काठमाडौँ — अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा कुनै पनि गोप्य वा लुकाइएका दस्तावेज नभएको एमसीए-नेपालले जनाएको छ ।
एमसीए-नेपालले बुधबार विज्ञप्ति जारी गर्दै एमसीसी–नेपाल कम्प्याक्ट सम्बन्धी गोप्य वा लुकाइएका दस्तावेजहरू प्राप्त भएको अर्थ लाग्ने भनाई हालै विभिन्न सञ्चार माध्यममा देखिएको टिप्पणीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘एमसीए–नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था हो र यस संस्थाले सार्वजनिक महत्वका सम्पूर्ण दसतावेजहरू आफ्ना वेबसाइट तथा अन्य माध्यमबाट सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्दै आएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा एमसीए–नेपाल नेपाल सरकारको जिम्मेवारी निकाय भएको र एमसीसी नेपाल कम्प्याक्ट नेपालको आर्थिक हितका लागि नेपाल सरकारबाट कार्यान्वयन गर्न लागिएको सम्झौता भएकोले यस सम्बन्धी कुनै पनि दस्तावेज गोप्य राखिनु वा लुकाउनु एमसीए–नेपालको पारदर्शिताप्रतिको प्रतिबद्धता विपरीत हुने उल्लेख गरिएको छ ।
‘प्रसारण लाइनमा पर्ने ३२ वटा गाउँपाकिला तथा नगरपालिकामा सार्वजनिक सुनुवाइका क्रममा सबैलाई पहुँच उपलब्ध गराइएको तथा नेपालको वातावरण संरक्षण ऐन अन्तर्गत सम्पूर्ण प्रक्रिया पूरा गरी नेपाल सरकारबाट स्वीकृति प्राप्त गरेको सार्वजनिक दस्तावेज वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनलाई समेत गोप्य भन्न आफ्नै देशका निकायहरूको उपेक्षा गर्नु हो,’ विज्ञप्तिमा उल्लेख छ ।
एमसीए–नेपालले गोप्य भनिएका ती कुनै पनि दस्तावेज एमसीसीसँग गरिएका सम्झौता नभएको जानकारी विज्ञप्तिमार्फत दाबी गरेको छ ।
‘एमसीए–नेपालले कुनै पनि दस्तावेज गोप्य रुपमा नराखी आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको जानकारी गराउँदै यस्ता गलत सूचनामा विश्वास नगर्न र नगराउन अनुरोध गर्छौं । कुनै पनि दस्तावेज प्राप्त गर्नका लागि कार्यालयमा सम्पर्क राखिएमा सूचनाको हक सम्बन्धी ऐन अन्तर्गत दस्तावेजहरू उपलब्ध गराइने जानकारी पनि गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।