क्यानाडामा २३ नेपालीलाई कोरोना संक्रमण 

टोरन्टो । कोरोना भाइरसबाट क्यानाडामा अहिलेसम्म २३ जना नेपाली संक्रमित भएका छन्। संक्रमितमध्ये आधा जति निको भइसकेका छन्। ‘माइल्ड सिम्टोम्स्’ देखिएका बाँकी ‘सेल्फ आइसोलेसन’मा छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानाडाका अनुसार, शनिवार साँझसम्म २३ नेपालीलाई कोरोना संक्रमण भएको विवरण प्राप्त भएको हो। त्यसमध्ये ११ जना निको भइसकेका र १२ जना ‘सेल्फ आइसोलेसन’मा छन्।

‘कोरोना पोजेटिभ देखिएका २३ नेपालीमध्ये ११ जना पूर्ण निको भइसकेका र १२ जना निको हुनेक्रममा छन्’ एनआरएनए क्यानाडाका अध्यक्ष चिरञ्जिवी घिमिरेले ‘नेपाल टच’लाई भने, ‘खतरा कसैलाई पनि छैन।’

पछिल्लो विवरण अनुसार, अल्बर्टाको क्याल्गेरीका तीन, अन्टेरियोको स्कारब्रोका पाँच र ब्राम्प्टनका चार गरी क्यानाडामा जम्मा १२ नेपाली अहिले कोरोना संक्रमणबाट गुज्रिरहेका हुन्।

यस्तै, अटोवाका पाँच, मन्ट्रियलका दुई, टोरन्टोका दुई, मिसिसागाका एक र क्याल्गेरीका एक गरी ११ जना नेपाली कोरोना संक्रमणबाट मुक्त भइसकेका छन्।

संक्रमित भएका नेपालीमध्ये कतिपयले आफैं सम्पर्क गरेको र बाँकीबारे एनआरएनए क्यानाडाका एनसिसि सदस्य तथा छिमेकीले खबर गरेको अध्यक्ष घिमिरेले जानकारी दिए।

‘कोरोना संक्रमण भएकामध्ये केहीलाई जिन्सी सामग्री सहयोग गरिएको छ’ अध्यक्ष घिमिरेले भने, ‘बिरामीको अवश्था र आवश्यकता हेरेर हामी यथासक्य सहयोग गर्नेछौं।’

एनआरएनएले क्यानाडामा नेपालीको संख्या ४० हजारभन्दा धेरै रहेको बताउँदै आएको छ। पछिल्ला बर्षहरुमा क्यानाडा नेपालीहरुको प्रमुख रोजाइका गन्तब्यमध्ये एक बन्दै आएको थियो।

अन्टेरियोको टोरन्टो क्षेत्र र अटोवा, अल्बर्टाको एडमण्टन र क्याल्गेरी, ब्रिटिश कोलम्बियाको भ्यान्कुभर र सुरी तथा क्युवेकको मन्ट्रियलमा नेपालीहरु धेरै छन्।

कोरोना भाइरसका कारण क्यानाडामा ज्यान गुमााउनेको संख्या शनिवार साँझसम्म ६ हजार चार सय २१ पुगेको छ। संक्रमित हुनेको संख्या ८४ हजार ८ सय ८२ छ।

Leave a Reply

Your email address will not be published.