नेपालमा कोरोना भाइरस संक्रमण हुने पाँचौं ब्यक्तिको पहिचान भएको छ । यही चैत ४ गते वेल्जियमबाट कतार हुदै नेपाल आएकी १९ बर्षकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । कतार एअरवेजको क्युआर ६५२ फ्लाईटबाट आएकी युवती हाल बाग्लुङमा रहेको जनाइएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हाल काठमाडौं बाहिर रहेकी युवती चिकित्सकको सम्पर्कमा रहेको जानकारी दिनुभयो ।
सोही फ्लाईटमा फ्रान्सबाट आएकी अर्की युवतीमा पनि कोरोना संक्रमण देखिएपछि टेकुमा उपचार भईरहेको छ । पत्रकारसम्मेलनमा प्रवक्ता देवकोटाले चीनबाट मेडिकल सामग्रीहरु आएको भोलिपल्टैबाट वितरण गर्ने जानकारी पनि दिनुभयो । जसमा पीपीई, कोरोना भाइरस परिक्षण कीट लगायतका सामग्री रहेको उहाँले बताउनुभयो ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परिक्षण सुरु भएको र हेटौडामा तयारी भइरहेको जानकारी दिनुभयो । यस्तै कोरोना भाइरसबारे जानकारी दिन र लिन ११३३ नम्वरको कल सेन्टर थप गरिएको छ । मन्त्रालयले यस अघि १११५ नम्वरको कल सेन्टर सुरु गरेको थियो । नेपाल उद्योग परिसंघले ७५ हजार थान मास्क र १ सय पीपीई प्रदान गरेको तथा एकिृकृत व्यापार कम्पनीले ४० थान पीपीइ प्रदान गरेको जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो ।