तह जितेको थियो। यस पटक चौदण्डिगढीमा मात्रै जित निकालेको छ। कटारी नगरपालिकामा अग्रता लिएको छ। त्रियुगा नगरपालिकामा भने गणना बाँकी छ।
बेलका नगरपालिकामा कांग्रेसका अशोक कार्की विजयी भए पनि उपप्रमुखमा गठबन्धनका उम्मेदवार हारे। धनकुटामा एमाले खुम्चिएको छ। अघिल्लो पटक सातवटै स्थानीय तह जितेको एमालेले ३ वटा मात्रै जितेको छ। ८ स्थानीय तह रहेको सोलुखुम्बुमा एक ठाउँमा मात्रै गठबन्धन भएको थियो। सोलुको माप्य गाउँपालिकामा गठबन्धन भत्काउँदै एमालेका बुद्धीकिरण राई अध्यक्षमा विजयी भए।
त्यसैगरी खोटाङका १० स्थानीय तहमध्ये ७ वटामा गठबन्धन भएको थियो। ६ वटामा गठबन्धनका उम्मेदवार विजयी भए। एेंसेलुखर्कमा एमालेका गिरेन्द्रबहादुर राईले गठबन्धनलाई पराजित गरे। उपाध्यक्षमा कांग्रेसका राजेशकुमार राजभण्डारी विजयी भए।
आठ स्थानीय तह रहेको ओखलढुंगामा ५ वटामा गठबन्धन भएको थियो। पाँचथरमा एमालेले सिट संख्या मात्र गुमाएन, आफ्नो आधार क्षेत्र मानिएका गाउँपालिकामा सदिऔंदेखिको बिरासत समेत गुमाउन पुग्यो। गठबन्धन गरेका कांग्रेस र माओवादी केन्द्रको बलियो उपस्थिति देखिएको छ।
मोरङका १७ वटा स्थानीय तहमध्ये ३ वटामा गठबन्धन भएको थियो। लेटाङ नगरपालिकामा गठबन्धनलाई पछि पार्दै प्रमुख र उपप्रमुखमा एमालेका भुपेन्द्रकुमार लावती र कृष्णकुमारी पोखरेल विजयी भए। सुनवर्षी गाउँपालिकामा कांग्रेस र जनता समाजवादीको गठबन्धनलाई तोड्दै एमालेका श्यामप्रसाद राजवंशी प्रमुख र मीरादेवी दास केवरती उपप्रमुखमा विजयी भए। सुनसरीको १२ स्थानीय तहमध्ये धरान र इटहरी उपमहानगरपालिका मात्र गठबन्धन भयो। धरानमा गठबन्धनलाई उछिन्दै स्वतन्त्र उम्मेदवार अघि छन्।
भोजपुरको साल्पासिलिछो गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार दौलतकुमार कुलङ विजयी बने। ९ तह रहेको भोजपुरमा कांग्रेसले दुई प्रमुख र तीन उपप्रमुख, एमालेले दुई प्रमुख र दुई उपप्रमुख, तथा माओवादी केन्द्रले एक प्रमुख र दुई उपप्रमुख जित्यो। ९ तह रहेको ताप्लेजुङमा एमालेको सिट संख्या घटेको छ। अघिल्लो पटक नगरपालिकासहित पाँच स्थानीय तहको प्रमुख–उपप्रमुख जितेको एमालेले यो पटक ३ प्रमुख मात्रै जित्यो। कांग्रेसले चार प्रमुख र माओवादीले दुई प्रमुख जित्यो।
एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो तेह्रथुमको आठराईको प्रमुख कांग्रेसको जित्यो। उपाध्यक्ष माओवादीले जितेको छ। तेह्रथुमका ६ स्थानीय तहमध्ये तीन पालिका प्रमुख कंग्रेसले जितेको हो। तीन एमालेले जितेको छ।
कांग्रेस–माओवादीले सिट बढायो
सत्तागठबन्धनका कारण प्रदेश नं. १ मा एमाले खुम्चिएको छ। सिट संख्या घटे पनि एमालेको जनमत नघटेको एमालेका नेताहरूको दाबी छ। ‘हामीले पहिले जति सिट संख्या कायम गर्न नसकेकै हो,’ एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बसन्त नेम्बाङले भने, ‘नजिते पनि हाम्रो संगठन थप मजबुद भएको छ। पहिलोभन्दा एमालेले धेरै मत पाएको छ।’
तर, सत्तारुढ गठबन्धनका नेताहरूले भने सिट संख्या बढ्दा फुरुक्क भएका छन्। एमालेको अहंकारका कारण देशभरि एमाले कमजोर साबित भएको उनीहरूको तर्क छ। ‘एमाले बिस्तारै पतनको बाटोतिर गइरहेको छ,’ नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री भीष्मराज आङ्देम्बेले भने, ‘बिभिन्न ठाउँमा हामीले एमालेको बिरासतलाई मज्जाले खोसेका छौं।’
स्थानीय चुनावमा सत्ता गठबन्धन एकातिर भए, एमाले अर्कातिर। गठबन्धनले सत्तारुढ दलहरूलाई नै फाइदा पुगेको छ। जसमा बढी लाभ कांग्रेसले लिएको छ। माओवादीले पनि उल्लेख्य फाइदा लिएको छ। एकीकृत समाजवादीका नेताहरूले भने आफ्नो दलको नतिजाप्रति असन्तुष्टि जनाएका छन्। मधेसवादी दलहरूको पनि प्रभाव उस्तो देखिएन। गठबन्धनको घेराबन्दीमा परेको एमालेलाई सन्तोषजनक भएन चुनावी परिणाम। दोस्रो स्थानमा खुम्चिएको यो पार्टीले कांग्रेसभन्दा निकै कम मात्रै पालिकाको नेतृत्व पाएको छ। एमाले नेताहरूको टिप्पणी छ– ‘लोकतन्त्रमा प्रतिपक्षीलाई एक्ल्याएर संसारमै अनौठो प्रकृतिको काम नेपालका सत्तारुढ दलहरूले गरेका छन्।’
इलाममा कांग्रेसले उपस्थिति बलियो बनाएको छ। एमाल नेता सुवास नेम्बाङ र एकीकृत समाजवादीका नेता झलनाथ खनालको क्षेत्रमा कांग्रेसको उपस्थिति बलियो बनेको हो। १० स्थानीय तह रहेको इलाममा कांग्रेसले चार, एमालेले चार र एकीकृत समाजवादीले एक प्रमुख जितेका छन्।
ओलीको गृहनगरमा राप्रपा विजयी
एमाले अध्यक्ष ओलीको गृहनगर झापाको दमक नगरपालिकाको प्रमुखमा राप्रपाका राम थापा विजयी बने। सत्तारुढ गठबन्धनको समर्थनमा थापाले एमालेका उम्मेदवारलाई पराजित गरे। उप्रमुखमा कांग्रेसकी रेगिना भट्टराई विजयी बनिन्। यहाँ राप्रपा र कांग्रेसले गठबन्धन गरेका थिए।
गठबन्धनलाई बागमतीमा मिलेन पूर्ण सफलता
बागमतीमा सत्ता गठबन्धनका कारण कांग्रेसलाई सबैभन्दा बढी फाइदा भएको छ। कांग्रेसले एक्लै चार पालिका प्रमुख–उपप्रमुख जितेको छ। ३४ पालिका प्रमुख र २८ उपप्रमुख जितेको छ। माओवादी केन्द्रले एक पालिकामा एकल जित हाँसिल गरेको छ। १९ पालिका प्रमुख र २३ उपप्रमुख जितेको छ।
२०७४ मा पहिलो स्थानमा रहेको एमालेलाई यसपटक माओवादी केन्द्रसँग बराबर हैसियतमा झरेको छ। एमालेले ११ं वटा पालिकाको एक्लै प्रमुख र उपप्रमुख जितेको छ। नौ पालिकाको प्रमुख र १३ पालिकाको उपप्रमुख जितेको छ। बागमती प्रदेशको १ सय १९ पालिकामध्ये ९२ पालिकामा गठबन्धन भएको हो। तीमध्ये तीन महानगरसहित ९ पालिकाको नतिजा आउन बाँकी छ।
काठमाडौंमा स्वतन्त्रको धक्का
काठमाडौंमा सत्ता गठबन्धन र एमालेलाई पछि पार्दै मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह अघि छन्। उपमेयरमा भने सत्ता गठबन्धनभन्दा एमालेकी सुनिता डंगोल निकै अगाडि छिन्। यहाँ सत्ता गठबन्धनका मेयर र उपमेयरका उम्मेदवार निकै पछि छन्। कागेश्वरी मनोहरा नगरपालिकामा एकीकृत समाजवादी एक्लै प्रतिस्पर्धामा उत्रिए पनि मेयर कांग्रेस र उपमेयर एमालेले जित्यो। ललितपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट कांग्रेसका चिरिबाबु महर्जन अगाडि छन्। उपमेयरमा भने गठबन्धनका उम्मेदवार पछि छन्।
भक्तपुरमा दुई पालिकामा गठबन्धन भएको थियो। सूर्यविनायक नगरपालिकामा कांग्रेस–एकीकृत समाजवादी गठबन्धन तोड्दै एमालेले मेयर–उपमेयर जित्यो। मध्यपुर ठिमीमा कांग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर जितेको छ।
चितवनमा भरतपुरबाहेक अन्यत्र असफल
भरतपुर महानगरपालिका बाहेक चितवनमा सत्ता गठबन्धन सफल देखिएन। जिल्लाका सातवटा पालिकामध्ये तीनवटामा एमालेले जित हात पारेको छ। भरतपुरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी रेणु दाहाल अगाडि छिन्। भरतपुर र माडीमा एमालेले राप्रपासँग तालमेल गरेको थियो।
मकवानपुरमा एमालेलाई धक्का
हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा एकीकृत समाजजादीले जित निकालेको छ। एमालेको गढ मानिने हेटौंडामा एमाले पहिलोपटक पराजित भयो। २०७४ को स्थानीय तह निर्वाचनमा ६ वटा पालिका जितेको एमाले जम्मा दुई पालिका प्रमुखमा सीमित भएको छ।
मकवानपुरका १० स्थानीय तहमा एमालेविरुद्ध सत्ता गठबन्धन भएको थियो। नुवाकोटका १२ स्थानीय तहमध्ये बिदुर, बेलकोटगढी नगरपालिका तथा तारकेश्वर र शिवपुरी गाउँपालिकामा मात्र सत्तागठबन्धन भएको थियो। बिदुर नगरपालिकामा यसअघि नेकपा एमालेले जितेको थियो। यो पटक भने गठबन्धनका उम्मेदवार अगाडि छन्। बेलकोटगढी नगरपालिकामा पनि गठबन्धन दलका उम्मेदवार अगाडि छन्। तारकेश्वरमा नेपाली कांग्रेसले अध्यक्ष र माओवादी केन्द्रले उपाध्यक्ष, शिवपुरीमा नेकपा माओवादी केन्द्रले उपाध्यक्ष जित्यो। तर, माओवादीसँग गठबन्धन गरेको नेकपा एकीकृत समाजवादीले हार ब्यहोर्नुपर्यो।
रामेछापका आठै पालिकामा माओवादी केन्द्र र समाजवादी गठबन्धन भएको थियो। एक पालिकामा कांग्रेस पनि गठबन्धनमा सामेल भएको छ। तर, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनबाट उपलब्धि हाँसिल गर्न सकेनन्।
रसुवामा गठबन्धन असफल भएको छ। ६ पालिकामध्ये नौकुण्ड गाउँपालिकामा कांग्रेस र जनता समाजवादी पार्टी तथा कालिकामा माओवादी केन्द र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो। कालिकामा दुवै पदमा गठबन्धनले हार बेहोर्यो। नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नुर्वुसाङ्बो घले र उपाध्यक्षमा एमालेका चन्द्रबहादुर तामाङ विजयी भए। सिन्धुलीको ९ वटै स्थानीय तहमा कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादीबीच तालमेल भएको थियो। चार माओवादी केन्द्र र पाँचवटा पालिका कांग्रेसले नेतृत्व लिने गरी भागबन्डा भएको थियो। माओवादी केन्द्रले चारवटा पालिकामा प्रमुख र तीन वटामा उपप्रमुख जितेको छ भने कांग्रेसले तीनवटा प्रमुख र पाँचवटामा उपप्रमुख जितेको छ। एमालेले दुई पालिका प्रमुख र दुई पालिकामा उपप्रमुख जितेको छ।
दोलखाका ९ वटै स्थानीय तहमा गठबन्धन भएको थियो। बैतेश्वर गाउँपालिकामा भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको मात्र गठबन्धन भएको थियो। त्यहाँ कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै जित्यो। गठबन्धन तोड्दै जिरी नगरपालिका र मेलुङ गाउँपालिकामा एमालेले अध्यक्ष–उपाध्यक्ष जितेको छ।
एमालेले गठबन्धन तोड्दै काभ्रेको धुलिखेल नगरपालिकाको मेयर जितेको छ। एमालेका अशोक ब्यान्जुले मेयर जितेका हुन्। यस्तै एमालेले पनौती र बनेपा नगरपालिकाको उपमेयर जितेको छ। गठबन्धनका तर्फबाट एकीकृत समाजवादीले धुलिखेलको मेयर तथा बनेपा र पनौतीको उपमेयर पाएको थियो।
सिन्धुपाल्चोकमा ६ स्थानीय तहमा गठबन्धन भएको थियो। पाँचपोखरी थाङपाल गाउँपालिकामा माओवादी केन्द्र र कांग्रेसको गठबन्धन तोड्दै एमालेले अध्यक्ष–उपाध्यक्ष जितेको छ। सुनकोसी गाउँपालिकामा एमाले र माओवादीबीच गठबन्धन भएकोमा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस जितेको छ। चौतारा साँगाचोकगढी नगरपालिका माओवादीले मेयर र नेकपा एकीकृत समाजवादीले उपमेयर जितेको छ।
धादिङका १३ मध्ये ११ पालिकामा गठबन्धन भयो। त्यहीकारण एमालेले घाटा ब्यहोर्नुपर्यो। यसअघि आठ पालिका प्रमुख–उपप्रमुख जितेको एमालेले थाक्रे र गल्छी गाउँपालिकाको अध्यक्ष मात्र जितेको छ। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको गृहजिल्ला भए पनि नेकपा एकीकृत समाजवादीले धुनिबेंसी नगरपालिकाको प्रमुख मात्र जितेको छ। गठबन्धबाट सात पालिका कांग्रेस र तीन पालिका माओवादीले जितेको छ।