किन हुन्छ झापामा सधै कृष्ण सिटौला र विश्वप्रकाश किचलो

स्थानीय तहको निर्वाचन सकिएको दुई महिना नाघिसक्यो । यद्यपि नेपाली कांग्रेसका नेता कार्यकर्ताबीच आन्तरिक घात, अन्तर्घात, रिस–राग, द्वेष अझै सकिएको छैन । लोकतान्त्रिक मान्यता र चरित्रअनुसार निर्वाचनका समयमा पोखिएका र देखिएका असन्तुष्टि तथा गुनासो परिणाम सार्वजनिक भएसँगै सकिनु पर्ने हो । झापामा कांग्रेस नेता–कार्यकर्ताबीच स्थानीय तह निर्वाचनमा झाँगिएको असन्तुष्टि साँघुरिएको छैन । त्यसकै पक्ष वा विपक्षमा नेता कार्यकर्ताबीच ध्रुवीकरण हुने क्रम निरन्तर छ ।

पार्टीभित्र यस्ता तुष तथा असन्तुष्टि व्यवस्थापनका संयन्त्र नहुँदा बाहिर ‘जय–नेपाल’को हार्दिक अभिवादन गरिए पनि भित्रभित्रै प्रतिशोध र प्रतिरोधको ज्वालामुखी दन्किरहेको प्रतीत हुन्छ । यो साउने झरीमै ज्वालामुखीलाई निभाउन सकिएन भने आउँदो हिउँद याम लागेसँगै हुन गइरहेको संघीय–प्रदेश चुनाव सुखद नहुन पनि सक्छ ।

 

प्रसंग झापा क्षेत्र–१ को हो । जहाँ कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मामाथि मेचीनगर नगरपालिकाका मेयर पद उम्मेदवारको टिकट खोसिएको भन्ने आरोप छ । बाहिरबाट सरसर्ती हेर्दा त्यस्तै देखिन्छ पनि । तर तथ्य के हो भने पार्टी प्रदेश समितिले जिल्ला उपसभापति केशवराज पाण्डेलाई मेचीनगर नगरपालिकाको मेयरका लागि टिकट दियो । टिकट पाएपछि पाण्डे उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पनि पुगे, तर त्यही बखत केन्द्रबाट मेयरमा उम्मेद्वारीको चिठी लिएर क्षेत्रीय सभापति इन्द्र बुढाथोकी पनि त्यहाँ पुगे ।

त्यतिबेलासम्म न पाण्डे दोषी छन् न त बुढाथोकी । दुवैजना फरक फरक ठाउँबाट टिकट पाएपछि उम्मेद्वार बनेका थिए । केन्द्रले बुढाथोकीलाई टिकट दिइसकेपछि पाण्डे पछि हटे, उम्मेद्वारी दिएनन् । उनले त्यो बेला अत्यन्तै बुद्धिमत्तापूर्ण निर्णय लिए । यद्यपि त्यसपछिको निर्वाचन अभियानमा भने उनी खासै सक्रिय भएनन् । महामन्त्री शर्माकै कारण टिकट खोसिएको भन्दै स्थानीय तहको निर्वाचनमा निस्क्रिय बसे । पार्टीका उम्मेद्वार बुढाथोकीलाई जिताउन खुलेर प्रचार–प्रसारमा लागेनन् ।

यहाँ प्रश्न पाण्डे या बुढाथोकीमा जोडिएर गर्र्नेे गरिन्छ । तर प्रश्न न्यायसँग जोडिएर गरेको देखिँदैन । पार्टीमा अवसरलाई न्यायोचित वितरण गर्न खोज्दा महामन्त्री शर्माको कदमप्रति झापा क्षेत्र नम्बर एकका कांग्रेसजनको बुझाइमा केही समस्या आएको देखिन्छ । अघिल्लो पटक प्रदेश सांसदको उम्मेदवारी, त्यसपछि कांग्रेसको जिल्ला उपसभापति लगत्तै मेयरमा सिफारिस । पाण्डेको राजनीतिक जीवनमा एकपछि अर्को गर्दै अवसर आइरहँदा धुलाबारीमा एउटा सानो टिनको टहरामा जीवन बिताइरहेका, पार्टीमा पाण्डेभन्दा सिनियर, खानेपानी उपभोक्ता समितिमा बसेर राम्रो काम गरेका  र नगर सभापति भइसकेका पुराना, पाका र त्यागी बुढाथोकीलाई टिकट दिँदा विश्वप्रकाशले अवसर वितरणमा न्याय गरेको देखिन्छ ।

व्यवसाय गरेर मनग्गे पैसा कमाएका र पटक–पटक अवसर पाएका पाण्डेभन्दा समाज सेवामार्फत स्थानीय तहमा कांग्रेसलाई स्थापित गर्न संघर्ष गरेका र भुइँमान्छेको पगरी लागेका बुढाथोकी कुनै पनि दृष्टिकोणबाट गलत उमेद्वार थिएनन् । उनलाई अवसर दिनु उचित थियो । राजनीति गर्दा पैसा सबैथोक हो भन्ने मान्यतालाई चिर्नु पनि पार्टी महामन्त्रीको दायित्व थियो, शर्माले त्यही गरेका हुन् । यद्यपि उक्त घटनालाई समय छँदै व्यवस्थापन नगरेको अपजस भने महामन्त्री शर्माको भागमा पनि पर्छ ।

बाहुनडाँगीलाई पनि मेचीनगरको हिस्सा रहेको अनुभूति हुने गरी नगर सभापतिको निर्वाचनमा बाहुनडाँगीका नवीन बराललाई अगाडि बढाउँदा विश्वप्रकाशले त्यो समयमा पनि साथ पाएका थिएनन् । नवीनले जित्न सकेनन् । भोटको आधारमा धुलावारी या काकरभिट्टाका उम्मेदवार प्रभावशाली हुन्छन् भन्ने महामन्त्री शर्मालाई बिल्कुलै थाह नभएको होइन । तर भूगोल र क्षेत्रलाई पनि ध्यान दिए मात्रै मेचीनगरबासीको भावना एक हुन्छ भन्ने शर्माको अडान त्यो बेला कार्यकर्ताबाट अनुमोदित भएन । तर, शर्माको त्यो निर्णय पनि खोटपूर्ण थिएन ।

नेपाली कांग्रेसले न्याय गर्न नसक्दा आफ्नो जीवननै पार्टीमा लगानी गरेर पनि अवसर पाउन नसक्नु भएका धेरै काँग्रेसजन मेचीनगरमै हुनुहुन्छ । जो जिन्दगीको उत्तरार्धमा पुगेर पनि पार्टी भनेपछि आफ्नो तन, मन र धनले योगदान गर्न तत्पर हुनुहुन्छ । बाहुनडाँगीका केदारनाथ ढकाल् हुन या प्रेमराज घिमिरे, काकरभिट्टाका तमोर राई हुन् या प्रेम राई, धुलावारीका याम भण्डारी हुन् या कर्ण दाहाल ।

झापा जिल्लामा यस्तो नामको सूची लामो नै बन्छ, जसले कांग्रेसका लागि आफ्नो जीवन नै आहुती दिएर पनि न्यायोचित अवसर प्राप्त गर्नबाट वञ्चित हुनु भएको छ । अझ बाहुनडाँगीका रत्नकुमार कार्की, दुवागढीका रत्न थापा, ईटाभट्टाका पुण्यप्रसाद पौडेलले आफ्नो सारा जीवन पार्टी निर्माणमा बिताएर र झापामा कांग्रेसको जग बसाएर कुनै अवसर र लाभ नलिई जीवन विताउनुभयो ।

अब प्रश्न उठ्छ, के झापामा नेपाली कांग्रेस विगतमा जे जसरी चलेको थियो अब पनि त्यसैगरी चलिरहनु पर्छ ? के झापाको माटो र त्यहाँका नेता कार्यकर्तालाई नजिकबाट चिनेका विश्वप्रकाश शर्मा महामन्त्री हुँदा पनि पार्टीमा न्यायोचित अवसर हुँदैन ? जरुर हुनुपर्छ । इन्द्र बुढाथोकीलाई यो पटक दिएको अवसरलाई पनि इमान्दार भएर पार्टीमा लागे अवसर मिल्छ भन्ने उदाहरणका रुपमा पार्टीका कार्यकर्ताले हेर्नुपर्छ । पार्टीमा निरन्तर र सक्रिय रुपमा योगदान गरिरह्यो भने पक्कै पनि एक दिन मूल्यांकन हुन्छ भन्ने नजिर यस घटनाले बसाउनु पर्छ ।

यसरी बिग्रेको थियो वातावरण
प्रदेश समितिमा पूर्व महामन्त्री कृष्ण सिटौलाका प्रिय पात्र उद्धव थापा सभापति छन् । उनले पार्टीका जिल्ला उपसभापति समेत रहेका सिटौलाका अर्का विश्वासपात्र पाण्डेलाई मेचीनगरको मेयरका लागि एक नम्बरमा सिफारिस गरे र टिकट दिए ।

कांग्रेसको विधानमै प्रदेश कमिटीले स्थानीय निकायमा टिकट वितरण गर्दा केन्द्रीय पदाधिकारीसँगको समन्वयमा मात्र गर्नुपर्ने व्यवस्था गरेको छ । झापाको हकमा थापाले यो व्यवस्थालाई पूर्णतः बेवास्ता गर्दै टिकट वितरण गरे । झापाका स्थानीय तहमा उम्मेदवारी फाइनल गर्ने समयमा छलफलका लागि स्वयं विश्वप्रकाशले थापासँग कुराकानी गरेका थिए । थापाले महामन्त्री शर्माको अनुरोधलाई सामान्य ठाने, कतिपय अवस्थामा बेवास्ता गर्ने प्रयत्न गरे । उनले केन्द्रीय महामन्त्री शर्मालाई आफूले जिल्ला सभापति हराउँदाको समयको विश्वप्रकाश मात्र सम्झिरहे ।

थापाले शर्मालाई बेवास्ता गरिरहेको बेला पूर्व महामन्त्री सिटौलाले शर्मासँग स्थानीय तहमा उम्मेदवारीमा सहमति गर्ने र पूर्व पश्चिम राजमार्गको झापा खण्डका पाँच ठाउँमा चुनावी आमसभा गर्ने, जहाँ आफू र शर्मा दुवैैले सम्बोधन गर्ने योजना बनाइरहेका थिए । सिटौलाले यति राम्रो योजना वनाइरहँदा शर्माले बिमति राख्नु पर्ने कारणै थिएन । शर्माले हुन्छ भनेको उनी निकटस्थहरू बताउँछन् ।

शर्मा र सिटौलाबीच सुझबुझपूर्ण छलफल हुँदै गर्दा एकाएक प्रदेश समितिले उम्मेदवार छनौट गर्‍यो । जहाँ महामन्त्री शर्मालाई पूर्णरुपमा निषेध गरियो । एकलौटी रुपमा सिटौला र थापा पक्षका कार्यकर्तालाई मात्र झापाका सबै स्थानीय तहको प्रमुख र उप–प्रमुखमा उम्मेदवार बनाइयो । एकातिर पूर्व महामन्त्री सिटौलाको सकारात्मक प्रयास, अर्कातिर प्रदेश समिति अध्यक्ष थापाको प्रतिशोधपूर्ण व्यवहार, झापा कांग्रेसले बुझ्न नसकेका केही घटनामध्ये यी प्रतिनिधी घटना हुन् ।

एकातिर उम्मेदवारी चयनमा पार्टी महामन्त्रीलाई पुरै ‘बाइपास’ गरियो भने अर्कातिर आफ्नै निर्वाचन क्षेत्रको मेची नगरपालिकाको मेयरमा एकपटक सामान्य छलफल समेत नगरिकन पाण्डेलाई टिकट दिइयो । प्रदेश समितिको यो तरिका कसैलाई पनि चित्त बुझ्दैनथ्यो, शर्मालाई पनि बुझेन ।

उनले आफ्नो आत्मसम्मानमा ठेस लागेको महसुस गरे । र, प्रदेश कमिटीको निर्णयलाई उल्टाउँदै केन्द्रमार्फत क्षेत्र नम्वर एकका क्षेत्रीय सभापति इन्द्र बुढाथोकीलाई मेयरमा टिकट दिलाए । प्रदेश समितिको कार्यशैलीबाट आक्रोशित भएका पार्टी सभापति शेरबहादुर देउवाले झापामा आफूअनुकुल उम्मेद्वार परिवर्तन गर्न शर्मालाई भने पनि उनले आफ्नो निर्वाचन क्षेत्रबाहेक कतै पनि चलाएनन् ।

उम्मेदवारी दर्ता तयारीका साथ निर्वाचन कार्यालय पुगेका पाण्डेलाई टिकट खोसिँदा चित्त दुख्नु स्वभाविकै थियो । तर निर्वाचित महामन्त्रीलाई प्रदेश सभापतिले गरेको निषेधको व्यवहार त्योभन्दा कैयौं गुणा आलोचनायोग्य विषय हो । कांग्रेस झापा क्षेत्र नम्वर एकका कार्यकर्ताले के बुझ्न जरुरी छ भने पाण्डेलाई स्वंय प्रदेश सभापति थापासहितको समूहले ‘भिक्टिम’ बनाएको हो न कि महामन्त्री शर्माले । शर्माको ठाउँमा अरु कोही हुन्थ्यो भने यो विषय अझ चर्केर जाने थियो । तर शर्माले यस घटनालाई सहज रुपमा लिएर व्यवस्थापन गरे ।

पाण्डे झापा कांग्रेसका निर्वाचित उपसभापति, सम्भावना भएका नेता र व्यवसायी हुन् । क्षेत्र नम्बर एकमा पाण्डे र शर्मालाई भिडाएर दुवैलाई कमजोर पार्ने रणनीतिमा पार्टीकै एक समूह लागेको देखिन्छ । जुन एकातर्फ झापा एकको कांग्रेसलाई असर त पार्ने नै छ पाण्डे स्वयंको राजनीतिक जीवनमा पनि यसले गम्भीर असर पार्न सक्ने देखिन्छ । त्यसैले यस किसिमका गलत कार्य परास्त गर्न पाण्डे स्वयं पनि सजग हुने पर्ने देखिन्छ ।

शर्मा र पाण्डेको अबको बाटो
कांग्रेस क्षेत्र नम्बर एकका तमाम कार्यकर्ताहरुको मत लिँदा दुवै नेता मिलेर जानुको विकल्प छैन । यसका लागि पार्टी भित्रका गलत समूहका स्वार्थी समूहको आडमा शर्मालाई घेराबन्दी गर्ने समूहबाट पाण्डेबाहिर आउँदा त्यसले झापा कांग्रेसमा नविन किरण देखा पर्नेछ ।

जिल्ला, क्षेत्र मात्र होइन देउवा क्याम्पबाटै तिरस्कार गरिँदा पनि राष्ट्रिय राजनीतिमा महामन्त्रीको रुपमा उदाएका शर्मा राष्ट्रिय नेताको रुपमा स्थापित भइसकेका छन् । अबको एक, डेढ दशक नेपालको राजनीतिको एउटा केन्द्रीय पात्रको रुपमा शर्माले आफ्नो स्थान सुरक्षित गरिसकेका छन् अनि पार्टीको ‘वेटिङ’ पार्टी सभापतिको रुपमा पनि शर्मालाई हेर्न थालिएको छ । शर्मालाई जिताउँदा झापा क्षेत्र नम्बर एकको चासो र चर्चा देशव्यापी हुने छ ।

यता, पाण्डे पनि जिल्ला सभापति हुन सक्ने युवा नेता हुन् । पाण्डेसँग जिल्लाबाट प्रदेश हुँदै केन्द्रीय राजनीतिमा पुग्ने सम्भावना छ । एक जना देश हाँक्न अघि बढिसकेका र अर्का लामो सम्भावना बोकेका नेता संवादविहीन भएर बसेको जिल्लाकै कांग्रेसजनलाई निको लागेको छैन । त्यसैले यस अवस्थाको निरन्तरता भत्किनुपर्छ । संवाद र छलफलका माध्यमबाट दुवै नेता सहमतिको एउटा विन्दुमा पुग्नु झापा कांग्रेसका लागि अत्यावश्यक छ ।

कांग्रेस कार्यकर्ताले एक अर्कामा तुष पालेर बस्ने भए अहिलेदेखि नै कम्युनिस्टलाई सो क्षेत्र सुम्पँदा हुन्छ । हैन, कांग्रेस भएर आत्मसम्मान साथ बाँच्न चाहने भए देशकै नेतृत्व गर्न एक कदम अघि बढेका महामन्त्री शर्मालाई सो क्षेत्रबाट जिताउने अभियानका सबै जुट्नु पर्छ । महामन्त्री शर्मालाई एक नम्वर क्षेत्रबाट जिताउन सकिए पाण्डे राजनीतिक कदमात्र उचो हुँदैन झापाकै राजनीतिक दायरा पनि फराकिलो हुन्छ ।

from ekagaj

Leave a Reply

Your email address will not be published.