युरोपलाई एउटा भूतले तर्साइरहेको छ। त्यो भूतको नाम हो, डोनाल्ड ट्रम्प।
२०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा आफूहरुले कुनै तयारी गर्न नसकेको थुप्रै युरोपेली निर्णयकर्ताहरु स्विकार्छन्। यसपटक भने उनीहरु त्यही गल्ती नदोहो¥याउने पक्षमा छन्।
तर, २०२४ मा ट्रम्पले राष्ट्रपतिको चुनाव जित्न सक्छन् भन्ने थाहा पाउनु र त्यसोभए के गर्ने भन्ने जान्नु अलग कुरा हुन्। त्यसमाथि दोस्रो पटक राष्ट्रपति हुने हो भने ट्रम्प अघिल्लो पालिभन्दा सम्भवतः अझ उग्र र सन्काहा हुनेछन्।
युरोपेलीहरुले सबैभन्दा बढी आशंका गरेको र त्रसित भएको विषय हो– ट्रम्पले जिते भने युक्रेनप्रतिको अमेरिकी नीतिमा अचानक परिवर्तन हुनेछ। ट्रम्पले एकै दिनमा युक्रेन युद्ध अन्त्य गरिदिन्छु भनेर गफ हाँकेका छन्। राष्ट्रपति छँदा ट्रम्पको युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीको सरकारसँग तिक्तता थियो। ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई भ्रष्टाचारमा आरोपित गर्न खोज्दा जेलेन्स्कीले उनलाई सघाएका थिएनन्।
अमेरिकी नेतृत्वमा रहेका नेटो मुलुकहरुले बारम्बार भन्दै आएका छन्, युक्रेनलाई जिताउन ‘जे जे गर्नुपर्छ, त्यो सबै गर्नेछौँ।’ तर, यदि ट्रम्पले युक्रेनलाई दिइँदै आएको सहयोग अफगानिस्तान जसरी नै कटौती गर्ने हो भने युक्रेनलाई युद्धमा टिकाइराख्न आवश्यक सैन्य सामग्री युरोपसँग हुने छैन।
पोल्यान्डको दक्षिणपन्थी पपुलिस्ट सरकारसँग चाहिँ ट्रम्पको सुखद् स्मरण छ। राष्ट्रपतिको रुपमा ट्रम्पले युरोपमै सबैभन्दा महत्वपूर्ण भाषण वार्सामा दिएका थिए। पोल्यान्डको सत्तारुढ ल एन्ड जस्टिस पार्टीले अनुदार राष्ट्रवाद अँगालेको छ। जुन स्टिफन मिलरजस्ता ट्रम्पका प्रमुख सल्लाहकारहरुको विचारधारासँग मेल खान्छ।
तर, ट्रम्पसँग सो पार्टीको वैचारिक निकटताले सायद उनीहरुको आँखा बन्द गरिदिएको छ। जसका कारण अमेरिकाले युक्रेनलाई दिइराखेको सहयोग अचानक बन्द गर्दा आइपर्ने खतरा उनीहरुले देखेका छैनन्। त्यसो हुँदा पोल्यान्डजस्ता रुससँग सबैभन्दा नजिक रहेका मुलुकहरु अचानक स्रोतविहीन बन्न पुग्नेछन्। त्यसमाथि उनीहरु अग्रमोर्चामा पनि परिणत हुनेछन्। युक्रेनलाई दिइँदै आएको सहयोग बन्दका गर्नुका साथै उनले नेटोप्रतिको आफ्नो सन्देहलाई अझ बलियो बनाए भने युरोपमा ठूलो सुरक्षा त्रास पैदा हुनेछ। त्यसले अहिले कमजोर बनेको रुसलाई नयाँ सहारा दिनेछ।
दीर्घकालमा राष्ट्रपतिका रुपमा ट्रम्पको दोस्रो कार्यकालले युरोपेलीहरुलाई अमेरिकाको प्रभावबाट मुक्त ‘रणनीतिक स्वायत्तता’ खोज्न बाध्य पार्नेछ। जसका लागि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले लामो समयदेखि आह्वान गर्दै आएका छन्। तर, त्यस्तो परिवर्तनका लागि समय र पैसा चाहिन्छ। युरोपलाई यी दुवैको अभाव छ।
ट्रम्प राष्ट्रपति भए युरोप सुरक्षा संकटमा फस्ने सम्भावना छ। त्यो सम्भावना अझ बढ्छ किनकि रिपब्लिकन पार्टीको एउटा हिस्साको तर्क छ– अमेरिकाले आफ्ना सारा स्रोतसाधनलाई चीनको चुनौती सामना गर्न केन्द्रित गर्नुपर्छ। र, रुसको ‘सीमित’ खतरा सामना गर्न युरोपलाई छाडिदिनिुपर्छ।
ट्रम्प र बाइडेन दुवै प्रशासनले चीनविरुद्ध आक्रामक नीति अख्तियार गरेका छन्। उनीहरुले चीनसँगको व्यापारमा प्रतिबन्धहरु थपे भने एसियामा अमेरिकाका सहयोगीहरुको सञ्जाल बलियो बनाए। यही प्रवृत्तिलाई हेरेर होला, हालै एक चिनियाँ नीति निर्माताले मसँग भने– अमेरिकाको आउँदो राष्ट्रपतीय चुनावको नतिजालाई बेइजिङले पूर्ण रुपमा बेवास्ता गर्न सक्छ। जसले जिते पनि चीनका लागि नतिजा उही हुने उनको भनाइ थियो।
तर, ट्रम्प अति नै अभरा छन्। बेइजिङका कतिपय अधिकारीहरु ट्रम्पले वासिङ्टनका उग्र चीनविरोधी मानिने पूर्वविदेशमन्त्री माइक पोम्पिओजस्तालाई अझ शक्तिशाली बनाइदिने चिन्ता व्यक्त गर्छन्। जसले ताइवानलाई स्वतन्त्र राज्यको मान्यता दिनुपर्ने बताएका थिए। ताइवानको स्वतन्त्रताको अर्थ युद्ध हो भनेर चीनले जहिल्यै जोड दिँदै आएको छ।
ट्रम्पको आफ्नै प्रवृत्ति भने अलगाववादी छ। चीनप्रति उनको पहिलो कार्यकालको नीतिसम्बन्धी पुस्तक केअस अन्डर हेभनको दाबी छ– ट्रम्पले निजी छलफलहरुमा ताइवानलाई रक्षा गर्ने आफ्नो कुनै उदेश्य नभएको स्पष्ट पारेका थिए। ताइवानको भविष्यप्रति त्यो बेवास्ता अझ चर्कोगरी व्यक्त भए ट्रम्पको दोस्रो कार्यकालमा बेइजिङ थप बलियो हुनेछ र सो क्षेत्रका अमेरिकाका सहयोगीहरु झन् तर्सिनेछन्।
ट्रम्पले साँच्चै नै एसियामा अमेरिकी उपस्थितिलाई निकै कमजोर बनाए भने जापान, दक्षिण कोरिया र अस्ट्रेलियाले गम्भीर सुरक्षा द्विविधा सामना गर्नेछन्। त्यसको एउटा सम्भावित समाधान भनेको उनीहरुले आणविक हतियार विकास गर्न थाल्नेछन्। अर्को चाहिँ विपरीत दिशामा जाने र चीनलाई तुष्ट तुल्याउतर्फ लाग्नेछन्।
पक्कै पनि केही मुलुक र नेताहरु छन्, जसले बिनाकुनै दोधार ह्वाइट हाउसमा ट्रम्पको फिर्तीलाई स्वागत गर्नेछन्। जसमा इजरायलका बेन्यामिन नेतन्याहु, हंगेरीका भिक्टर अर्बान र साउदी अरबका मोहम्मद बिन सलमान पर्छन्। डेमोक्र्याटिक पार्टीका नेताहरुले यी सबै मुलुकका सरकारहरुको मानवअधिकार उल्लंघन वा लोकतन्त्रलाई कमजोर पारेको भन्दै अलिअलि भए पनि आलोचना गरेका छन्। तर, त्यस्ता चासोहरुलाई ट्रम्पले पूर्ण बेवास्ता गर्दै आएका छन्। अझ बाहुबली नेताहरुप्रति उनको आकर्षण नै छ। त्यसैले रियाद, जेरुसलेम र बुडापेस्टमा ट्रम्प लोकप्रिय रोजाइ बन्नेछन्।
ट्रम्पको आफ्नै अभिव्यक्ति सुन्दा चाहिँ उनी विदेशीभन्दा घरेलु राजनीतिका दुश्मनहरुसँग बदला लिने योजनामा केन्द्रित छन्जस्तो देखिन्छ। ट्रम्प फेरि राष्ट्रपति भए अमेरिकी सरकार अराजकतामा भासिने खतरा छ। किनभने ह्वाइट हाउसले ‘डिप स्टेट’ समाप्त पार्न खोज्नेछ। एफबीआई, न्याय विभागजस्ता प्रमुख संस्थाहरुमा ट्रम्पका वफादारहरुलाई नियुक्त गरिनेछ।
अमेरिकाका सहयोगी मुलुकहरु वासिङ्टनमा जे भयो, त्यो त्यहीँ रहन्छ भनेर आश्वस्त हुन सक्दैनन्। हंगेरी, पोल्यान्ड र टर्कीमा बढ्दो निरंकुशता र घट्दो न्यापालिकाको स्वतन्त्रता तिनका नेटो मित्र तथा ईयू साझेदारहरुको चिन्ताको विषय हो। तर, एक अमेरिकी राष्ट्रपतिले भिक्टर अर्बान शैलीको नीति अख्तियार गर्न थाले त्यो निकै ठूलो मुद्दा हुनेछ। अमेरिका पश्चिमा गठबन्धनको जगको ढुंगा हो। त्यो ढुंगा धुलोपिठो हुन थाले अमेरिकाका सहयोगीहरु ठूलो संकटमा पर्नेछन्।
(फाइनान्सियल टाइम्सबाट)