टोपलाल अर्यालगुल्मी
प्रत्येक नागरिक आधारभूत सेवाहरूबाट वञ्चित हुनेछैनन् भन्ने संवैधानिक व्यवस्था छ । स्वास्थ्य, शिक्षा र रोजगारसम्मलाई संविधानमा मौलिक अधिकारका रूपमा व्याख्या गरिएको छ । तर, व्यवहारतः नागरिकले मृत्युपछि ओढाइने कात्रोसमेत नपाउने अवस्था भोगिरहेका छन् ।
गुल्मीको इस्मा गाउँपालिका– ५ का ५१ वर्षीय धनबहादुर कुमालको जीवन यस्तै भोगाइसहित टुंगियो । चरम गरिबी भोगेका कुमालले २४ माघमा वीर अस्पतालमा अन्तिम सास लिए । तर, छेउमा आफन्त थिएनन् । करिब दुई वर्षअघि बेपत्ता भएका छोराको अझै पत्तो छैन । विवाह गरेर गएकी छोरीले वास्ता नगरेको धेरै भएको थियो । अपांगता भएकी पत्नीलाई पतिको निधन भएको खबर सुनाउनेसम्म कोही भएनन् । बेवारिसे भन्दै कारागार व्यवस्थापनले सोधखोज गरेपछि इस्माली समाज काठमाडौंका प्रतिनिधिले चन्दा उठाएर पशुपति आर्यघाटमा दाहसंस्कार गरे ।
कुमाल नकबजनी चोरी (घरको भित्तो फोरेर चोर्ने काम) मुद्दामा गुल्मी कारागारमा तीन वर्षको सजाय काटिरहेका थिए । पटकपटक बिरामी परेपछि १ असोज ०७७ मा उनलाई केन्द्रीय कारागार सरुवा गरिएको थियो । गत २१ माघमा बिरामीले च्यापेपछि कारागार प्रशासनले वीर अस्पताल पुर्यायो । उपचारको क्रममा २४ माघमा मृत्यु भयो । कारागार व्यवस्थापन विभाग काठमाडौंको निर्देशनमा प्रहरीले आफन्तको खोजी गरे । तर, कोही फेला परेनन् । सद्गद्मा अप्ठ्यारो परेपछि गुल्मी घर भएका कारागारका एक कर्मचारीले इस्माका मेडिकल व्यवसायी खिमराज अधिकारीसँग सम्पर्क गरे । उनीमार्फत इस्माली समाज काठमाडौंसम्म खबर पुग्यो । कानुनी प्रक्रिया पूरा गरेर समाजले कुमालको शवको जिम्मा त लियो, तर, दाहसंस्कार गर्ने खर्च उपलब्ध भएन ।
‘कसैको कोही नभए राज्य हुन्छ भन्थे । कुरा मात्र रहेछ । गरिबको मरणमा कात्रो किन्न पनि चन्दा उठाउनुपर्ने अवस्था आएको देखियो, भोगियो,’ समाजका सदस्य खिमराज अधिकारीले भने, ‘राज्यले शव मात्र जिम्मा लगाएपछि वादविवाद नै गर्नुपर्यो । बल्लतल्ल पाँच हजार रुपैयाँ दिए । बाँकी चन्दा उठाएर पशुपति आर्यघाटमा अन्त्येष्टि गर्यौँ।’
सहयोग गर्न कानुन बाधक
जुनसुकै कारागारमा कैद भुक्तान गरिरहेका कैदी गम्भीर बिरामी परे केन्द्रीय कारागार पुर्याइन्छ । कारागारमा सयौँ बिरामी छन् । कारागार व्यवस्थापन विभाग कारागार कार्यालय काठमाडौंकी स्वास्थ्य शाखा अधिकृत कल्पना ज्ञवालीले दैनिकजसो कैदीको ज्यान जाने गरेको बताइन् । ‘कारागारमा सयौँ बिरामी छन् । दैनिकजसो कुनै न कुनै कैदीको मृत्यु भइरहेको हुन्छ । तर, विद्यमान ऐनले आर्थिक सहायता गर्न रोकेको छ,’ उनले भनिन्, ‘धनबहादुर कुमाललाई पनि त्यही कारण सहायता गर्न नसकिएको हो ।’ उनका अनुसार कुमालको कम्मर तलको भाग नचल्ने अवस्था थियो । १ असोज ०७७ मा यहाँ ल्याउनुअघि उनी गुल्मी कारागारमा थिए । लामो समयसम्म त्यहाँ बिरामी परेपछि उनलाई काठमाडौं ल्याइएको थियो । ‘यहाँ ल्याएर लामो समयसम्म उपचार गर्दा पनि उहाँ निको हुन सक्नुभएन,’ ज्ञवालीले भनिन् ।
पैसा नहुँदा थप कैद भुक्तान गर्दै थिए कुमाल
इस्मा गाउँपालिका– ५ का मित्रलाल भण्डारीको जाहेरीको आधारमा ३ माघ ०७६ मा नकबजनी चोरी अभियोगमा प्रहरीले कुमाललाई पक्राउ गरेको थियो । तत्कालीन जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीले पचार हजार दुई सय ५० रुपैयाँबराबरको नगद धनमाल चोरी गरेको ठहर गर्दै २२ असार ०७७ कुमाललाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको फैसला सुनाए । त्यसपछि उनलाई जिल्ला कारागार लगियो । कारागार कार्यालय गुल्मीका निमित्त जेलर रेश्मीराज पन्थीका अनुसार कुमाललाई मुटुको समस्या थियो । जसका कारण दिनमा तीनपटकसम्म अस्पताल लैजानुपर्ने अवस्था आयो । तर, उनलाई परिवारका कुनै सदस्य भेट्न आउँदैनथे । ‘यहाँ स्वास्थ्यकर्मी छैनन् । दैनिक गुल्मी अस्पताल ल्याउने–लैजाने जनशक्ति पनि कारागारमा पर्याप्त छैन । त्यसैले कारागार र स्वास्थ्य अवस्थाको कारण १ असोज ०७७ मा कुमाललाई केन्द्रीय कारागार पठायौँ,’ निमित्त जेलर पन्थीले भने ।
धनबहादुरका छिमेकी बोमबहादुर कुमालका अनुसार उनका एकजना छोरा बेपत्ता छन् । श्रीमती भए पनि अपांगता भएकाले सहज अवस्थामा छैनन् । विवाह गरेर गइसकेकी छोरीले पनि सोधखोज गर्ने गरेकी छैनन् । तर, उनका अन्य दाजुभाइ भने सोही गाउँमा छन् । जिल्ला अदालत गुल्मीका तहसिलदार रामबहादुर कुँवरका अनुसार जिल्ला अदालतको फैसलाको आधारमा ६ माघ ०८९ मा उनी छुट्नुपर्ने थियो । तर, तोकिएको ३० हजार रुपैयाँ उनले बुझाउन सकेका थिएनन् । जसका कारण उनले थप तीन महिना दश दिन कैद भुक्तान गर्नुपर्ने भयो । जसका कारण उनी छुट्न सकेका थिएनन् ।
from Naya patrika