क्यानडाले १ करोड ७७ लाख डोज अष्ट्राजेनेका भ्याक्सिन दिने, कोभ्याक्सले बाँड्ने

क्यानडाले अक्सफोर्ड/अष्ट्राजेनेका भ्याक्सिनको १ करोड ७७ लाख डोज संसारका विभिन्न मुलुकहरूलाई दिने भएको छ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार संसारका सबै ठाउँमा हरेक मानिसले कोरोनाविरूद्धको खोप लगाउने सुनिश्चितताका लागि आफ्नो देशले भ्याक्सिन दिन लागेको बताएका छन्।

उक्त भ्याक्सिन कोभ्याक्सलाई दिइने र कोभ्याक्समार्फत् विभिन्न मुलुकलाई बाँडिनेछ।

क्यानडाकी अन्तर्राष्ट्रिय विकास मन्त्री करिना गोल्डले न्यून र मध्यम आय भएका मुलुकहरूलाई भ्याक्सिन दिइने बताएकी छन्।

सिबिसी न्युजसँग मन्त्री गोल्डले कोभ्याक्सले प्राथमिकताका आधारमा खोप पाउने देशको छनौट गर्ने र त्यसपछि खोप पठाइने बताएकी छन्।

उनका अनुसार आउने केही दिनमै खोप दिन सुरू हुनेछ।

‘त्यो खोप क्यानडा ल्याएर यहाँबाट फेरि सम्बन्धित मुलुकमा पठाइने होइन। कम्पनीबाट कोभ्याक्सले आफ्नो वितरण सिस्टममार्फत् सम्बन्धित देशमा पठाउने भएकाले छिटै पुग्छ,’ उनले भनेकी छन्।

क्यानडाले जी-७ मुलुकको शिखर सम्मेलनका क्रममा व्यक्त गरिएको प्रतिवद्धताअनुसार खोप दिन लागिएको जनाएको छ।

यसैबीच क्यानडाले आफ्ना नागरिकलाई कोरोना खोपका लागि दान गर्न पनि अनुरोध गरेको छ।

संसारभरिका ४० लाख मानिसलाई पुग्ने खोप जुटाउन सरकारले युनिसेफ क्यानडासँग मिलेर नागरिकबाट रकम उठाउन लागेको हो। #गिभअभ्याक्स नाम दिइएको उक्त कार्यक्रममा क्यानडियनहरूले १० डलरसम्म दान गर्न सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *