कोभिड-१९ नियन्त्रणका लागि अमेरिकी हिन्द-प्रशान्त कमाण्डले थप उपचार सामग्री दिने

काठमाडौँ : अमेरिकी सरकारको हिन्द-प्रशान्त (इण्डो-प्यासिफिक) कमाण्डले नेपालमा कोभिड-१९ नियन्त्रण र उपचार सामग्री पठाउने भएको छ । अमेरिकी इन्डो-प्यासिफिक कमान्डले नेपालमा अत्यन्तै जरूरी अक्सीजन प्लान्ट, सिलिन्डर, तथा भन्डार ट्यांकहरू उपलब्ध गराउन थप २७ लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग घोषणा गरेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

‘नेपाली जनताहरूको लागि अत्यन्तै कठीन यो समयमा अमेरिका तत्काल आवश्यक सामाग्रीहरूको यथाशक्य उपलब्धता गराउन निरन्तर प्रयत्नरत छ,’ इण्डो-प्यासिफिक कमाण्डलाई उद्धृत गर्दै अमेरिकी दूतावासले भनेको छ । अमेरिकाले अहिले गरिएको आग्रहहरूलाई भन्दा पनि आफ्नो तवरले यो प्रकारको सहयोग गरेका हो । गत वर्ष नेपालमा कोभिडको प्रभाव बढेदेखि नै अमेरिकाले सहयोग गर्दै आएको छ ।

२०२० को अप्रील यता अमेरिकी इन्डो-प्यासिफिक कमान्डले अन्तरराष्ट्रिय मानवीय विपत्ति सहायता तथा नेपालको लागि नागरिक सहयोग अन्तरगत कोभिड-१९ को उपचार तथा व्यवस्थापनको लागि आवश्यक पीपीइ, आइसोलेशन सेन्टरका सामाग्री, अक्सीजन समबन्धी विभिन्‍न उपकरण, टेलिमेडिसिनका सामान, हात धुने केन्द्रहरू, तथा अन्य अत्यावश्यक सामान लगायत झन्डै ५८ लाख डलर बराबरको सहयोग उपलब्ध गराइसकेको बताइएको छ ।

यो सँगै नेपालमा युएसएआइडी समेत अमेरिकी सरकारका विभिन्‍न एजेन्सीहरूले नेपालमा गरेको कोभिड-१९ नियन्त्रण र उपचार सम्बन्धी सहयोग पाँच करोड १० लाख अमेरिकी डलर पुगेको छ । यसबाहेक अन्य सहयोग पनि अमेरिकाले दिने तयारी गरिरहेको जानकारी परराष्ट्र अधिकारीले दिए । अमेरिकाले अल्पविकसित मुलुकहरुलाई छुट्याएर राखेको अस्ट्राजेनिक खोप पनि दिने तयारी छ ।

यहाँ एक समूहले आफ्नो पहलमा सहयोग आएको भन्‍न सक्रिय रहेपछि दूतावासले त्यसमा खासै ध्यान नदिएको परराष्ट्रका एक अधिकारीले बताए । त्यी अधिकारीका अनुसार नेपालमा सहयोग गर्ने विषयमा अमेरिका सधै अग्रसर रहने भन्‍ने विषय भूकम्पछिको उद्धारले नै स्पष्ट गरेको छ ।

Leave a Reply

Your email address will not be published.