गगन र विश्वप्रकाशको विजयले जगाएको रूपान्तरणको आशा

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा युवा नेताद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । कूल खसेको मतमध्ये थापाले ६४.५६ प्रतिशत र शर्माले ४२.३७ प्रतिशत प्राप्त गरेर नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीमा स्थापित हुन सफल भएका छन् । नेपाली कांग्रेस वृत्तमा मात्र होइन, आमसमुदायमा पनि यी दुई युवा चर्चित र लोकप्रिय मानिन्छन् । यिनीहरूमाथि आमनागरिकको पनि आमभरोसा पनि छ ।

थापा र शर्माको उदयले नेपाली कांग्रेसको नेतृत्व अब युवा पिँढीमा रूपान्तरण भएको मात्र सन्देश दिएको छैन, पार्टीभित्र गुट तथा उपगुटको कुनै अर्थ र औचित्य छैन भन्ने तथ्य पनि स्थापित गरिदिएको छ । महाधिवेशन प्रतिनिधिको सुविचारित मत प्रकट भएको छ । प्यानल बनाएर सबैजना चुनावमा होमिएकामा महाधिवेशन प्रतिनिधिले मतदानमा भने विवेक प्रयोग गरेका छन् । गगन र विश्वप्रकाशरूपी रूखहरू नेपाली कांग्रेसमा ढुंगाको काप फोरेर उम्रेका छन् ।

नेपालको राजनीतिमा अस्थिरताको जड नै पार्टीभित्रको गुट र उपगुट हो । यो रोगबाट नेपाली कांग्रेस स्थापनाकालदेखि नै ग्रसित थियो । २०५० पछि आफ्नै पार्टी सभापतिलाई हराउन ‘अन्तर्घात’ गरिएको कांग्रेसमा गुटले जरा गाडी नै रहेको थियो । थापा र शर्माको विजयले त्यो गुटलाई अन्त्य गरेको सन्देश दिएको छ ।

हालसम्मको निर्वाचन परिणाम हेर्दा गुट र प्यानलभन्दा पनि उम्मेदवारको निष्ठा, योग्यता र योगदानलाई महत्ता दिइएको छनक मिलेको छ । यसले गर्दा नेतृत्व युवाको नभए पनि नीति निर्माणमा युवा रहने स्पष्ट संकेत देखिएको छ । त्यही नीतिले नै कांग्रेस र मुलुकको राजनीति मात्र होइन, आम नेपाली जनताको भाग्यलाई डोर्‍याउने अपेक्षा गर्न सकिन्छ ।

यसपालि गगन थापाले कांग्रेसको पुनर्जागरण र रूपान्तरणको प्रस्तावसहित चुनाव आफूलाई उभ्याएका थिए । उनको ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने पार्टीको ध्येय हुनुपर्नेमा जोड छ । अब उनले घोषणा गरेका उक्त ध्येयलाई पार्टी र मुलुकको रूपान्तरणमा लैजानुपर्छ । यसका लागि विगतमा जस्तो पार्टीभित्र विवाद र कलह नहुने आँकलन गर्न सकिन्छ । विगतमा कांग्रेसले उचित नीति र नेतृत्व नपाउँदा पहिलो संघीय, प्रदेश र स्थानीय तहका निर्वाचनमा नराम्रो हार खानुपरेको थियो । सही मार्गमा पार्टी र नेतृत्व हिंडेन भने जनताले कसरी दण्ड दिंदा रहेछन् भन्ने पाठ यसपालि महाधिवेशनका प्रतिनिधिहरूले राम्रैसँग पढेको देखियो । र, उनीहरू परिवर्तन खोजिरहेको पनि प्रस्ट भयो । त्यो परिवर्तनको प्रस्थान विन्दु भनेको पार्टी पदाधिकारीको बहुमतमा युवाको नेतृत्व ।

दलहरूभित्रको अराजनीतिक, अनैतिक गुटबन्दीको शिकार आम नेपाली जनता हुनु परिरहेको छ । झन्डै दुई तिहाईको शक्तिशाली केपी ओलीको सरकार यही गुटबन्दीका कारण जनताको कार्यादेशअनुसार काम गर्न सकेन । आमजनताको चाहनामाथि तत्कालीन नेकपाले चिसो पानी खन्यायो । दुई तिहाई र ६ प्रदेशको सरकार ध्वस्त पारी एमालेलाई सडकमा पुर्‍याएका ओलीले यही गुट सञ्चालन गर्दा पार्टी मात्र होइन, नेपालीको अमूल्य मत र समय पनि बर्बाद पारे । एमालेको त्यो विग्रह जनताका लागि कति अप्रिय हुन्छ भन्ने कुरा हालसालै देखिएको होइन ।

हिजो कांग्रेसमा पनि छत्तीसे र चौहत्तरेको कित्ताकाट हुँदा मुलुक कसरी राजनीतिक अस्थिरताको दलदलमा फँस्न गयो भन्ने भोगिइसकेको हो । यी भोगइबाट आजित भएर नै नेपाली कांग्रेसका वडादेखि महाधिवेशन प्रतिनिधिहरूले गुटलाई होइन सक्षम, कर्मठ र योग्यतमका रूपमा आफ्ना प्रतिनिधिहरू छनौट गरे । यसले भोलिका दिनमा मुलुकका अरु राजनीतिक दलहरूलाई पनि गतिलो सन्देश प्रवाह गर्न सक्छ । यति मात्र होइन, राजनीतिक र नैतिक संस्कार स्थापित गर्न सक्छ र मुलुकको सिंगो राजनीतिलाई नै संग्लो बनाइदिन सक्छ ।

विगतमा नेताले टीको लगाइदिएका भरमा नेतृत्व चयन हुने परिपाटी थियो । आजको पढेलेखेका युवाको जमातले परिवर्तन खोजेको थियो । त्यसको विम्बका रूपमा थापा र शर्मालाई उनीहरूले चुनेर पठाएका छन् । आमनागरिकको आशाको केन्द्र रहेका थापा र शर्माजस्तै स्वच्छ छवि र योग्यता पुगेका व्यक्तिहरूको कांग्रेसमा मात्र होइन, अब अरु पार्टीहरूमा पनि खोजी हुनुपर्छ र नेतृत्वमा ल्याएर स्थापित गराइनुपर्छ भन्ने सन्देश प्रवाहित भएको छ । मुलुकको आर्थिक र सामाजिक रूपान्तरण गर्ने प्रमुख अस्त्र भनेकै राजनीतिक दल हुन् । यी दल नसुध्रिएसम्म जनताको कल्याण हुने छैन ।

थापा र शर्माले राजनीतिमा आशा रोपेका छन्, त्यसलाई छिमल्ने काम नहोस् । अर्थात्, रूपान्तरणको आमआशामाथि धोका नहोस् । दल सुधार्ने प्रस्थान बिन्दु थापा र शर्मा मानिएको छ, थापा र शर्मालाई बधाइ छ ।

Leave a Reply

Your email address will not be published.