कोरोनाको जोखिममा राजधानी, पहुँचवालालाई मनलाग्दी पास

काठमाडौं – लकडाउन उल्लंघन गर्दै जथाभावी मानिस भित्रिन थालेपछि काठमाडौं उपत्यका कोरोना भाइरस (कोभिड–१९) को जोखिममा परेको विज्ञले औंल्याएका छन्। पछिल्लो साता कोरोना भाइरस फैलिएका ठाउँबाट धेरै मानिस काठमाडौं उपत्यका भित्रिएपछि संक्रमणको खतरा बढेको हो। मंगलबार काठमाडौंमा एक र भक्तपुरमा दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रशासनले पहुँचवालालाई मनलाग्दी पास वितरण गरेपछि उपत्यकाका सडकमासमेत सवारीसाधनको जाम देखिन थालेको छ। आवश्यकताभन्दा पनि दबाब र प्रभावमा राजनीतिक दलका कार्यकर्ता र व्यापारीलाई पास वितरण गरिएकाले सडकमा गाडीको जाम हुन थालेको हो। बिनाप्रोटोकल बिहानको समयमा पसल खोल्न दिने सरकारी निर्णयले फुटपाथमा पनि भीड लाग्न थालेको छ। यी विविधि कारणले उपत्यका संक्रमणको जोखिममा परेको हो ,

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले कोरोना संक्रमित जिल्लाबाट आउने व्यक्तिहरु दिनदिनै बढेकाले काठमाडौं उपत्यका कोरोनाको उच्च खतरामा रहेको बताए। उनले कोरोना संक्रमित जिल्लाबाट काठमाडौं उपत्यका छिरेकालाई क्वारिन्टिनमा राख्ने व्यवस्था नहुने हो भने यहाँ पनि कोरोना फैलिन सक्ने बताए। ‘पछिल्लो समय कोरोना संक्रमित बढी देखिएका जिल्लाबाट धेरै मानिस काठमाडौं प्रवेश गरेको देखिन्छ। उनीहरूलाई निगरानीमा राखेर परीक्षण नगरे संक्रमण फैलिने सम्भावना प्रबल छ’,  कार्कीले भने, ‘काठमाडौंमा हरेक क्षेत्रमा स्वास्थ्य सुरक्षा मापदण्ड निर्धारण गरी कडाइका साथ पालना गराउनुपर्छ तर यसतर्फ काम गर्न ढिलाइ भइसकेको छ। यसमा सरकारले विशेष ध्यान दिनुपर्छ।’

एकबाट अर्को जिल्ला प्रवेशमा कडाइ गर्न सके कोरोना नियन्त्रण गर्न सकिने उनको बुझाइ छ।  लकडाउन तहगत रुपमा खोल्न सुझाव दिँदै कार्कीले जथाभावी मानिसको भीड लाग्न थालेकाले नियामक निकायको ध्यान त्यसतर्फ जानुपर्ने उनले बताए।

अस्पतालहरुले पनि छुट्टै ओपिडी खोेलेर अनलानइनमार्फत नाम दर्ता गरे बिरामीले पनि समय पाउने र चिकित्सकको स्वास्थ्यको पनि सुरक्षा हुने उनको भनाइ छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काठमाडौंमा बाहिरबाट भित्रिनेको संख्या बढेकाले खतरा बढ्दै गएको बताए। उनले उपत्यकामा भित्रेका मानिसलाई थप कडाइ र निगरानी बढाउन आवश्यक रहेको स्पष्ट पारे। ‘कोरोनाको उच्च खतरामा काठमाडौं छ। स्वास्थ्य मन्त्रालयले यसैलाई ध्यानमा राखेर नमुना परीक्षण दायरा बढाउने तयारी थालेको छ’, प्रवक्ता देवकोटाले भने, ‘परीक्षणसँगै स्थानीय तहसँगको समन्वयमा संक्रमित जिल्लाबाट आएका मानिसलाई क्वारिन्टिनमा राख्नुपर्छ।’

मन्त्रालयले स्वास्थ्य सुरक्षाका उपाय पालना गरेर मात्र हरेक सेवा सञ्चालन गर्न व्यक्ति, निजी कम्पनी र सरकारी कार्यालयलाई अनुरोध गरिरहेको र त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको उनको भनाइ छ।

लकडाउनमा पनि मानिसको अनियन्त्रित प्रवेशसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकालाई पनि खतराको सूचीमा राखेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए। ‘मानिस लुकिछिपी आइदिएपछि काठमाडौं पुनः रेडजोनमा पुग्यो’, उनले भने। काठमाडौं उपत्यका रेडजोनको सूचीमा परेपछि मन्त्रालयले यहाँ कोभिड–१९ परीक्षण दयरा बढाउने उनले बताए।

सवारीसाधनका लागि पास वितरण गर्न समस्यमा भएपछि जिल्ला प्रशासन कार्यालयले यसको दायरा बढाएको छ। एकद्वार प्रणालीबाट भइरहेको पास वितरण आइतबारदेखि खुकुलो पार्दै थप १२ ठाउँबाट गराउन सकिने व्यवस्था गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी जीनवप्रसाद आचार्यले मन्त्रिपरिषद्को निर्णय अनुसार सेवाहरु सञ्चालन गर्न नियामक निकायले पनि पास वितरण गर्न सक्नेगरी क्षेत्राधिकार बढाइएको बताए। सामाजिक दूरी कायम गर्ने सर्तमा मात्र पास वितरण गर्नुपर्ने उनको भनाइ छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार गरेको निर्णय अनुसार मन्त्रालय, संसद्, सर्वोच्च अदालत, संवैधानिक निकाय तथा अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालयको हकमा सम्बन्धित निकायको सचिवले पास जारी गर्नेछन्।

बैंक तथा बित्तीय संस्थाको हकमा नेपाल राष्ट्र बैंक, राष्ट्रिय गौरवका आयोजन तथा पूर्वाधार विकासको हकमा सम्बन्धित निकायका सचिव, जलविद्युत् आयोजनाको हकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा हवाईसेवा प्रदायक कम्पनीको हकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पास जारी गर्ने निर्णय भएको छ। सहकारीहरुको हकमा सहकारी विभाग, व्यापार तथा वाणिज्यसम्बन्धी कामका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र औद्योगिक उत्पादनसम्बन्धी कार्यका संलग्न निकायका लागि उद्योग विभागले पास जारी गर्ने निर्णयमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *