विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण गत दुई सातामा विदेशमा थप ४१ जना नेपालीको निधन भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार भारतमा २९ जना, कतारमा ८ जना फ्रान्समा १ जना, माल्दिम्समा १ जना, बेल्जियममा १ र पाेर्चुगलमा १ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो।
संघले संकलन गरेको तथ्यांक अनुसार भारत सहित विश्वभर २८ मुलुकमा रहेका ४ सय २३ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ।
गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख ७ हजार ८६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ भने ती मध्ये ९९ हजार २ सय ५७ जना नेपाली कोरोना मुक्त भएका छन्।
समितिका संयोजक डा संजिव सापकोटाका अनुसार सोमवार साँझसम्म विदेशमा कोरोना संक्रमणबाट ९२ प्रतिशत नेपाली मुक्त भएका छन्।
गैरआवासीय नेपाली संघले विगत कोरोना भाइरसको महामारी सुरु भएदेखी विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाहरुबाट प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको छ।
संघले डा संजिव सापकोटाको संयोजकत्वमा डा सागर पौडेल (भारत), डा नितेश शर्मा (मध्यपूर्व), डा बोधराज सुवेदी (युरोप), डा रुपक श्री (माल्दिभ्स) लगायत विश्वभर २ सय जना चिकित्सकहरु परिचालन गरेको छ।
यसैबीच नेपालमा हालसम्म ५ लाख २० हजार ४ सय ६१ जना संक्रमित पुगेकोमा ७६ दशमलव ६ प्रतिशत अर्थात ३ लाख ९८ हजार ४ सय ८३ जना संक्रमणमुक्त भएका छन्। संक्रमणका कारण सोमवार साँझसम्म ६ हजार ५ सय ३१ जनाको निधन भएको छ।