कोरोना महामारी फेरी लकडाउन , झन्डै २३ हजार पुगे संक्रमित

 

नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ५ सय १५ जनाको पीसीआर परीक्षणमा ३ सय ८० जनामा संक्रमण देखिएकोसँगै देशभर संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौ र पर्सा जिल्लामा बढी संक्रमित भेटिएको जानकारी दिनुभयो । जसमा काठमाडौमा ९०, पर्सामा ७२, धनुषाका ३७, मोरङ्मा २८, बाँकेमा २१, कपिलवस्तु र सप्तरीमा १७÷१७ जना, महोत्तरीमा १५,रुपन्देहीमा १०,डोटीमा ८, चितवनमा ७, सुनसरी ६,नवलपरासी पूर्व,दाङ् ,वारा,जुम्ला,सिराहा,सर्लाही र झापाका ४÷४ जना,डडेलधुरा, र नुवाकोटका ३÷३ जना,ललितपुर,वर्दिया कालिकोट र सुर्खेतका २÷२ जना,रामेछाप,दैलेख,रौतहट, सिन्धुली, सिन्धुपाल्चोक,धादिङ, पर्वत,पाल्पा र वैतडीका १÷१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ४० जनाले कोरोना जिते सँगै देशभर १६ हजार ३ सय ५३ जनाले संक्रमण जितेका छन् । हाल ६ हजार ५ सय ४४ जना संक्रमितको उपचार भइरहेको छ । जसमा प्रदेश १ मा ५ सय ११ जना,प्रदेश २ मा ३ हजार ७५,वागमती प्रदेशमा १ हजार १ सय ३२,गण्डकी प्रदेशमा २ सय ३७,प्रदेश ५ मा ४ सय ४६,कर्णाली प्रदेशमा १ सय ६९ जना र सुदूरपश्चिम प्रदेशमा ९ सय ७४ जना रहेका छन् । रौतहट,पर्सा,महोत्तरी र काठमाडौ जिल्लामा भने ५ सय भन्दा बढी संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट थप २ जनाको मृत्यु भएको छ । कास्की घर भएका ७२ वर्षिय पुरुष र पर्साकी २० वर्षिया युवतीको साउन २४ गते मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरोनावाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।

बाँकेमा आइतबार कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–२ की ७० बर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो । उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आज मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि बैजनाथकी एक महिला र नरैनापुरका पुरुषको कोरानाबाट मृत्यु भएको थियो ।

मास्कको प्रयोग कम

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौ उपत्यकाको ४ हजार ५ सय २ जनामा गरेको सर्वेक्षणमा ७२ दशमलव १ प्रतिशत व्यक्तिले मात्र मास्क प्रयोग गर्ने भेटिएको छ । परिषद्ले आज अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै २७ दशमलव १ प्रतिशत व्यक्तिले मास्क नलगाउने भेटिएको जनाएको हो । यस्तै सार्वजनिक स्थलमा २ हजार ७ सय ३ जनामा गरिएको सर्वेक्षणले सहि तरिकाले मास्क लगाउनेको संख्या ७२ दशमलव ६६ प्रतिशत रहेको र २७ दशमलव ३४ प्रतिशतले मास्क गलत तरिकाले प्रयोग गरेको देखिएको छ । तरकारी बजार,मठमन्दिर,मल, बैंक,मालपोत कार्यलयमा ३१ दशमलव २५ प्रतिशत व्यक्तिले मात्र सामाजिक दूरी कायम गरेको र ६० प्रतिशत स्थानमा स्यानिटाइजर र सावुनपानी राखिएको अध्ययनले देखाएको छ । २० प्रतिशत अस्पतालमा मात्र सामाजिक दूरी कायम भएको र कुनै पनि अस्पतालको चमेना गृहमा सामाजिक दूरी कायम नभएको पनि अध्ययनले देखाएको छ । ५० प्रतिशत सार्वजनिक यातायातले मात्र एउटा सिटमा एक जना राखिएको भन्दै परिषद्का सदस्य सचिव डा.प्रदिप ज्ञवालीले मापदण्ड प्रभावकारी पालना नभएको भन्दै नियमित अनुगमन गर्नुपर्ने बताउनुभयो ।

नाकाहरुमा कडाई गर्न आग्रह

काठमाडौं उपत्यका मेयर फोरमले उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाई गर्न सरकारलाई आग्रह गरेको छ । उपत्यकामा संक्रमणको दर बढिरहेको उल्लेख गर्दै फोरमले नाकामा कडाई गर्न सरकारलाई आग्रह गरेको हो । कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई लाई भेटेर फोरमले नाकामा कडाई गर्न, अनाधिकृत रुपमा प्रवेश गर्ने र गराउनेलाई कारवाही गर्न आग्रह गरेको हो । फोरमका अध्यक्ष समेत रहनु भएका काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले लक डाउन खुकुलो भएपछि संक्रमितको संख्या बढिरहेको उल्लेख गर्दै चाहिने भन्दा बढी मानिस भित्रिएकोले विगतमा जस्तै नाकाहरुमा कडाई गर्नुपर्ने बताउनुभयो ।
मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले तेस्रो मुलुकबाट आउनेहरुका लागि संघीय सरकारले एकीकृत रुपमा क्वारेन्टिन व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । समुदायस्तरमा कोरोना फैलिएकोले जात्रा पर्वहरु स्थगित गरिएजस्तै सरकारको पक्ष वा विपक्षमा हुने जुलुस, अनसन जस्ता कुराहरु प्रतिवन्ध गर्नुपर्ने माग गरिएको उहाँले बताउनुभयो ।
उपप्रधानमन्त्री पोखरेलले फोरमले दिएका सुझावहरुलाई सीसीएमसीमा निर्णय गरेर अगाडी बढाउने प्रतिवद्धता जनाउनुभएको छ ।

नारायणी अस्पताल तोडफोड

नारायणी अस्पताल वीरगञ्जमा तोडफोड गरिएको छ । उपचारको अभावमा शुक्रबार राती मृत्यु भएकी महिलामा कारोना पुष्टि भएपछि आफन्तहरुले अस्पतालमा तोडफोड गरेका हुन् । विभिन्न अस्पतालले भर्ना लिन नमानेपछि अकालमै ज्यान गुमाएकी भनिएकी छपकैया–२ निवासी २० वर्षीय विष्णु लामाका परिवारले अस्पताल भित्र तोडफोड गरेका हुन् । तोडफोडको क्रममा अस्पतालमा रहेको अकास्मिक सेवा कक्ष, पीसीआर परीक्षण गर्ने ठाउँ र चिकित्सकको गाडीमा समेत क्षति पुगेको छ । ड्युटीमा खटिएका चिकित्सक, सहायक स्वास्थ्यकर्मीलगायतलाई समेत स्थानीयले कुटपिट गरी घाइते बनाएका छन् । प्रहरीले लाठीचार्ज गरेपछि अहिले स्थिति सामान्य भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *