श्रम स्वीकृति लिएर कुवेत हिँडेका ११७ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विमानस्थलबाटै फर्काइदिएको छ । भिसाको अवस्था शंकास्पद रहेको भन्दै अध्यागमनले ११७ जना नेपालीलाई फिर्ता पठाएको हो ।
बुधबार साँझ र बिहीबार बिहान गरी ११७ जना नेपालीलाई प्रस्थान अनुमति नदिइएको अध्यागमन कार्यालय, त्रिभुवन बिमानस्थलले जानकारी दिएको छ । बुधबार सलाम एयरको उठानमार्फत् काम गर्नका लागि कुवेत जान लागेका १०१ जना र बिहीबार बिहान कुवेत एयरको उडानमार्फत् जान लागेका १६ जना श्रमिकलाई उडानमा रोक लगाइएको हो । यसरी फर्काइएका मध्ये आधा महिला छन् ।
विभिन्न मेनपावरबाट काम गर्ने प्रयोजनका लागि कुवेत जान लागेको र भिसा शंकास्पद भएकोले फिर्ता पठाइएको अध्यागमन कार्यालयले जानकारी दिएको छ ।
अध्यागमन कार्यालय, त्रिभुवन विमानस्थलका सूचना अधिकारी झंकनाथ ढकालले खसोखास डटकमलाई दिएको जानकारी अनुसार, भिसा र सो संग सम्बन्धित अन्य कागजपत्रहरू अध्ययन गर्दा शंकास्पद भएकाले उडानमा रोक लगाएर फर्काइएको हो । सरकारले नेपालीलाई कुवेतको घरेलु कामदारको रुपमा जान रोक लगाएको छ तर जान लागेका व्यक्तिहरूको अनुसन्धान गर्दा भिसा र अन्य कागजपत्रमा फरक पर्न लगएको ढकालले जानकारी दिनुभयो ।
‘नेपालबाट श्रमका लागि कुवेत जान लागेका नेपालीहरुको कागजात अनुसन्धान गर्दा शंकास्पद देखिएकोले हामीले प्रस्थान अनुमति नदिएका हौँ । उहाँहरुसँग रहेको भिसा, श्रम सम्झौता तथा अन्य कागजपत्र अध्ययन गर्दा शंकास्पद लाग्यो । त्यसै कारणले यसबारे अनुसन्धान गरिरहेका छौँ । घरेलु कामदारको रुपमा कुवेत जान नेपाल सरकारले रोक लगाएको छ । तर, विभिन्न तरिकामार्फत् उहाँहरु कुवेत जान लागेको पाइयो,’ ढकालले भन्नुभयो ।
नेपालबाट कुवेत जान लागेका ती यात्रुहरूको बारेमा अनुसन्धान गर्दा शंका लागेको र अनौपचारिक सोधपुछका क्रममा सम्झौता पत्रमा एउटा र भिसामा अर्कै स्टाटस देखिएको अध्यागमन कार्यालयले जानकारी दिएको छ ।
भिसा जाँच गरी श्रम स्वीकृति प्राप्त गरिसकेकालाई शंका लागेको आधारमा उडानमा रोक लगाउने काम ठिक नभएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो–सरकारले श्रम स्वीकृति समेत दिइसकेको व्यक्तिलाई उडान गर्न नदिनु ठिक होइन, हामी गृह मन्त्रालयसंग कुरा गर्छौ ।
अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले एक जना व्यक्तिसँग दुई थरी काममा जाने कागजपत्र फेला परेकोले विमानस्थल अध्यागमनले रोकेको जानकारी दिनुभयो । सरकारले कुवेतमा घरेलु कामदारको रुपमा जान रोक लगाएको अवस्था रहेको स्पष्ट पर्दै महानिर्देशक अधिकारीले शंकास्पद कागजपत्र भेटिएकोले प्रस्थानमा रोक लगाउनु परेको बताउनुभयो । हामी थप अध्ययन गर्दै छौँ, दोषीमाथि आवश्यक अनुसन्धान र कारवाही हुन्छ, महानिर्देशक अधिकारीले भन्नुभयो ।
गत आइतबार पनि जोर्डन जान हिंडेका १५ जना नेपालीलाई भिसा शंकास्पद भन्दै प्रस्तान अनुमति नदिई उडानमा रोक लगाएको थियो । एमसीसी म्यानपावर कम्पनीबाट जोर्डनमा काम गर्न जान लागेका श्रमिकलाई बिमानस्थल अध्यागमनले उडान भर्न नदिई फिर्ता गरिदिएको थियो । जोर्डन जान लागेका १५ मध्य १४ जना महिला थिए । सो कार्यको चौतर्फी आलोचना भइरहेको छ ।