नेपालमा पछिल्लो २४ घण्टामा एक महिना एताकै सबैभन्दा धेरै जनामा कोरोना संक्रमण भेटिएको छ । १० हजार ४ सय ६२ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्या संक्रमितको संख्या घट्न थालेको १ महिना पछिको सबै भन्दा उच्च हो । योसँगै देशभर २३ हजार ९ सय ३८ मा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सबै भन्दा धेरै काठमाडौ उपत्यकामा संक्रमित भेटिएको जानकारी दिनुभयो । काठमाडौ उपत्यकामा १ सय ३४ जनामा संक्रमण पाइएको छ । काठमाडौंमा १ सय १०,ललितपुरमा १६ र भक्तपुरमा ८ जना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा सबै भन्दा धेरै पर्सामा ७०, मोरङ्मा ४२, सर्लाही ४१, वारामा ३९ सुनसरी ३३, बाँकेमा २९, धनुषामा २४, र कपिलवस्तुमा १६ जना रहेका छन् । मन्त्रालयकाले देशभर १ सय ८३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको जनाएको छ । यस्तै आज १ सय ७१ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै कुल संक्रमितमध्ये १६ हजार ६ सय ६४ जना निको भएका छन् । देशभर ७ हजार २ सय १ जनाको उपचार भइरहेको छ । जसमध्ये ७५ जना आइसियुमा रहेका छन् भने ३ जना भेन्टिलेटरमा छन् । अस्पतालमा शैया अभावका कारण हाल सामान्य लक्षण वा लक्षण नै नभएका २ सय २४ जना संक्रमित भने घरमा नै आईसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट थप ४ जनाको मृत्यु भएको छ । जसमा धनुषाका ६० बर्षिय र ५० बर्षिय दुई पुरुष,काभ्रेकी ५० बर्षिया महिला र सिन्धुपाल्चोकका ८४ बर्षिय पुरुष रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको सामूहिक परीक्षणका क्रममा उहांमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि उहा आइसोलेनमा जानुभएको छ । यसअघि आयोगको केन्द्रीय कार्यालय टंगालमा काम गर्ने तीन दर्जन सुरक्षाकर्मी र कर्मचारीमा संक्रमण पुष्टी भइसकेको छ ।
सरकारले १० वटा अन्तर्राष्ट्रिय स्थलगत सीमा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाउने निर्णय गरेको छ । यसअघि २० वटा सीमा नाकाबाट नेपाल प्रवेश गर्न पाउने व्यवस्था गरिएको थियो । सरकारका प्रवक्ता डा.युवराज खतिवडाले पत्रकार सम्मेलनमार्फत आज मन्त्रिपरिषद्का निर्णय सुनाउँदै झापाको काकडभिट्टा, मोरङको रानी, सिराहाको माडर, रौतहटको गौर, पर्साको विरगंज, रुपमन्देहीको बेहलिया , कपिलवस्त्ुको कृष्णनगर, बाँकेको जमुनाहा, कैलालीको गौरिफण्टा र कन्चनपुरको गड्डाचौकिबाट मात्रै नेपाल प्रवेश गर्न पाइने निर्णय भएको बताउनुभयो । यस्तै भदौ ३१ गते मध्यरात सम्मका लागि नेपाल प्रवेश गर्ने सबै प्रवेश विन्दुमा आवागमन स्थगित गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ । यसै गरि होटल रेस्टुरेन्टबाट तयारी खाजा लैजान (टेक अवे)को लागि मात्रै खोल्न पाइने छ ।
लामो दुरीका यातायात र हवाई सेवा भदौ १६ गते सम्मका लागि स्थगित गरिएको छ । शैक्षिक संस्था, सभा गोष्ठि,तालिम सेमिनार, प्रदर्शन भेला,सम्मेलन, सिनेमा हल पार्टी प्यालेस सैलुन, खेलकुद, पुस्तकालय लगायतका क्षेत्र बन्द नै रहने छन् ।
काठमाडौं उपत्यकाका ३ जिल्लाभित्र आवतजावत गर्ने बाहेक कोभिड १९ को सक्रिय संक्रमितको संख्या २ सय भन्दा बढी भएका जिल्लाबाट अन्य जिल्लामा ‘जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र’ तथा स्थानीय प्रशासनको अनुमतिमा बाहेक आवतजावत नगर्ने, नगराउने ,अत्यावश्यक कार्यका लागि मात्र अनुमति प्रदान गर्ने र अनुमति प्रदान गर्दा प्रयोजन खुलाई यात्रा गर्ने,व्यक्तिको नाम समावेश गरी अनुमतिपत्र जारी गर्ने निर्णय समेत मन्त्रिपरिषद्को बैठकले गरेको छ ।
फुटपाथ खुल्ला ठाउँमा सञ्चालन भइरहेका ठेलागाडा साइकलमा गरिएका व्यापार, तरकारी, फलफूल, खाद्यान्न, लत्ताकपडा लगायतका खुद्रा व्यापार व्यवसाय एवं कवाडी संकलनजस्ता कार्य जथाभावी सञ्चालन हुन नदिने र त्यो कार्यलाई सम्बन्धित स्थानीय प्रशासनले निषेध गर्ने निर्णय पनि सरकारले गरेको छ । नेपाली कुटनैतिक नियोगको सिफारिसमा ३ सय जना र वैदेशिक रोजगार कल्याण्कारी कोषबाट खर्च व्यहोर्ने गरी उद्धार गरिने २ सय जना नेपाली नागरिक समेत दैनिक कुल ५ सय जनाको संख्यामा नबढ्ने गरी उडान अनुमति दिने निर्णय समेत गरेको छ । उनीहरुलाई उपत्यकामा नै तोकिएका स्थानमा क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउने र संक्रमण मुक्त भएको यकिन भएपछि मात्र सम्बन्धित गन्तव्यमा पठाउने व्यवस्था गर्ने निर्णय समेत गरेको छ ।