के पत्रकारले आफूलाई लागेको लेख्न र अभिव्यक्त गर्न पाउनुपर्छ ? हालैका केही विवादले पत्रकारको व्यावसायिक संहिता र लोकतन्त्रमा उसको राजनीतिक भूमिकाबारे उठ्ने पुरानो प्रश्नलाई फेरि सतहमा ल्याइदिएको छ । अहिले चलिरहेको मानहानिको मुद्दाले फक्स न्युजका प्रस्तोताले आफ्ना दर्शकलाई सन् २०२० को अमेरिकी राष्ट्रपतिको चुनावमा धाँधली भएको भन्दै बारम्बार झुट बोलेको तथ्यको खुलासा गरेको छ ।
त्यसैगरी बिबिसीले बेलायत सरकारको शरणार्थी नीतिको आलोचनायुक्त ट्विटलाई आफ्नो निष्पक्षताको नीति उल्लंघन गरेको भनी पूर्वफुटबल खेलाडी एवं स्वतन्त्र खेल पत्रकार गेरी लिनेकरलाई निलम्बन गरेको थियो । अहिले सबै ठाउँमा पत्रकारले राजनीतिक विषयमा आफ्नो मत राख्नु ‘अभियान’ चलाउनु हो वा होइन भनेर बहस गरिरहेका छन् । विभिन्न मिडिया आलोचकले भनेझैँ राजनीतिक विवादमा ‘दुवै पक्ष’ समेट्न खोज्ने परम्परागत प्रवृत्तिले सत्यलाई तोडमरोड गर्छ ।
यही तर्कलाई आधार मानेर सन् २०१४ मा द एट्लान्टिकले अमेरिकी राजनीतिक दलमध्ये रिपब्लिकन पार्टीमा पुरातनपन्थी ध्रुवीकरण असमान ढंगले बढिरहेको भनेर बुझाउने खालको समाचार शीर्षक राखेको थियो । र, त्यसयता रिपब्लिकन पार्टीको ट्रम्पीकरण सुरु भयो र पार्टी नै लोकतन्त्रको बर्खिलाप गयो । अर्थात्, माथि एट्लान्टिकले असमान ध्रुवीकरणलाई परम्परागत पत्रकारिताको वस्तुनिष्ठताका नाममा समान भनेर समाचार बनाएको भए सत्य जनतामाझ पुग्ने थिएन ।
मिडिया आलोचक जे रोजेनका अनुसार ‘दुवै पक्ष’ समेट्ने समाचार वस्तुनिष्ठतामा आधारित नभई पत्रकारले ‘दलीय आबद्धता’को आरोप नलागोस् भनेर आफूलाई जोगाउन ल्याएको एक रणनीति हो । यो वास्तवमा ‘सत्य–खोज्नु’भन्दा पनि शुद्ध निष्पक्षताको कलेवरमा ‘टाउको लुकाउन खोज्ने’ प्रवृत्ति हो । यसको ठिक विपरीत यदि कुनै पत्रकार विभिन्न वैचारिक शिविरबाट तर्क गर्न सकिने विषय–मुद्दामा पक्षधरता लिन्छ भने सो पत्रकारले विश्वसनीयता गुमाउन सक्छ । अर्थात् पत्रकारले निश्चित एजेन्डा बोकेर समाचार लेख्छ भने त्यसले समाचारलाई पक्षपाती बनाइदिन्छ । अहिले आमजनताको ‘मिडियाप्रतिको विश्वसनीयता घट्दै’ गइरहेको छ भन्ने चासो अत्यधिक देखिन्छ । तर, उल्लिखित दुई भिन्न पाटोले ‘विश्वसनीयता घटाउन’ उत्तिकै भूमिका खेलेको छ ।
मुद्दालाई ‘पत्रकारिताविरुद्ध अभियान’का रूपमा प्रस्तुत गर्नुभन्दा रिपोर्टिङविरुद्ध पैरवी भनेर प्रस्तुत गर्नु जायज हुन्छ होला । (यहाँनेर पैरवीलाई ‘विचार पत्रकारिता’का रूपमा प्रस्तुत गर्नु त्रुटिपूर्ण हुन्छ किनभने ‘विचार पत्रकारिता’मा एक पत्रकारले सबै किसिमका मुद्दामा आफ्नो राय दिने गर्छन् ।) रिपोर्टिङ र पैरवी दुवै अभ्यास सत्यमै आधारित हुन्छन्, जहाँ पाठकलाई खुला दिमागले सोच्न प्रोत्साहित गरिन्छ । तर, रिपोर्टरको जोड सूचना उपलब्ध गराउनुमा मात्रै हुन्छ भने पैरवीकर्ता सुधार वा परिवर्तनमा केन्द्रित हुन्छन् । र, यति भन्दै गर्दा दुवैले अनुसन्धान गर्छन् किनभने अनुसन्धानले दुवैको कामलाई बल पु¥याउँछ ।
पैरवीकारिताका आलोचक रिपोर्टिङलाई पूर्वाग्रहविनाको समाचार सम्प्रेषणको विकल्पका रूपमा लिन्छन् । तर, एक कुशल पैरवीकर्ताले स्वभावतः कार्ल बेन्स्र्टाइनले भन्ने गरेको ‘सत्यको सर्वोत्तम प्राप्य संस्करण’लाई पछ्याउने कोसिस गर्छ । यस सन्दर्भमा हामीले इडा बि. वेल्सलाई हेर्नुपर्छ, जहाँ उनले अमेरिकाको दक्षिणी क्षेत्रमा हुने भिडले गर्ने भौतिक हिंसा (लिन्चिङ) को समाचार तयार पार्न ज्यान नै हत्केलामा राखेकी थिइन् । तर, यहाँनेर बुझ्नुपर्ने के छ भने उनले आफ्नो अभियानका लागि सत्यमा आधारित भएर रिपोर्टिङ गरेकी थिइन् ।
पत्रकारितामा रिपोर्टिङ वा पैरवी जे गरे पनि समाचारमा सत्यता झल्किनैपर्छ
रिपोर्टिङ र पैरवीबीचको भिन्नता भनेको पैरवीले तथ्य प्रस्तुतीकरणका अलावा प्रस्तुत तथ्यलाई पछ्याउने समुदायको निर्माण गर्छ । यो समुदाय निर्माणका लागि सबैभन्दा उपयुक्त उपाय भनेको मुद्दा विशेषमा प्रवाह हुने निरन्तरको समाचार नै हो । जबसम्म यो प्रक्रिया पारदर्शी हुन्छ, तबसम्म यसलाई व्यावसायिक संहिता उल्लंघन भन्न मिल्दैन ।
फक्स न्युज प्रकरणमा फक्स न्युज पक्षपाती भयो भन्ने विषय मूल मुद्दा होइन । मूल मुद्दा यो समाचार संस्थाका लोकप्रिय प्रस्तोता एवं निर्माताले चुनावमा धाँधली भएको भन्ने जानकारी झुटो जानकारी हो भन्ने थाहा पाउँदापाउँदै तारन्तार झुटो समाचार फैलाएका थिए । सत्यको मूल्यमा रेटिङ्स र मुनाफालाई ग्राह्यता दिइयो ।
एक पेसेवर समाचार संस्था पैरवीकर्ता वा रिपोर्टर जे पनि हुन सक्छ (यहाँनेर फक्स न्युज पेसेवर संस्था होइन भन्नेमा स्पष्ट हुन जरुरी छ) । मुख्य भनेको समाचारका पाठकले सम्पादकीय छनोट एवं आम्दानीको स्रोत थाहा पाउँछन् वा पाउँदैनन् भन्ने हो । यदि समाचार संस्थासँग पाठकका चासोलाई गम्भीरतापूर्वक लिएर पाठकसँग निरन्तर संवाद गर्ने सार्वजनिक सम्पादक भएमा यी दुवै सर्त हासिल गर्न सकिन्छ । अन्ततः विश्वसनीयता बढ्छ ।
तर, यति भन्दै गर्दा हार्वर्ड विश्वविद्यालयका पिप्पा नोरिसले भनेझैँ विश्वसनीयता पर्याप्त होइन । कोभिड–१९ महामारीका वेला कैयौँ मानिस इन्टरनेटमा छरपस्ट नक्कली उपचार र कोभिड रोग नै छैन भन्ने सामग्रीमा विश्वास गर्थे । त्यसैगरी कैयौँले कोभिड ‘निको’ हुन्छ भन्दै डोनाल्ड ट्रम्प र जायर बोल्सोनारोले सुझाएको ‘इभरमेक्टिन’जस्ता अनुपुयुक्त औषधि खोजी गरेका थिए । नोरिस एक लोकतन्त्रले जनताबाट शंकास्पद विश्वासको अपेक्षा गर्नुपर्ने बताउँछन् । उनका अनुसार यो विश्वास मुलुकका संस्थाको क्षमता र अखण्डतामा आधारित हुनुपर्छ ।
तसर्थ पैरवी वा रिपोर्टिङ गर्दा समाचार संस्थाले पाठकसँग जोडिनु र पारदर्शी हुनुका अलावा आफ्नै विश्वसनीयतालाई प्रमाणित गर्नुपर्छ । यसले पाठकको समाचार संस्थाप्रतिको विश्वासलाई थप प्रगाढ बनाउँछ । रिपोर्टर र पैरवीकर्ताका अलावा स्तम्भकार र लिनेकरजस्ता स्वतन्त्र पत्रकारले वस्तुनिष्ठ हुनुपर्छ । तर, यति भन्दै गर्दा कुनै मुद्दामा आफ्नो राय व्यक्त गर्नु भनेको ‘पूर्वाग्रही’ हुनु होइन । अन्त्यमा अहिले तानाशाहहरूले मिडियालाई तारो बनाइरहँदा निष्पक्ष हुनु घातक पनि हुन सक्छ ।
(म्युलर प्रिन्सटन विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट